विरुवाको बीचबीचमा पार्किङ

नेपालगञ्ज– नेपालगञ्जको न्यूरोडमा यतिबेला विरुवाको बीचबीचका खाली ठाउँमा टायल बिछ्याउने काम भइरहेको छ। टायल बिछ्याएर मोटरसाइकल पार्किङ गराउने योजना रहेको छ।

न्यूरोडमा पार्किङ गर्ने ठाउँ नै नभएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘सौन्दर्यकरण’को नाम दिएर विरुवाको बीचबीचमा मोटरसाइकल पार्किङ गर्ने ठाउँ बनाइरहेको हो। ‘हामीले टायल ओछ्याएर सौन्दर्यकरण गरिरहेका छौँ’, नेपालगञ्ज उपमानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने, ‘जनताले त्यहाँ मोटरसाइकल पार्किङ गर्न सक्छन्।’

नगरपालिकाले पार्किङ गर्ने भनेर विरुवाका बीच–बीचमा खनेपछि स्थानीयले चर्को विरोध गरेका थिए। विरुवाको बीचमा टायल ओछ्याउने ठाउँ बनाउँदा विरुवा मर्ने चिन्ता गरिएको थियो। थोरै खन्दा विरुवा मर्ने अवस्था नदेखिएपछि यतिबेला नगरपालिकाले निर्वाध ढंगले टायल ओछ्याउने काम गरिरहेको छ।

टायल ओछ्याएपछि मोटरसाइकललाई माथि चढाउनका लागि स्लोप बनाउने तयारी भएको छ। न्यूरोडमा कहिँ पनि पार्किङ गर्ने ठाउँ छैन। तत्कालिन अधिकारीहरुले न्यूरोडको विकास गर्दा पार्किङ बनाउन ‘भुलेका’ थिए।

नेपालगञ्जको व्यवस्थित बजार बन्दै गएको न्यूरोडमा पार्किङको समस्या भएपछि ग्रिनबेल्टलाई प्रयोगमा ल्याउन थालिएको हो। अहिले सडकका दुवै किनारमा पसल अगाडि नै पार्किङ हुने गरेको छ। पार्किङले सडक साँघुरोमात्रै बनाइरहेको छैन, पसलको बाटो नै रोक्ने काम गरिरहेको छ।

मोटरसाइकलसम्म पार्किङ गर्ने ठाउँ हुने बित्तिकै सडक फराकिलो हुने नगरपालिकाका अधिकारीको बुझाई छ। न्यूरोडमा पार्किङका साथै सार्वजनिक शौचालयको अभाव रहेको छ। नेपालगञ्जको बजार क्षेत्रको रुपमा विकास भइरहेको न्यूरोडमा सार्वजनिक शौचालय नहुँदा पनि फेरि ठूलो समस्या निम्त्याउँदैछ। यसबारेमा अहिलेसम्म अधिकारीहरुले सोचेका छैनन्।

व्यवस्थित बजार बन्दै गएपनि न्यूरोडमा अझै ढलको राम्रो निकास हुन सकेको छैन। नेपालगञ्जमा पानी पर्ने बित्तिकै पहिले डुवानमा पर्ने ठाउँ न्यूरोड नै बनिरहेको छ। विरुवाको बीचबीचमा टायल ओछ्याएर पार्किङको समस्या त हट्ला, सार्वजनिक शौचालय र बर्खा लाग्नै थाल्दा ढलको निकास राम्रो कहिले बनाउने? स्थानीयले नगरपालिकासँग प्रश्न गरेका छन्।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्