उपचारमा संलग्न चिकित्सक

‘एसिड आक्रमणमा परेकी युवतीको अवस्थाबारे अहिल्यै भन्न सकिन्न’

काठमाडौँ – पति एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

काठमाडौँको कालोपुल बस्दै आएकी २० वर्षकी युवतीलाई उनका पतिले बुधबार राति ९ बजेतिर एसिड प्रहार गरेका थिए ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी युवतीलाई राति नै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । सुरुमा आइसियुमा राखेर उपचार गरिएमा अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ । तत्कालका लागि खतराको अवस्था नदेखिएको उपचारमा संलग्न डा. अनुज राजकर्णिकारले देश सञ्चारलाई जानकारी दिएका छन् ।

डा. राजकर्णिकारले देश सञ्चारसँग भने, ‘बिरामीले बताए अनुसार घटना बुधबार राति ९ बजेतिरको हो । श्रीमानले एसिड प्रहार गरेको भन्नु भएको छ । उहाँका दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भागमा गम्भीर असर परेको छ ।’

डा. राजकर्णिकारले भने, ‘हामीले उपचार गरिरहेका छौँ । अहिले अवस्था स्थिर छ । तर यकिन अवस्था थाहा पाउनका लागि ४८ देखि ७२ घण्टा कुर्नै पर्छ । कुन केमिकल प्रयोग गरेर आक्रमण भएको हो भन्ने थाहा नहुँदा उपचारमा समस्या भएको छ ।’

विशेष गरि एसिड आक्रमणमा पोलेको घाउको गहिराई अनुसार जोखिमको आँकलन गर्न सकिने डा. राजकर्णिकारले बताए । त्यसका लागि प्रयोग भएको केमिकलको जानकारी भएमा त्यसले गर्न सक्ने असरको अनुमान लगाएर उपचार अघि बढाउन सहज हुने उनले बताए ।

तर उपचाररत युवतीको हकमा कुन केमिकल प्रहार भएको हो भन्ने थाहा भएको छैन । आफूहरुले निगरानी गरिरहेको र घाउको अवस्था कस्तो हुन्छ त्यो हेरेर मात्रै अघिको अवस्था वा खतराबारे बताउन सकिने डा. राजकर्णिकारले बताएका छन् ।

ती युवतीमाथि बनेपा बस्दै आएका उनका पति विष्णु भुजेलले बुधबार बेलुका एसिड आक्रमणा गरेको प्रहरीले जानकारी दिएको छ ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्