अख्तियारका पूर्व आयुक्त पाठक ७८ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन विशेष अदालतले बुधबार आदेश दिएको छ।

विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाए पाठक बुधबार नै रिहा हुनेछन्। उनले त्यसका लागि साँझ साढे सातसम्मको समय पाएका छन्। उनी धरौटीबापत नेपाल बंगलादेश बैंकको ग्यारेन्टीमा छुट्ने तयारी गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेपछि आयोगले पाठकमाथि छानबिन गरेको थियो ।

पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिने वित्तिकै आयोगले पाठकमाथि अनुसन्धान थालेको थियो ।

अख्तियारमा बयान दिँदै पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्