प्रदेश ५ र चीनको कान्सु प्रदेशबीच सहयोग र साझेदारीका लागि समझदारी

बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानबीच भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनावद्ध विकासको बाटो तय गरेको बताए।

प्रदेश ५ मा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदा स्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्रीले जानकारी गराएका थिए।

गर्भनर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताए। उनले नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताए।

द्विपक्षीय सहकार्य मार्फत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा धेरै काम गर्न सकिने उनको भनाई थियो। उनले प्रदेश ५ को अवस्थाबारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्सु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताएका थिए।

उनले कान्सु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरेर राम्रो लाभ लिएको जानकारी दिदै नेपाल आउने स्याउमध्ये आधाभन्दा धेरै कान्सुबाट आउने बताए। भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए।

स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्सुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले नेपालको हिमाली क्षेत्रमा पनि स्याउको संभावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा व्यक्त गरे।

त्यसैगरी उनले पर्यटन प्रवद्र्धनमा कान्सुको अनुभव यहाँ काम लाग्ने भएकाले द्विपक्षीय अनुभव आदानप्रदानलाई बढाउँदै लैजानुपर्ने बताए।

द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारी


भेटका क्रममा प्रदेश ५ र कान्सु प्रदेशबीच द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरे।

सांस्कृतिक आदान प्रदान र पर्यटन पवर्द्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने विषय समझदारीपत्रमा उल्लेख रहेको प्रदेश ५ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ।

सहमतिपत्रमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका थिए।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्