नेकपामा मार्गदर्शक सिद्धान्त टुंगो लाग्‍न कठिन हुने संकेत

प्रचण्ड र ईश्‍वरले गरे एकअर्कालाई घोचपेच

काठमाडौँ– पार्टीको महाधिवेशनका बेला मार्गदर्शक सिद्धान्त टुंगो लगाउने गरी पूर्व नेकपा एमाले र माओवादीले पार्टी एकता गरे पनि त्यसअघि नै  एकता तोडिने संकेत देखिएको छ।

पूर्व एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘माओवाद’ एकीकृत गरी ‘जनताको जनवाद’ लाई पार्टीको साझा सिद्धान्त मान्ने मौखिक सहमति भएको थियो। तर पार्टीका शीर्ष नेताहरुका पछिल्ला केही अभिव्यक्तिबाट त्यसमा अझै मतभिन्नता रहेको संकेत देखिएको छ।

खासगरी जनवादलाई लिएर शीर्ष नेताहरु विभाजित भएको बुझिन्छ। पार्टी एकीकरणको एक वर्ष पुगेकै बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बैचारिक ध्रुवीकरणको संकेत देखिएको छ।

एमाले र माओवादी मिलेर नयाँ पार्टी नेकपा जन्माएको एक वर्ष पुग्‍न २ दिन बाँकी रहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र सचिवालय सदस्य एवम् रक्षामन्त्री इश्वर पोखरेलले घुमाउरो हिसावमा पार्टीको बैचारिक सिद्धान्त अझै साझा बन्न नसकेको संकेत गरेका छन्, युवा संघ नेपालको स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा।

पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली विदेश भ्रमणबाट आउन ढिला गरेपछि अध्यक्षका रुपमा एक्लै उपस्थित प्रचण्ड भन्दा पहिले कार्यक्रमलाई संबोधन गरेका पोखरेलले पार्टीले स्पष्ट वैचारिक कार्यदिशा नलिए कम्युनिष्ट पार्टी ‘तासको महल’ जस्तै ढल्ने चेतावनी दिँदै पार्टीभित्रको अझै वैचारिक सिद्धान्तमा एक मत नभएको संकेत गरेका हुन्।

उनले भने,’ अझै पनि हाम्रो पार्टीमा स्पष्ट राजनीतिक र वैचारिक कार्यदिशा छैन । त्यसबारे पार्टीभित्र घनिभुतरुपमा छलफल हुनुपर्छ । कमिटि प्रणालीलाई विश्वास गर्नुपर्छ।’।

उनले त्यस्तो भनिरहँदा प्रचण्ड, झलनाथ खनाल, विष्णु पौडेल, अग्नी साप्कोटा लगायतका नेताहरु मञ्चमा उपस्थित थिए। कार्यकर्ताहरु पनि खासखुस गरेको देखिन्थ्यो।

केही दिनअघि पोखरेलले मदन भण्डारी फाउण्डेशनको एक कार्यक्रममा जबज नै नेकपाको मार्गनिर्देशक सिद्धान्त हुनुपर्ने धारणा राखेका थिए।

गत वर्ष पार्टी एकताका बेला पूर्व एमाले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ नै नेकपाको मार्गदर्शक सिद्धान्त हुनुपर्ने अडान लिएका थिए। तर पूर्व माओवादीले त्यसलाई स्वीकार नगरेपछि पोखरेल मौन बसेका थिए।

बुधबार पोखरेलको त्यस्तो धारणा आएपछि प्रचण्डले आफ्नो संवोधनका क्रममा छोडिसकेका र पुराना विचार आत्मसाथ गरेर सुदृढ कम्युनिस्ट पार्टी नबन्ने धारणा राखेका थिए, त्यो पोखरेलको अभिव्यक्तितर्फ लक्षित भएको बुझ्न कठिन थिएन।

उनले भने, ‘गीता, बाइबल र कुरान जस्ता धर्मशास्त्र मार्क्सवाद होइनन्। निरन्तरको प्रयोगपछि विकसित हुने सिद्धान्तलाई मान्‍नुपर्छ। छाडिसकेका सिद्धान्त त्याग्नुपर्छ।

उनले आफ्नो पूर्व माओवादी पार्टीको उदाहरण दिदै भने,‘एउटै विचार ठिक भनेको भए शान्ती आउने थिएन मुलुकमा । सत्ता सम्हाल्ने र विकास निर्माण अघि बढाउने मौका पाउने थिएनौ।

त्यसैले कहिलै पनि कुनै पनि सिद्धान्त या विचार अकाट्य हुन्‍न।’ नेकपामा पार्टी एकता भएको २ वर्षभित्र महाधिवेशन गर्ने सहमति भएको थियो।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्