नजानेर गरिने गल्तीको चित्रण- ‘आँधीको मनोरम नृत्य’

कोट र प्यान्ट्समा ठाँटिएकी शिक्षिका अभिभावकको अगाडि विद्यार्थीलाई राखेर ठूलोठूलो स्वरमा चिच्याउँदै छिन्, ‘अचेल देशमा चाइल्ड म्यारिजको समस्या छ, आज साथीमात्र भन्यो, भोलि हात समायो, पर्सि डेटिङ गयो, निकोपर्सि थुतुनो जोड्यो, अनि कानेपर्सि चाहिने नचाहिने गर्‍यो। अनि प्रेग्नेन्ट।’

सँगैका सहकर्मीले थप्छन्, ‘फलानो ठाउँमा १३ वर्षकी बालिका गर्भवती भएको खबर छ।’

विज्ञापन

यति भन्दा अगाडि उभिएका विद्यार्थी अनि मेचमा बसेका अभिभावकको हंसले ठाउँ छोड्छ। अभिभावकले सँगै उभिएका सन्तानलाई रिसको झोँकले आँखा तर्छन् भने बालबालिकालाई आफूले बिना गल्ती दोषी हुनुपरेको भयले छपक्कै छोप्छ।

हिजोआजका व्यस्त जीवनमा विशेषगरी शहरी क्षेत्रका अभिभावक र उनीहरुका सन्तानको हुर्काइको कथा हो माथिको अंश। बत्तिसपुतलीको शिल्पी थिएटरमा मञ्चन भइरेको नाटक ‘आँधीको मनोरम नृत्य’ ले किशोर अवस्थामा भएका बालबालिकामा आउने परिवर्तन अनि त्यो परिवर्तनलाई गलत रुपमा बुझ्ने अभिभावकको कथा चित्रण गरेको छ। नाटककार घिमिरे युवराजले किशोरअवस्थामा आउने परिवर्तनको मनोवैज्ञानिक पक्षलाई नाटकमार्फत प्रस्तुत गरेका छन्।

राम्रो पक्ष

सञ्चार हरेक समस्याको समाधान हो, तर हिजोआज कसलाई बोल्ने फुर्सद छ र? जिम्मेवारी अनि आवश्यकताको पछाडि दौडिँदा हामी केही महत्वपूर्ण चिजहरुलाई वास्ता गरेझैँ गरी वेवास्ता गरिरहेका हुन्छौ भन्ने आशय हो नाटक- ‘आँधीको मनोरम नृत्य।’आफ्नो बालबालिकालाई स्कूलको जिम्मामा छोडिदिने अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्न सक्दैन। फेरिँदो जीवनशैली, प्रविधिको विकास र आत्मनिर्भर हुने अभिभावकहरुले बोली फुट्दै गरेका बालबालिकालाई विद्यालय पठाएको चित्र प्रस्तुत गरेर नाटकले अभिभावकको सन्तानमाथिको कर्तव्यमा प्रश्न गरेको छ।

आर्थिक रुपमा सवल अभिभावकले जति महंगो ‘फी’ तिर्न सक्यो उति बच्चा राम्रो हुन्छ भन्ने मानसिकतालाई झापड हानेको छ। बालबालिकालाई असल शिक्षा पैसाले हैन अभिभावले बिताउने गुणस्तरीय समय हो भन्नु नाटकको मुख्य आशय हो।

यो सँगै नाटकले समाजको विभिन्न पक्षलाई व्यंग्य गरेको छ,

विद्यालय पठाएपछि बालबालिकाको सम्पूर्ण जिम्मेवारी शिक्षकहरुको हुने,

बालबालिकालाई इतिहासका विभूति जस्तो हुनुपर्छ भनेर सिकाइनु, यसले पछिल्लो समय अपडेट नभएको पाठ्यक्रमलाई व्यंग्य गरेको छ। नाटकमा शिक्षकले इतिहासका महान् नारी सीतालगायतका विभूतिको उदाहरण दिँदा विद्यार्थीले अनुराधा कोइराला, सुशीला कार्कीको नाम लिएपछि शिक्षक अक्क न बक्क पर्छन्। इतिहास हाम्रा लागि महत्वपूर्ण हो तर हामी सान्दर्भिकतालाई नजरअन्दाज गरिरहेको नाटकले प्रस्ट पारेको छ र यो पछिल्लो नेपाली शिक्षाको परिस्थितिसँग मेल खाने छ।

नाटककी एक पात्र संगीता राव अरु भन्दा फरक छिन्। उनको कपाल, अनुहार र व्यवहार सबैसँग समान छैन। यही कारणले उनलाई गिज्याइन्छ। उनको आवरणले नै उनी भेदभावमा पर्छिन्, कपाल रंग इत्यादि। उनी यसबाट बाहिर निस्कने क्रममा कुलतमा फस्न पुग्छिन्। अरुसँग गरिएको तुलनाले उनी आफू केटाहरु भन्दा कमजोर नभएको देखाउनलाई चुरोट तान्छिन्।

