अस्ट्रेलियामा मे १८ मा संघीय चुनाव

सिड्नी – अस्ट्रेलियामा आगामी मे १८ तारिख शनिबारका दिन संघीय चुनाव हुँदैछ, जस्ले नयाँ संसद् तथा प्रधानमन्त्रीको समेत चयन गर्नेछ । ४६ औँ संसद्का लागि हुने उक्त निर्वाचनमा विधानसभा अर्थात् तल्लो सदनका लागि १५१ सिट तथा सिनेट अर्थात् उपल्लो सदनका लागि ७६ मध्ये ४० सिटका लागि मतदान हुँदैछ ।
पछिल्ला दुईवटा चुनावमा विजेता रहेको लिवरल पार्टी र नेशनल पार्टीको गठबन्धन सरकार यसपटक तेश्रो तीनवर्षे कार्यकालका लागि चुनावी मैदानमा उत्रनेछ जसको नेतृत्व लिवरल पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री स्कट मरिसनले गर्दैछन् भने बिल सोर्टनले नेतृत्व गरेको लेवर पार्टीले गतिलो चुनौती दिने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । त्यसैगरि साना दलहरू ग्रिन्स पार्टी, युनाइटेड अस्ट्रेलिया पार्टी लगायत स्वतन्त्र उम्मेदवारहरूले पनि यो चुनावमा भाग लिनेछन् ।

परमेज श्रेष्ठको उम्मेदवारीले नेपाली समुदाय उत्साहित

सिड्नीवासी नेपाली मूलका परमेज श्रेष्ठ संघीय चुनावमा सत्तारुढ दल लिवरल पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । २६ वर्षीय श्रेष्ठ सिड्नीको बार्टन क्षेत्रबाट लिवरल पार्टीको प्रतिनिधित्व गर्दै चुनावमा होमिनेछन् । उनको उम्मेदवारीको घोषणापश्चात् सो क्षेत्रका नेपालीमा ठूलो उत्साह देखिएको छ ।
नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको बार्टन क्षेत्रमा लेबर पार्टीका तर्फबाट नेतृ लिण्डा बर्नीले प्रतिनिधित्व गर्दैछिन् । बर्नी अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने एक मात्र आदिवासी महिला नेतृ पनि हुन् ।
‘पिजे श्रेष्ठ’ उपनामले चर्चित परमेज अष्ट्रेलियामा नेपाली समदायको दोस्रो पुस्ताका प्रतिनिधि हुन् । २० वर्ष अघि ६ वर्षको उमेरमा आफ्ना अभिभावकको साथ अष्ट्रेलिया आएका परमेज मिष्टर नेपाल ओसिनिया समेत हुन् । उनी नवलपरासीका कृषि उद्यमी मेघराज श्रेष्ठका छोरा हुन् । उनको अष्ट्रेलियामा पनि कृषि तथा आप्रवासन परामर्शसँग सम्बन्धित व्यवसाय छ ।
परमेश श्रेष्ठलाई उम्मेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा बढि बसोबास रहेको छ । यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हर्स्भिल, टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन् ।
त्यसैगरि, नेपाली मूलका भुवन खड्काले ‘ग्रिन्स पार्टी’को तर्फबाट पश्चिम अस्ट्रेलियाबाट सिनेट अर्थात् उपल्लो सदनका लागि सहयोगी उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन् । उनी ग्रिन्स पार्टीको तर्फबाट चौंथो नम्बरमा रहेका उम्मेदवार हुन् । यसको अर्थ यदि सो सिटमा ग्रिन्स पार्टीले जित हासिल गरेमा तथा उनीभन्दा अगाडिका तीनजना उम्मेदवार विभिन्न कारणवश सिनेटमा उपस्थित हुन नसकेको खण्डमा उनले ग्रिन्सका तर्फबाट सिनेटमा प्रतिनिधित्व गर्नेछन् ।

लिवरल तथा लेवर पार्टीले समुदायिक भवन निर्माण गर्न सहयोग गर्ने

अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिवरल पार्टीका नेता डेभिड कोलम्यानले आफ्नो पार्टीले पुनः जित हाँसिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर अर्थात् करिब ८ करोड नेपाली रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

सिड्नीमा आयोजित तेश्रो ओसेनिया क्षेत्रीय मिटिङमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सो सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने समेत बताएका थिए ।

मन्त्री कोलम्यानले घोषणा गरेलगत्तै लेवर पार्टीका तर्फबाट अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक छाया मन्त्री टोनी बुर्कले पनि आफ्नो पार्टीले जित हासिल गरेको खण्डमा दक्षिण एसियाली समुदायलाई सामुदायिक भवन निर्माणका लागि २५ लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने घोषणा गरेका थिए । उनले सो रकम पुराना सामुदायिक भवन पुनर्निर्माण तथा नयाँ भवन निर्माणका लागि खर्च गरिने बताएका थिए । त्यसैगरी लेबर पार्टीले जित हासिल गरेको खण्डमा अभिभावक भिसाको शुल्क कम गर्ने समेत बताएको छ ।

लेवर पार्टीले शिक्षा, स्वास्थ्य तथा जलवायु परिवर्तनका क्षेत्रमा व्यापक बजेट खर्च गर्ने योजना सार्वजनिक गरेको छ भने लिवरल पार्टीले रोजगार श्रृजना, बजेट सरप्लस, सुरक्षित निवृत्तिभरण लगायतका एजेन्डाहरू अघि सारेको छ । यसपटक पहिलेका चुनावहरूमा जस्तो शरणार्थी तथा अध्यागमनका मुद्दाहरूका बारेमा भने तुलनात्मक रूपमा कम चर्चा भएको थियो ।

करिब १ करोड ६४ लाख २५ हजार मतदाताले चुनावमा भाग लिने तथ्यांक ‘अस्ट्रेलियन इलेक्सन कमिसन’ले प्रस्तुत गरेको छ । अस्ट्रेलियामा मतदाताले अनिवार्य रूपमा मत हाल्नुपर्दछ । यदि  जायज कारण नदेखाई भोट नहालेमा जरिवाना समेत हुन सक्ने व्यवस्था छ । स्मरणीय छ, अस्ट्रेलियामा गत १२ वर्षमा ६ जना प्रधानमन्त्रीहरू विशेष गरि पार्टीको आन्तरिक द्वन्द्वका कारण परिवर्तन भएका थिए ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्