असुरक्षित गर्भपतन गर्दा १३ वर्षीया बालिकाको ज्यान जोखिममा

नेपालगञ्‍ज-यौन शोषणमा परेर गर्भ बोकेकी १३ वर्षीया बालिकाको गर्भपतन गराउन खोज्दा ज्यान नै खतरामा परेको छ।

असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिएपछि उनको अवस्था चिन्ताजनक भएको हो। गम्भीर अवस्थामा रहेकी बालिकाको अहिले कोहलपुर मेडिकल कलेजमा आइसीयूमा राखेर उपचार भइरहेको छ।

गस्तीमा गएको प्रहरी टोलीले बालिका चिच्चाइरहेको थाहा पाएपछि घरमा गएर बुझ्दा घटना बाहिर आएको हो। बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार, गस्तीमा रहेको प्रहरीले बालिका चिच्चाएको थाहा पाएपछि गएर बुझ्दा रगत बगिरहेको थियो।

त्यसपछि उसलाई भेरी अस्पताल, नेपालगञ्जमा पुर्‍याइयो।त्यहाँ उपचार हुन सम्भव छैन भनेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। एसपी पौडेल आफै राती कोहलपुर मेडिकल कलेज पुगेर ‘आर्थिक कुरा पछि गरौंला, अहिले उपचार गरिदिऊ’ भन्ने सल्लाह गरेर फर्किएका थिए।

सुर्खेत घर भएकी बालिकाका परिवार नेपालगञ्ज–१०, गोसाईगाउँमा बस्छन्। बालिकालाई कसले यौन शोषण गर्थे भन्ने कुरा खुलिसकेको छैन। एसपी पौडेलले घरपरिवारबाट कुनै उजुरी नआए पनि बालिकालाई कसले यौन शोषण गर्थ्‍यो भन्ने कुरा अनुसन्धान थालेको बताए। ‘बालिकालाई त्यस्तो अवस्थामा कसले पुर्‍यायो, त्यो हामीले अनुसन्धान थालेका छौं, एसपी पौडलले भने।

बालिकालाई सीमावर्ती भारतीय बजारमा लगेर गर्भपतन गर्ने प्रयास भएको थियो। बालिकालाई गर्भपतन गराउने औषधी खुवाएको बुझिएको छ।
बालिकाको एबी नेगेटिभ रगत समूह हो।

शरीरमा रगत अति नै कम भइसकेकाले बालिकाको अवस्था गम्भीर रहेको छ। दुई जना प्रहरीसहित चार पिन्ट रगत जम्मा पारिएको छ। त्यो भन्दा दुई पिन्ट चढाइसकिएको छ। बालिकालाई अझै ५ पिन्ट रगत आवश्यक रहेको छ। एसपी पौडेलले एबी नेगेटिभ भएका व्यक्तिलाई सहयोग गरिदिन अपिल गरेका छन्।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्