'सुबिसु कन्क्लेभ २०१९'मा प्रविधिबारे बहस र छलफल

‘ह्याकरको निशानामा नेपाल, डिजिटल/स्मार्ट हुने आधार तयार छैन’

काठमाडौं- सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल)को अवधारणा बाहिर ल्‍याइरहँदा सूचना प्रविधिका विज्ञहरुले नेपाल अहिले स्मार्ट हुनको लागि तयार नभएको दाबी गरेका छन्।

बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’मा बोल्‍दै सरोकारवाला विज्ञहरुले नेपाललाई अझै स्मार्ट बनाउन अझै केही समय लाग्‍ने दाबी गरेका हुन।

कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले भने, ‘हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित छैनन्। करीब २ सय बढी सरकारी निकायका साइटहरु ह्‍याक (डिफेसेज) भइसकेका छन्। ३८ वटा वेब साइटहरुको सर्भर ह्‍याक गरिएको छ। अनि केहीमा त बट, मालवेयर, र्‍यानसमवेयर, स्पाइ वेयर लगायतका भाइरसहरु हालेर डाटा चोरिएको छ।’

उनका अनुसार प्राय सरकारी वेबसाइट लगायतमा क्रिप्टोकरेन्सीका फाइलहरु राखिएको र बिटक्वाइनको लागि माइनिङ भइरहेको छ। साथै वेब साइटहरुलाई रिडारेक्टिङ गरेर पोर्न साइटहरु राखिदिने, पैसाको लागि सूचना छोड्‍ने र विभत्स तस्बिरहरु राखेर कम्पनी/संस्थाको प्रतिष्ठा नै गुम्‍ने खतरामा रहेको उनको भनाई छ। उनले यसको लागि पिपुल, प्रोसेस र टेक्नोलोजीलाई नजिकबाट बुझाउनु पर्ने जरुरी रहेको बताए।

यस्तै राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले सरकार प्रविधिको विकासमा बजेट, जनशक्ति र सीपलाई बेवास्ता गरेकाले आफै यो क्षेत्रलाई समेट्न लागि परेको बताए। उनले भने, ‘मैले सरकारलाई पटक पटक गुहार्दा पनि वास्ता नगरेपछि मैले आफै पैसा उठाएर युवा आविष्कारहरुलाई प्रोत्साहन दिइरहेको छु। तपाइसँग आइडिया, सीप छ भने हामीसँग जोडिन सक्नुहुन्छ।’  प्रविधिलाई समुदायको लागि प्रभावकारी कसरी बनाउने भनेर ‘कम्युनिटी ड्रिभन डेभेलपमेन्ट इन माउन्टेन्स अफ नेपाल’ प्रोजेक्टमा काम गरिरहेको उनको भनाई थियो।

यस्तै सिलिकन हायर प्रालिका सिइओ आलोक सुवेदीले नेपाललाई स्मार्ट बनाउन प्रविधिमा आधारित जग तयार पार्नु पर्ने बताए।उनले भने,’ यहाँ धेरै कुराहरु स्मार्ट छैनन्, जस्तै ट्राफिक लाइट पुरानै शैलीको छ, खानेपानीको मोटर आफै गएर खोल्‍नु पर्ने, विजुलीबत्तीको बिल लाइन लागेर तिर्नु पर्ने, सार्वजनिक यातायातमा चढ्न कुर्नु पर्ने, पढाइ उही पुरानै शैली र स्वास्थ्य त दुर्लभ गाउँमा झनै बेहाल छ। यी क्षेत्र स्मार्ट प्रविधिका कुनै पनि काम भएका छैनन्।’

यस्तै नोकियाका टेक्नोलोजी कन्सल्ट्यान्ट हर्दिप सिंहले स्मार्ट सिटी बनाउनको लागि वातावरण प्रभदूषण नहुने गरी स्मार्ट, एप्लिकेशन, सिटी प्ल्याटफर्म सर्भिसेस, सिटी क्लाउड, सिटी सेयर्ड नेटकर्व रर सिटी वाइड एक्सेसको सुविधा पर्याप्त हुनु पर्नेमा जोड दिए। उनले भने, ‘ तर यी सब नेपालमा कति छ त्‍यो कुरा यहाँहरुलाई थाहा होला। भारतका कतिपय शहरहरुमा यी संरचनाहरु छन्। भने कही हुनै बाँकी छ।’

साथै उनले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले अब आउने दिनमा स्मार्ट पार्किङ, स्मार्ट लाइटिङ, एसेट ट्र्याकर, बाढीको सूचना, फोहोर व्‍यवस्थापन, वातावरणको अवलोकन र निरीक्षणका साथै सार्वजनिक संस्थानमा काम गर्नेहरुको निगरानी अनि ट्राफिक लाइटको सूचना दिन सक्‍ने बताए। यस्तै विद्युतीय कारोबारको लागि पनि आर्टिफिसियल इन्टेलिजेन्स् अति नै महत्वपूर्ण हुने उनको भनाई छ।

यता, पाइला टेक्नोलोजीका प्रडक्ट हेड अफ डिपार्टमेन्ट प्रमुख सागर श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्सको भविष्‍य आगामी पाँच वर्षमा उज्वल हुने दाबी गरे। उनले भने, ‘ हामीले बनाएको १० वटा रोबोटले वेटरको काम गरिरहेको छ जसको नाम जिन्जर हो।उसले अर्डर दिने बित्तिकै ग्राहकको अर्डर अनुसारको खाना उपलब्ध गराउँछ।’

उनका अनुसार आगामी पाँच वर्षमा ड्राइभर, कुकिङ र सेक्यूरिटीजमा रोबोर्टको प्रयोग गर्ने योजना रहेको बताए। उनले विश्वका युरोपियन देशहरुले पाइला टेक्नोलोजीसँग यस्तो रोबर्टको माग गरिरहेको समेत उनले सुनाए।

उनले भने, ‘हाल एसआइबी बैंकमा रिसेप्सनिष्टको काम गर्नका लागि र वीपी कोइराला प्रतष्ठानमा हेल्थको काम गर्नको लागि रोबर्टको परीक्षण गरिरहेका छौ। साथै युरोपियन देशहरुबाट यस्तो प्रकारको रोबोटको माग पनि आइहेको छ।आशा गरौं चाँडै सफलता पाउनेछौ।’

यस्तै विकसित नयाँ टेक्नोलोजी एआइलाई त्रिभुवन विश्‍वविद्यालयको पाठ्‍यक्रममा समेत राख्‍ने पहल भइरहेको त्रिवि इन्जिनियरिङका प्राध्यापक सुवर्ण शाक्यले बताए।उनले भने, ‘हामीले त्रिविको साइन्स डेटा नामक कोर्षमा आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)लाई राख्‍न पहल गरिरहेका छौ। चाडै यसमा विद्यार्थीहरु पढ्‍न पाउनेछन्।’

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्