मोदीलाई हल्लाइरहेका कन्हैया कुमारमाथि वेब सिरिज बन्‍ने, सलमान मुख्य भूमिकामा

एजेन्सी-जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष तथा लोकसभा उम्मेदवार कन्हैया कुमारको जीवनमा आधारित वेब सिरिज बन्‍ने भएको छ।

वेव सिरिजको नाम ‘ताण्डव’ रहनेछ भने निर्देशन अली अब्बास जफरले गर्नेछन्। वेव सिरिजको मुख्य भूमिकामा सलमान खान देखिने बताइएको छ। जसका लागि सलमानलाई उक्त भूमिकाको लागि अली अब्बासले तयार पारिरहेका छन्।

सलमानले वेव सिरिजको लागि तौल कम गरिरहेको बताइएको छ। उनलाई विद्यार्थी राजनीतिको यो आइडियाले उत्साहित बनाएको बताइएको छ।

कन्हैयाको जीवनमा आधारित वेव सिरिजमा कन्हैया कुमारको जेएनयू विद्यार्थी संघको अध्यक्ष देखि लोकसभा उम्मेदवार बन्नेसम्मको यात्रा देखाइने छ। कथा २०१६ देखि सुरु हुनेछ।

उनी विरुद्ध राष्ट्रविरोधी नारा लगाएको आरोपमा देश द्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दिल्ली पुलिसले उनलाई पक्राउ गरेको थियो।

भारतमा भइरहेको लोकसभा निर्वाचनमा कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) को टिकटमा बिहारको वेगूसरायबाट लोकसभा चुनावमा उम्मेदवार बनेका छन्। जहाँ उनको सामना भाजपाका गिरिराज सिंह र राष्ट्रिय जनता दल (आरजेडी) का उम्मेदवार तनवीर हसनसँग हुनेछ।

सिरिज तीन वर्ष पुरानो वास्तविक घटनाबाट शुरु हुनेछ। जहाँ सलमान र अलि एकसाथ काम गर्नेछन्। आफ्नो फिल्मबाट मिलेको ब्रेकमा उनी यसको सुटिङ गर्नेछन्।

अलि अब्बास जफर र सलमान खान आगामी फिल्म भारतको प्रदर्शनपछि तान्डवको काममा जुट्नेछन्।

यसको सुटिङ सलमान खानको फिल्म दवंग–३ को सुटिङ सकिएपछि र सलमानको अर्को फिल्म इन्शाअल्लाह सुरु गर्नुभन्दा अगाडी हुनेछ। यद्यपी यस विषयमा सलमान र अलि दुवैले मुख खोलेका छैनन्।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्