मनाङको जितविहिन यात्रा, मिनर्भाको लगातार चौथो बराबरी

काठमाडौं-एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पहिलो चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ। समूहको चौथो खेलमा बुधबार भारतीय क्लब मिनर्भासँग बराबरीमा रोकिएपछि मनाङको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको हो।

सुरुका दुई खेल हारेको मनाङले त्यसयता लगातार दोस्रो बराबरी खेलेको हो। मिनर्भाले भने लगातार चौथो खेलमा अंक बाँढेको हो। चार खेलबाट दुई अंक भएको मनाङ  समूहको चौथो तथा अन्तिम स्थानमा छ।

चार  अंक भएको मिनर्भा तेस्रोमा छ। समूहमा भारतकै चेन्नईन तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ। बंगलादेशको अबहानी लिमिटेड तीन खेलबाट चार अंक जोड्दै दोस्रोमा छ।

समूहको विजेता मात्र अगाडि बढ्ने भएकाले मनाङको सम्भावना लगभग समाप्त भएको हो। मिनर्भाको मैदानमा भएको खेलमा २-२ गोलको बराबरी खेले‍को मनाङ त्यसपछि स्वदेश फर्किएर मिनर्भासँग नै उत्रँदै अंक खोस्न सफल भएको हो।

मनाङले चेन्नइनसँग २-० र अबहानीसँग १-० गोलको हार ब्यहोरेको थियो। बुधबार मिनर्भाविरुद्ध मनाङले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो।  मिनर्भाले ३९ औँ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमै मिनर्भा १० खेलाडीमा सिमित भएपनि त्यसको फाइदा मनाङले लिन सकेन।

समूहका खेलहरु होम एन्ड अवे प्रणालीमा सन्चालन भइरहेका छन्।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्