मलेसियामा रोजगारी बन्द भएको एक वर्ष पूरा, श्रम समझदारी गरे पनि अन्यौल हटेन 

काठमाडौँ– मलेसियाको रोजगारी बन्द भएको एक वर्ष पूरा भएको छ। २०७५ सालको जेठ २ गते मलेसियाको रोजगारीमा जाने कामदारको प्रक्रियामा काम गर्ने विभिन्न संस्था खारेज गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्णयसँगै मलेसियाको रोजगारी बन्द भएको हो।

मलेसियाको रोजगारी बन्द गर्ने र श्रम समझदारी नभएसम्म कामदार नपठाउने अडानका कारण मलेसिया नेपालसँग श्रम समझदारी गर्न आतुर भएको थियो। मलेसिया र नेपालबिच गत कात्तिक १२ गते श्रम समझदारीमा हस्ताक्षर भइसकेको छ।

विज्ञापन

मलेसिया जाँदा नेपाली श्रमिकले कुनै पनि शीर्षकमा शुल्क नतिर्नु पर्ने समझदारीमा उल्लेख भएपनि त्यस यता पनि कामदार पठाउने प्रक्रिया ठप्प छ । समझदारी पत्रमा हस्ताक्षर भएको सात महिना बितिसकेको छ।

मलेसियाको रोजगारी बन्द हुनु पहिले नै कलिङ भिसा लागिसकेका कामदार भने गत महिनाबाट जान थालेका छन्। तर नयाँ कामदार जाने विषय भने अझै अन्यौलमै छ। एक वर्ष बितिसक्दा पनि पहिलेका संस्थाले काम गर्न पाउने कि नपाउने भन्ने विषयमा विवाद कायम छ ।

नेपाल पूराना संस्था मार्फत कामदार नपठाउने अडानमा छ भने मलेसिया पहिलेकै संस्था मार्फत लैजाने अडानमा छ । भिसा प्रक्रियादेखि स्वास्थ्य परीक्षण गर्ने संस्थाको विषयमा नेपाल र मलेसिया फरक फरक अडानमा छन्।

स्वास्थ्य संस्थाको नयाँ मापदण्डसहित सूचिकरणको प्रक्रिया चलिरहेकै बेला मलेसिया दूतावासले पुरानालाई मात्रै अनुमति रहेको पत्र पठाएपछि फेरि अन्यौलता थपिएको छ। यद्यपी श्रम मन्त्रालयले भने नयाँ सूचिकरणको प्रक्रियामा रहेका संस्थाको अनुगमन गर्न मलेसियाबाट एउटा टोली छिट्टै आउने दाबी गर्दै आफ्नो तर्फबाट सूचिकरणको प्रक्रियामा रहेका एक सय २६ वटै नयाँ स्वास्थ्य संस्था तथा अस्पतालको अनुगमन गरिसकेको छ।

यी संस्था सूचिकरण भएपछि मात्रै मलेसियाको नयाँ रोजगारी सहज बन्ने देखिन्छ । आ–आफ्नो अडानमा मलेसिया र नेपाल कायम रहे मलेसिया रोजगारीको पर्खाई थप लम्बिनेछ। बन्द हुनु पहिलेसबैभन्दा धेरै कामदार मलेसिया जाँने गरेका थिए।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्