अस्पतालमा बच्चा छाडेपछि पक्राउ परेकी पुर्व सांसद शाह साधारण तारेखमा रिहा

काठमाडौं- नवजात शिशु अस्पतालमा छाडेको आरोपमा पक्राउ परेकी पुर्व सांसद गायत्री शाह साधारण तारेखमा छुटेकी छिन्। ललितपुर जिल्ला अदालतले बुधबार उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

गायत्रीसँगै पक्राउ परेका उनका श्रीमान् राजेश महतोलाई २० हजार रुपैयाँ धरौटी मागिएको छ। ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधिश महेन्द्रबहादुर कार्कीको एकल इजलासले उक्त आदेश गरेको हो।

ललितपुर प्रहरी परिसरले शाह र उनका श्रीमानलाई वैशाख २२ गते मेडिसिटी अस्पतालबाट पक्राउ गरेको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ को उपदफा (१) अनुसार मुद्दा दायर गरिएको थियो।

उक्त उपदफा अनुसार नवजात शिशु, बालबालिकालाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले परित्याग गर्न वा वेवास्ता गरी छोड्न नहुने उल्लेख छ। त्याग वा वेवास्ता गरेको पाइएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने संहितामा उल्लेख छ।

डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएपछि शाहले नवजात शिशुको जिम्मा मेडिसिटीले लिनुपर्ने माग गर्दै आएकी थिइन्। गर्भवती भएदेखि मेडिसिटीमा जाँच गरेको तर डाउन सिन्ड्रोमबारे केही नभनेको उनको दावी थियो।

यता, अस्पतालले भने बच्चा जन्मनुअघि विनाजाँच  डाउन सिन्ड्रोम पत्ता लाग्न नसक्ने बताउँदै आएको छ। गर्भवतीको अवस्थामा डाउन सिन्ड्रोमबारे कुनै परिक्षण नगरिएको अस्पतालको भनाई थियो।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्