पूर्विय सँस्कृतिमा लिंगको विषयमा संकुचित भावना राखिन्छ। हामी बालबालिकालाई लैंगिकताको बारेमा बुझाउनुको साटो ‘यस्तो कुरा गर्नु हुन्न भनेर अभोइड’ गर्छौ। ‘केटा र केटी कहिले साथी हुँदैनन्’ भन्ने मानसिकता व्याप्त छ। यही मानसिकताको पीडा नाटकमा प्रस्तुत छ, बालबालिकालाई आफ्नो अभिभावकसँग कुरा लुकाउन बाध्य बनाएको परिस्थिती सिर्जना भएको चित्रण गरिएको छ। प्रिन्सिपलको कोठामा नाटक देखाउन आउने नाटककारले खाएको गालि ‘बच्चालाई ट्रमाटिक हुने चलचित्र देखाउनु हुन्न, नैतिकता सिकाउने नाटक बनाउनुस्’ भन्ने संवादले लैंगिकताको विषयमा शिक्षकहरुको विचार धारणालाई पुष्टि गर्छ।

विपरित लिंगप्रति आकर्षण हुनु जैविक नियम हो, संसार अगाडि बढेको पनि यसै गरि हो। हरेक कामको लागि सहि समय र तरिका तोकेको समाजमा किशोर अवस्थामा आउने शारीरिक मानसिक परिवर्तनको मोड्न खोज्छ। विपरीत लिंगप्रतिको आकर्षण सानो लापरवाहिले दुर्घटनामा परिणत हुन्छ । हामी आफ्नो जिम्मेवारी बिर्सेर अरु दोष थोपर्ने बानीको अभ्यास गरिरहेका छौ। तर जब सानो दुर्घटना हुन्छ तब त्यसले ठूलो असर पु¥याउँछ ।

‘ज्ञानी बच्चालाई सबैले माया गर्छन्’ ‘मर्यादाको ख्याल गर्नुपर्छ’ जस्ता संवादले बालबालिकालाई मार्गदर्शन गर्ने भन्दा पनि आफ्नो इच्छा लाद्ने प्रवित्तिलाई चित्रण गरेका छन्। गीत गाउने, नाँच्ने कलालाई सम्मान नदिई किताबको भारी बोकाउने र रटाउने चलन पनि चित्तबुझ्दा छन्।

किशोरअवस्थामा बालबालिकामा तिब्र परिवर्तन आउँछ। शारीरिक रुपमा आएका परिवर्तन बुझ्नलाई मानसिक अवस्था परिवपक्क हुन्न, शरीरको हर्मोनको परिवर्तनले निकै चञ्चलता ल्याउछ र सम्हालिन समस्या आउँछ। ‘पोर्न भिडियो हेर्न किशोरहरु, चुरोट खाने बालकहरु’ यसका साक्षी हुन्। यही अवस्थामा अभिभावक चुक्दा बालबालिकाले अनावश्यक तनाब भोग्नुपर्छ, र उनीहरु परिवारसँग एक्लिन्छन्।

पात्र संगीताले भन्छिन्, ‘आफ्नै मन फरक लाग्ने बेला, अनायासै हल्ला गर्न मन लाग्छ। त्यसै चुपचाप बस्न मन लाग्छ। छिनमै निराश, छिनमै खुसी कहिलेकाँही आफूलाई नै अर्कै देखिन्छ।

पढ्नलाई कम्फर्ट जोन चाहिन्छ।’ यो समयमा अभिभावक भन्दा प्यारा साथि हुन्छन् र उनीहरुको लागि जे गर्न पनि तयार हुन्छन् किशोरकिशोरीहरु।

अभिभावक गलत काम गरेर भएपनि आफ्नो सन्तानको सुखद् भविष्य खोजिरहेको हुन्छ भन्ने झकेन्द्र पात्रले प्रस्तुत गरेका छन्। उनी कार्यलयका कर्मचारी रिझाउन घरमा पार्टि राख्छन्।

यस्तै नाटकमा सरकारी कार्यलय र त्यहाँ काम गर्ने कमचारीको मनोविज्ञानलाई व्यंग्य गरिएको छ। नाटकको केही अंशले हाम्रा छोरी, श्रीमतिहरु कति असुरक्षित छन् भन्ने कुरा देखाएको छ।

केही संवेदनशील विषयहरुलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। नाटकको बिचबिचमा स्मारिका फुयाल, निमन चित्रकार, सन्तोष कपाली र रविन परियारले भरेको प्रत्यक्ष संगीतले नाटकलाई सुन्दर पारेको छ। घिमिरे युवराज र अमजद प्रवेजले गरेको परिकल्पना अब्बल लाग्छ। मञ्चमा देखिने कलाकारहरुको अभिनय उत्कृष्ट छ।

दुर्बल पक्ष

१ घण्टा २० मिनेटको नाटकमा बाल्यअवस्थाका केटाकेटीदेखि किशोरावस्थाको वर्णन गरिएको छ। बिचबिचमा सरकारी कार्यलयको प्रवित्तिलाई पनि घुसाइएको छ। छोटो समयमा धेरै कथाहरु प्रस्तुत गरिएको नाटक अलि खाँदिएको जस्तो लाग्छ।

आमा पाल्नु सम्पत्तिको लागि मात्रै हो भन्ने दृश्य सहजै पाच्य हुन्न।

नाटकमा कुलतमा फसेका बालबालिकाको प्रस्तुतिमा चुरोटको प्रयोग गरिएको छ। संकेतात्मक रुपमा अरु केही प्रयोग गर्न सकिन्थ्यो।

अन्त्यमा आधुनिक बन्दै गएको समाजको समकालिन चित्रण, अगाडि बढ्ने होडमा परिवारको मनस्थिती, अभिभावक र सन्तानबिच बढ्दै गएको असमझदारी अनि त्यसको फाइदा उठाउने तत्वहरुको चित्रण भएको नाटक ‘आँधिको मनोरम नृत्य’ जेठको ६ गतेसम्म शिल्पीमा प्रर्दशन हुन्छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्