नेपाल एयरलाइन्समा भारतीय पाइलट निलम्बित, पाकिस्तानी पाइलट भारत उड्दैनन्

काठमाडौँ- केही साताअघि उडानमै ‘आरामदायी कलर’सहित  सुतेको समाचार फोटोसहित सार्वजनिक भएपछि नेपाल एयरलाइन्सका इन्स्ट्रक्टर पाइलट नागराज शंकरमूर्तिलाई निलम्बन गरिएको छ भने अर्का पाकिस्तानी पाइलटले भारतको कुनै पनि गन्तव्यमा जान अस्वीकार गरेका छन्।

दक्ष पाइलटहरुको अभाव खेप्दै आएको नेपाल एयरलाइन्समा यी दुई घटनाले राष्ट्रिय ध्वजाबाहकको ‘अपरेसन’मा कठिनाइ उत्पन्न भएको वायुसेवा निगम स्रोतले देशसञ्चारलाई बतायो।

विज्ञापन

नागराज भारतीय पाइलट हुन् र हिमालयन एयरलाइन्सले कारबाही गरी त्यहाँबाट निकालिएपछि इन्स्ट्रक्टर पाइलटका रुपमा उनले नेपाल वायु सेवा निगममा प्रवेश गरेका थिए। ककपिटमा सुतेको फोटो बाहिर सार्वजनिक भएपछि विगत छ महिनामा उनी उडानमा रहँदाका विवरण मगाई नागरिक उड्डयन विभागले छानबिन गर्ने क्रममा उनलाई बिहीबार निलम्बन गरिएको हो।

उता सेप्टेम्बरको आखिरीतिर दिल्ली अवतरणका क्रममा निर्दिष्ट धावनमार्गभन्दा अलिकति टेढो रुपमा विमान प्रतिक्षामा रहेपछि त्यसका इन्स्ट्रक्टर पाइलट यवार कमाललाई भारतीय विमान प्राधिकरणले उनको उपस्थिति चाहेको र नेपाल एयरलाइन्सले त्यसलाई अस्वीकार गरेपछि उनले भारत जान अस्वीकार गर्दै आएका छन्।

निगमसँग कमालसहित अन्य दुई पाकिस्तानी विमानचालक कार्यरत छन्, दुई जना एयरबस-३ ३० का लागि अर्का एकजना ए-३२० का लागि।

निगम स्रोतका अनुसार नागराजले गर्दनमा आरामदायी ‘कलर’ समेत लगाई धेरैबेर उडानमै सुतेको र त्यो पाइलट सेवा सर्तविपरीत भएको प्रारम्भिक छानबिनले जनाएको छ।

‘नियोजित विश्राम (कन्ट्रोल्ड रेस्ट) अधिकतम आधा घन्टा गर्न पाउँछन् पाइलटहरुले र त्यसबाट बिउँझेको १५ मिनेटपछि मात्र विमान कमाण्ड गर्न पाउँछन्, तर, नागराजको सुताइ सम्भवत: लामो थियो,’ स्रोतले भन्यो।

विमान खरिद र भ्रष्टाचार विवादबाट ग्रस्त रहेको नेपाल वायुसेवा निगम पाइलटहरुको यो विवादले थप शिथिल हुनसक्ने स्रोत बताउँछ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्