पार्वतीको परिवारको गुहार

‘छोरीको जीवन बचाइदिनुस्, बिन्ती छ!’

मोरङ- दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्।

विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षिया आमा धनमायालाई दिनहुँ कान्छी छोरी पार्वतीको पिरलो पर्दै गएको छ।

विज्ञापन

आर्थिक अवस्था निकै कमजोर रहेको तामाङ परिवारमा आमा धनमायाले छोरीको जीवनरक्षाका लागि सहयोगदातालाई गुहारिरहेकी छन्। हाल कोशी अस्पतालमा उपचाररत पार्वतीको दुवै मृगौलामा डेढवर्षदेखि खराबी देखिएको थियो।

त्यसयता गत मंसिरबाट भने उनको उपचारका क्रममा डाइलाइसिस सुरु गरिएको धनमायाले गहभरी आँशु राख्दै बताइन्। सामान्य लेखपढ गरेकी छोरीको जीवनरक्षाको अपिल गर्दै पत्रकार महासंघ मोरङको भवनमा पुगेकी धनमायाले आर्थिक अवस्था कमजोर हुनुका साथै औषधीका लागि समेत धौधौ परेको गुनासो गरेकी गरिन्।

महानगरमै बसोबास गर्दै आएपनि तामाङको परिवार अरुको घरमा भाँडा माझेर दैनिकी गुजारा गर्दै आएको छ। उपचारका क्रममा हालसम्म धनमाया परिवारले १ लाख ५० हजार रुपैयाँ खर्चिसकेको धनमायाले बताइन्।

यस क्रममा विराटनगरका समाजसेवी एवं उद्योगी दिनबन्धु गोयलले पार्वतीको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका थिए। त्यसैगरि, धरान निवासी सविला राईले समेत तामाङ परिवारको अवस्थामा सहयोग पुर्‍याउन १० हजार रुपैयाँ सहयोग गरेकी थिइन्।

तामाङ परिवार बस्दै आएको भाडाको घरमा पुगेर सहयोग रकम उपलब्ध गराएकी राईले सहयोगी र मनकारी व्यक्तित्वहरुलाई पार्वतीको जीवनरक्षाका लागि सक्दो सहयोग गर्न आग्रह गरिन्।

यसैक्रममा नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेले पनि १० हजार रुपैयाँ सहयोग गरेको तामाङले बताइन्।

धनमायाले पत्रकारसामु सोही उपलब्ध ४० हजार रुपैयाँले छोरीको औषधी अहिलेसम्म धानिरहेको जानकारी दिइन्। आँखाभरि आसु बनाउदै उनले भनिन्, ‘अब रकम अभाव हुन थाल्यो। छोरीलाई समेत पीडा हँुदै गएको छ। म एक्लो वृद्ध कता जाऊ। कृपया मलाई छोरीको रक्षाका लागि सहयोग गरिदिनुस्।’

चिकिसत्सकले उपचारका क्रममा नियमित डाइलाइसिस गर्न सुझाव दिएपनि तामाङ परिवार रकम अभावकै मर्कामा रहेको छ।

धनमायाका तीन छोरी मध्ये पार्वती कान्छी हुन् भने उनको बुबाको केही वर्षअघि निधन भएको थियो।

 

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्