तीन विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेका तीनवटा विधेयक संविधानको भावना विपरीत भएकाले फिर्ता लिन माग गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले मिडिया काउन्सिल, मानव अधिकार आयोग र राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेको हो। कांग्रेसले तीनवटै विधेयक संविधानको मर्म र भावना विपरीत सरकारले अघि बढाएको ठहरसमेत गरेको छ।

नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको प्रस्तावना, धारा (१७) को स्वतन्त्रताको हक, उपधारा २ (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता, एवं धारा १९ मा सञ्चारको हकविरुद्ध भएको कांग्रेसको दाबी छ ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकले आयोगलाई महान्याधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको आरोप लगाएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ धारा २६७ को उपधारा (६) विपरीत रहेको कांग्रेसको निष्कर्ष छ । बैठकले यी विधेयकका विरुद्ध संसदमा सशक्त ढंगले प्रतिरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्