अमेठीमा कसले जित्छ? राहुल गान्धी कि स्मृति इरानी?

एजेन्सी– भारतमा गत महिना अप्रिल ११ बाट सुरु लोकसभा निर्वाचन जारी छ। सातौँ चरणमा सम्पन्न हुने निर्वाचनको छैठौँ चरणको चुनाव सकिइसकेको छ भने सातौँ तथा अन्तिम चरणको निर्वाचन आगामी मे १९ मा हुनेछ।

चुनावको मतपरिणाम आगामी मे २३ मा सार्वजनिक हुने भारतीय निर्वाचन आयोगको तालिका छ।

विज्ञापन

लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने दिन नजिकिँदै गर्दासमेत हेभिवेट उम्मेदवार रहेका निर्वाचन क्षेत्रको विषयमा भइरहेका चुनावी बहस अझै सेलाएको छैन।

यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उम्मेदवार रहेको निर्वाचन क्षेत्र अमेठीलाई पनि चासोका साथ हेरिएको छ।

उत्तर प्रदेश राज्यको अमेठी गान्धी परिवारको विरासत बोकेको, राजनीतिक रुपले महत्वपूर्ण निर्वाचन क्षेत्र हो। गान्धी परिवार यसलाई आफ्नो कर्मभूमिका रुपमा लिन्छन्। यस क्षेत्रबाट गान्धी परिवारका संजय गान्धी, राजिव गान्धी, सोनिया गान्धी लगायतका नेताहरुले चुनाव लडिसकेका छन्।

अमेठी कांग्रेसको गढको रुपमा चिनिन्छ। उक्त क्षेत्रमा हालसम्म १५ लोकसभा चुनाव भएका छन् जसमा कांग्रेस १३ पटक विजयी भएको छ। १९७७ र १९९८ मा गरी दुई पटक भने भाजपाले कांग्रेसलाई पराजित गरेको थियो।

औपचारिक रुपमा सन् २००४ मा राजनीतिमा होमिएका राहुल गान्धीले अमेठीलाई आफ्नो राजनीतिक कर्मथलो बनाउँदै आएका छन्। उनले २००४, २००९ र २०१४ को लोकसभा निर्वाचनमा अमेठीबाट चुनाव जितेर लोकसभामा प्रतिनिधित्व गर्दै आएका छन्।

२०१४ को लोकसभा निर्वाचनमा राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार स्मृति इरानीलाई एक लाख भन्दा बढी मतले पराजित गरेका थिए। कुल १६ लाख ६९ हजार ८ सय ४३ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा राहुलले ४ लाख ०८ हजार ६ सय ५१ मत पाएका थिए भने इरानीले ३ लाख ७ सय ४८ मत पाएकी थिइन्।

तर यस पटकको लोकसभा चुनावमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई केन्द्रीय मन्त्री तथा भाजपाका तर्फबाट अमेठी निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकी स्मृती इरानीले कडा टक्कर दिने अनुमान गरिएको छ।

अमेठीमा यही मे ६ तारिखमा सम्पन्न लोकसभा निर्वाचनमा अमेठीमा ५३.४८ प्रतिशत मत खसेकाे  बताइएकाे  छ। उक्त निर्वाचनमा इरानीले राहुल गान्धीमाथि बुथ कब्जा गरेको आराेप लगाउँदै कारबाहीको माग समेत गरेकी थिइन्।

यस पटकको निर्वाचनमा कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठी र केरलको वायनाड गरी दुई ठाउँबाट चुनाव लडिरहेका छन्। यसलाई कतिपयले राहुल अमेठीमा चुनाव जित्नेमा विश्वस्त नभएका कारण दुई ठाउँबाट उम्मेदवार बनेको विश्लेषण गरेका छन्।

मन्त्री इरानीले लोकसभा चुनावलाई लक्षित गरी अमेठीका लागि कैयौँ सरकारी योजनाहरु स्वीकृत गराएको बताइएको छ। यद्यपी कांग्रेस कार्यकर्ताले इरानीले कांग्रेस नेतृत्वको सरकारले ल्याएका परियोजनालाई समेत हटाएको आरोप लागाउँदै आएका छन्। विकासको नाममा इरानीले केही नगरेको उनीहरुको आरोप छ।

स्थानीय कांग्रेस नेताहरु राहुल गान्धीलाई अमेठीमा कसैले पनि चुनौती दिन नसक्ने बताउँछन्। यसपटक इरानी झन् ठूलो मतान्तरमा पराजित हुने उनीहरुको दावी छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्