नेपाली सेनामा कार्यरत दीपक राई । सुवेदारका रुपमा कार्यरत राई विपदमा परेकाहरुको उद्धारमा खटिन्छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
विपदका साथी–दुई

विपना बनेको त्यो सुखद सपना

सत्कर्मसँग सपनाको पनि सम्बन्ध हुन्छ कि जस्तो लाग्छ दीपक राईलाई । ओखलढुंगाका दीपक नेपाली सेनाका सुब्दार हुन् । उनलाई सपनामा विश्वास जागेको चार वर्ष बित्यो ।

त्यो भन्दाअघि सपनाको सम्झना शायद बिहान उठेपछि केहीबेर मात्रै रहन्थ्यो । तर २०७२ साल वैशाख १२ गते राति देखेको सपना उनलाई अझै पनि स्पष्ट सम्झना छ र रहिरहनेछ जीवनभर ।

किनकी उनले त्यो रात पूरा गर्नु पर्ने एउटा सत्कर्मको प्रतिफल देखेका थिए । र भोलिपल्ट सपना जस्तै भयो विपना पनि ।

सेनाको विपद व्यवस्थापन गणमा कार्यरत सुब्दार दीपक राई चार वर्षअघिको भूकम्प लगत्तै उद्धारको काममा खटिएका थिए । उनीसहितका साथीहरु भक्तपुरमा थिए । भत्किएका संरचना पन्छाउने र च्यापिएकालाई उद्धार गर्ने क्रम चलिरहेको थियो ।

फाइल तस्बिर

भक्तपुरको देवढोकाकी रस्मिला अवाल रुँदै आइपुगिन् उनीहरु सामु । उनको चार महिने छोरा भूकम्पले भत्केको घरमा पुरिएका थिए ।

दीपकलाई आफू पनि पिता भएकाले ती आमाको आँसुको मर्म राम्रोसँग थाहा थियो ।

उनीसहितको टोली रस्मिलाका चार महिने छोरा सोनिसको खोजीमा जुट्यो । तर भत्किएको घरका अवरोध पन्छाएर गर्नु पर्ने खोजीले रातको १२ बजेसम्म पनि आकार लिन सकेन ।

अँध्यारो र लगातार भूकम्पका धक्काहरु आइरहेकाले सोनिसको खोजी भोलिपल्ट बिहानसम्मलाई थाँती राखेर दीपकसहितको टोली फर्कियो ।

बाटोमा देखेको त्यो सपना


मध्यरातसम्मको खोजीको क्रममा सोनिसलाई देख्नु त परको कुरा उनी जीवित या मृत के छन् भन्ने पनि थाहा थिएन ।

दीपकको मन सोनिस पुरिएको घरमै बसेको हुनु पर्छ । उनीसहितको खोजी टोली मध्यरातमा काठमाडौँको तीनकुने स्थित सडकमा त्रिपालको छानोमुनि सुते । मनमा शान्ती थिएन । उनले त्यो बेला घरमा रहेका आफ्ना ६ वर्षे छोरा सुदिनलाई सम्झिए । तर दिनभरिको थकानले निन्द्रा भने लाग्यो ।

निदाएका दीपकले भरिलो सपना देखे । उनले सोनिसलाई जीवितै उद्धार गरेको देखे ।

भोलिपल्ट बिहान उठ्दा उनलाई सपनाको ख्याल भयो र फेरि टोलीसहित अधुरो उद्धारका लागि हानिए भक्तपुर ।

बिहान १० बजेतिर उनले गएको रात देखेको सपना विपना बन्यो । उनले सोनिसलाई भेट्टाए, जीवितै । भत्किएको घरको भग्नावशेषबाट बाहिर निकाले । आमा रस्मिलाको काखमा राखिदिए र उपचारका लागि पठाउन सफल भए । बल्ल उनले ढुक्कको सास फेरे ।

त्यसपछि उनी लगातार कर्ममा जुटे । कति शव निकाले । कतिलाई जीवितै उद्धार गरे । तर सोनिसलाई उद्धार गर्दा मिलेको आत्म सन्तुष्टि र उनकी आमाको अनुहारमा देखिएको उज्यालोको सम्झना ताजा छ अहिले पनि । अनि त्यो सपनाको सम्झना विपना भन्दा पनि गाढा छ ।

अरुको अप्ठ्यारो पनि आफ्नै जस्तो


३५ वर्षका दीपक पछिल्लो १६ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । यस क्रममा उनी अधिकांश समय विपद तथा दुर्घटनाजन्य घटनाको उद्धार तथा राहतको काममा खटिएका छन् ।

पानीमा डुबेकाहरु । आगलागीमा परेका या दुर्घटना वा भूकम्मजस्तै अरु प्राकृतिक विपदका बेला उनीहरु प्रभावित तथा पीडितहरुको साथी बन्न पुगेका छन् र हुन्छन् ।

भत्केको घरबाट सोनिसलाई जीवितै निकालेको सुन्दर अनुभव समेटेका दीपकको आफ्नो पाटो भने अझै भत्केकै छ ।

ओखलढुंगाको इसंकुगढी–१ मा रहेको उनको घर भूकम्पले भत्काएको थियो । अहिलेसम्म उनका मातापिता टहरोमै छन् । घर बनाउन सकेका छैनन् । र पनि उनी आफ्ना मातापिता जस्तै समस्यामा परेकाहरुको सहयोगका लागि निमेष मात्र पनि विलम्ब नगरि खटिँदै आएका छन् ।

आफूले सिकेको सीप र संस्थामा रहँदा आफू भन्दा पहिले नागरिकको सेवा भन्ने मनोभाव बुझेको बताउने दीपकले हरेकपटक विपदमा परेकाहरुलाई सहयोग गर्न जान कुनै हिचकिचाहट नहुने गरेको सुनाए ।

डर त लाग्छ विपद स्थलमा खटिँदा तर सीप र सुरक्षात्मक उपाय त गर्नु पर्छ भन्ने भावले भयलाई जित्दै आएका छन् । उनी भन्छन्, ‘हरेक असजिलोमा परेकाहरु आफ्नै परिवारका कोही हुन जस्तो लाग्छ । र जति सक्दो चाँडो सहयोग गर्न सकुँ जस्तो हुन्छ ।’

विपदको अवस्थाबाट निकालेपछि ती व्यक्तिहरु या उनीहरुका आफन्तको अनुहारमा देखिने उज्यालोले आफ्नो कर्मको बाटो थप उज्यालो बनाए जस्तो लाग्छ उनलाई ।

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । शृङ्खला अन्तर्गतकाे यो दोस्रो स्टोरी हाे । हामी हरेक दिन क्रमैसँग बाँकी स्टाेरी प्रस्तुत गर्दै जाने छौँ ।)

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

जेठ २, २०७६ मा प्रकाशित