कृषि र पर्यटनमा लगानी

एक अर्बको लगानिमा वाटरपार्कसहितको पर्यटकीय कृषि फार्म र रिर्सोट

बुटवल – जमीनमुनिको पानी जम्मा पारेर ताल । तालमाथि कोठैकोठा । पानीमुनि पनि कोठा । स्वीमिङ पुल, मोटरबोट, पशुपक्षी, माछापालन र प्राकृतिक सुन्दरतासहितको नेपालकै नमूना कृषि रिर्सोट बन्दैछ रुपन्देहीमा ।

अष्ट्रिच चरा पालेर चर्चा कमाएका बुटवलका उद्यमी सी. पी. शर्माले अर्को नौलो प्रोजेक्ट ल्याएका छन्–पानीमाथि र पानीमुनि बस्न मिल्ने १ सय ८० कोठासहितको रिर्सोट सञ्चालन गर्ने ।

विज्ञापन

यतिमात्रै होइन, यहाँ पाइने अधिकांश खाद्यान्नदेखि माछामासुसमेत आफ्नै उत्पादन हुनेछन् । जसका लागि शर्माले कालो मासु हुने कालै कुखुरा कडकनाथ पाल्न थालेका छन् । ३० हजारभन्दा बढि संख्यामा कुखुरापालन सुरु गरेका उनले रिर्सोट निर्माणको काम अघि बढाएका छन् ।

यस्तो बन्नेछ रिर्सोट

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ फर्साटिकर बेलवामा २४ बिगाहा जमीनमा २.५ किलोमिटर लम्बाईको गोलाकारमा ताल बन्नेछ ।

तालको बीचमा पानीको फोहरासहितको विशाल फाउण्डेशन निर्माण हुनेछ । दानव नदीको किनारमा बन्ने तालको दक्षिण पूर्वतर्फ बास बस्न मिल्ने १ सय ८० कोठाहरु तयार हुनेछन् ।

ती सबै कोठाहरुबाट तालमा बल्छी हानेर माछा मार्न मिल्ने गरि डिजाइन तयार गरिएको शर्माले बताए ।

‘सबै कोठाहरुबाट तालको मनोरम दृश्य हेर्न सकिन्छ, तालमा माछा मार्न सकिन्छ’, शर्मा बताउँछन्, ‘यो पूरापुर प्राकृतिक र कृषि उत्पादनहरुका बिचमा रमाउने खालको थलो बन्नेछ ।’

‘किसान’ शब्दलाई कि–किनेको, सा–सामान र न–नखाने भनेर परिभाषित गर्ने उनी रिर्सोटका लागि आवश्यक खाद्यान्न, तरकारी र फलफुल, माछामासुजन्य सामग्री पनि आफै उत्पादन गर्ने तयारीमा जुटेका छन् ।

तालको छेउमै ठूलो बगैँचा बन्नेछ । बगैँचासँगै तरकारी खेती, फलफुल खेती, पशुपालन र कुखुरापालन हुनेछ ।

स्वास्थ्यका लागि फाइदाजनक र स्वादिलो मानिने कडकनाथ कुखुरा पालिने छ । सँगै गाई पालिनेछ । ‘कसैलाई नेपालको गाउँकै मज्जा लिन मन लाग्यो भने आफै गाई दुहेर, आफै तरकारी, फलफुल टिपेर पकाएर खाने व्यवस्था पनि गर्ने हाम्रो सोच छ’, सञ्चालक शर्मा भन्छन्, ‘यहाँ आउने पाहुनाले प्राकृतिक मनोरम मात्रै हैन, गाउँले स्वाद पनि लिन पाउँछन् ।’

यो रिर्सोट, कृषि फार्म मात्रै हैन, सामुद्रिक आनन्द लिनसक्ने थलो बन्नेछ । ‘२.५ किलोमिटर क्षेत्रमा मोटरबोट चल्नेछ, पानीमा बाइकहरु चलाउन सकिनेछ, समुद्रमा जस्तो अनुभव लिने गरि बनाइनेछ, डुंगा चलाईनेछ’, अर्की सञ्चालक डा. शर्मिला शर्माले भनिन्, ‘यो बालबालिका, युवा, प्रौढ उमेर सबैका लागि अनुकुल हुने गरि र बालबालिकाका लागि छुट्टै पार्क निर्माण गरेर सजिलो बनाइनेछ ।’ साथमा १ हजार ५ सय जना अट्ने अडिटोरियम हल हुनेछ ।

