अदालतद्वारा डिल्लीबजार मालपोतका प्रमुखलाई पाँच हजार जरिवाना

काठमाडौँ – आदेश पटक पटक उल्लंघन गरेको भन्दै उच्च अदालत पाटनले डिल्ली बजार मालपोत प्रमुख प्रभुनाथ राईलाई पाँच हजार जरिवाना गरेको छ।

पाटन उच्च अदालतले २०७५ साल जेठ ३० गते डिल्ली बजार मालपोत प्रमुखलाई जवाफ र निर्णयसहितको फाइल उपलब्ध गराउन ६ पटक ताकेता गरे पनि अवज्ञा गरेको भन्दै पाँच हजार जरिवाना गरेको हो ।

बुधबार अदालतको आदेशलाई अवज्ञा गरेको ठहर गर्दै न्यायाधिशद्धय मुहम्मद साविर हुसेन र टेकनारायण कुँवरको संयुक्त इजलासले सात दिनभित्र जरिवाना बुझाउन र अदालतले मागरेको विवरण आफैं उपस्थित भएर बुझाउन आदेश दिएको छ ।

ओमी अमात्यसमेतले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण परामदेशमा डिल्ली बजार मालपोतलाई पनि विपक्षी बनाईएको थियो।

डिल्ली बजार मालपोत प्रमुखले २०७३ साल चैत १४ गते म्याद तामेली बुझेको तर पछि जवाफ र निर्णयसहितको फाइल झिकाउन आदेश दिँदा पटकपटक अटेर गरेको आदेशमा उल्लेख छ ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्