बास बस्न आउनेबाहेकका पर्यटकले कम्तिमा पनि ४ घण्टा रिर्सोटमा बिताउने गरि प्राकृतिक वातावरण बनाउने उनले बताइन् ।

‘आधुनिक पुस्ता र विदेशी पर्यटकका लागि नेपाली शैलीका ढिकी, जाँतो राखेर तिनैमा पिसेरै खाने व्यवस्था पनि हामीले गर्नेछौँ’, उनले भनिन्, ‘स्थानीय जातका हाँस, कुखुरा, खशीबोका, पाल्ने फार्म समेत रहने भएकाले पहाडी शैलीको झल्को पनि रिर्सोटले दिनेछ ।’

लुम्बिनी आउने पर्यटकलाई प्राथमिकता

बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकले धेरै समय बिताएनन् भन्ने चिन्ता सरकारी र निजी क्षेत्रलाई छ । लुम्बिनीभन्दा बाहिर पर्यटकले समय बिताउने गरि अरु संरचना वा स्थान कम भएको भन्ने चर्चा र बहसलाई ध्यानमा राख्दै पूर्णतया कृषि पर्यटकीय स्थलको रुपमा रिर्सोट सञ्चालन गर्न लागेको सञ्चालक शर्माको भनाई छ ।

‘यो स्थान पनि लुम्बिनीबाट नजिक छ, पायक पर्छ अनि बजारको होहल्लाभन्दा केही पर शान्तस्थलमा रहेकोले पनि यहाँ पर्यटकलाई भुल्नका लागि उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ’, उनी भन्छन्, ‘लुम्बिनी आउने बौद्धमार्गीहरुका लागि सोहीअनुसारको व्यवस्था हामीले गर्नेछौँ, उनीहरुको चाहनाअनुसारकै शैली पस्किने योजना हाम्रो छ ।’

रिर्सोट सञ्चालनमा आएपछि लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्बिने विश्वास शर्माको छ ।

‘लुम्बिनीमा बुद्धका बारेमा पर्याप्त जानकारी लिने, ध्यान गर्ने, शान्ति प्राप्त गर्ने र रिर्सोटमा आएर मन प्रफुल्ल बनाएर रमाउनका लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यस्तो परिकल्पना गरेका हौँ’, उनले भने, ‘अहिले मानिस ठूला ठूला भवनका कोठामा गुम्सिएर बस्न चाहन्न, खुला र प्राकृतिक वातावरण चाहन्छ, प्रकृतिसँग खेल्न चाहन्छ, पुराना कुराहरु हेर्न चाहन्छ, यो त्यही ठाउँ बन्नेछ ।’

दसैँअघि सञ्चालनमा ल्याउने तयारी

दसैँअघि घुम्नका लागि मौसम अनुकुल हुन्छ । यही अनुकुल मौसमको समयमा रिर्सोट सञ्चालनमा ल्याउने तयारी शर्माको छ ।

‘दसैँ अघिसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेर काम भइरहेको छ’, शर्माले भने, ‘यो वर्ष परीक्षणका रुपमा १० वटा कोठा सञ्चालनमा ल्याउने छौँ र यसको निर्माणको काम निरन्तर अघि बढ्छ ।’ त्यसका लागि निर्माणकर्ताले धमाधम काम अघि बढाइरहेका छन् ।

अहिले तालको फाउण्डेशनको काम भइरहेको छ भने पार्क र बगैँचामा पनि काम अघि बढिरहेको उनले बताए ।

तीनजनाको एक अर्ब लगानी

शर्मा दम्पती सी. पी. शर्मा र डा. शर्मिला शर्मासहित तीनजनाको एक अर्ब लगानीमा बन्ने यो रिर्सोटलाई शर्मिला इण्टिग्रेटेड कृषि फार्म प्रालिले सञ्चालन गर्नेछ ।

जसको ब्राण्ड नेम ‘द लुम्बिनी हेरिटेज’ राख्ने सोंच शर्माले बनाएका छन् । ५० करोडजति लगानीमा अहिले संरचना निर्माण भइरहेका छन् । यो रिर्सोटमा ५ सयजनाले रोजगारी पाउनेछन् । यसमा बुटवलको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋण लगानी गरेको शर्माले बताए । v

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू