प्रधानमन्त्रीको दुई तिहाइ सरकारले संघीयता चलाउन सकेन : गगन थापा

सुर्खेत-नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता चलाउन नसकेको आरोप लगाएका छन्।

कांग्रेसले शुरु गरेको जागरण अभियानका क्रममा कर्णाली पुगेका थापाले सुर्खेतमा भएको नेता तथा कार्यकता भेटघाट कार्यक्रममा वर्तमान सरकारको वर्ष समिक्षा गर्दै उनले यस्तो बताएका हुन्।

‘केपी ओली नेतृत्वको सरकार बलियो सरकार हो’ उनले भने,‘ सरकारले संविधानको कार्यान्वयन, संरचनाहरु निर्माण र गर्वका काम जनतालाई देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो। तर ओली नेतृत्वको सरकारले संघीय व्यवस्थामा पनि काम गर्न सकेन।’

उनले राजासँग आधा शक्ति रहेको, राजाले दिएको संविधान, राजाले चाहेको बेला निलम्वन गर्न सक्ने संविधानमा टेकेर जनमतका आधारमा विपीले सरकार चलाएको इतिहासबारे कार्यकर्तालाई जानकारी गराए। त्यो बेलाको नेपालको परिवेश र यतिबेलाको परिवेश एउटै नभएको उनले उल्लेख गरे। ‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न सकेन, कांग्रेसलाई डर त्यँहा हो’, उनले भने,‘संघीय र एकात्मक नेपाल एउटै होइन। कर्णाली प्रदेश नामको मात्रै होइन, यो एक वर्षको अनुभवबाट सरकारको संघीयता ठिक ढंगले सञ्चालन भएको छैन।’

संघीयता कार्यान्वयनमा क्षमताको मात्रै नभई नियतीको कुरा पनि जोडिएको उनले बताए। ‘प्रधानमन्त्री संघीयतामा चरम अरुची राख्ने व्यक्ति हुनुहुन्थ्यो, पटक–पटक नेपालमा संघीयता चल्दैन भन्नुभएको छ’, उनले भने,‘देशमा ७ सय ५३ सरकार छन्। सात वटा प्रदेश सरकार छन्। उहाँ नेपालको प्रधानमन्त्री हुनुहुन्छ। प्रदेश र स्थानीय सरकारले गर्ने केही कामहरु छन्। अधिकार दिन केन्द्र सरकारले मानेको छैन।’

संघीयता बलियो बनाउन र टिकाउन केन्द्र भन्दा स्थानीय सरकारले काम गर्नुपर्ने उनले बताए। संविधानले तीन तहका सरकार लागि दिएको अधिकार कार्यान्वयन गर्न स्वीकार नगर्नु नै संघीयताको दुर्भाग्य भएको बताए। ‘प्रधानमन्त्रीले संघीयताका आधारभूत कुरालाई स्वीकार गर्न मान्नुभएन, जसले गर्दा प्रदेशहरु पंगु भएको अवस्था छ, मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी जस्तै देखिन थाल्नुभएको छ’, उनले भने,‘प्रदेशले काम गर्न पाएको छैन, एकपछि अर्काे अधिकार खोसिदै गएको छ। सबैभन्दा बढी काम गर्नुपर्ने प्रदेशलाई कामविहीन अधिकार, स्रोतविहीन बनाइएको छ।’

उनले प्रदेशका मुख्यमन्त्रीहरु लाचार भएका कारण समस्या उत्पन्न भएको बताए। ‘मुख्यमन्त्रीहरुले बोल्न सकेको अवस्था छैन। हिम्मत नभएर हो, प्रदेशका अधिकार, कानुन, हक केन्द्रसँग माग्नुपर्ने हो। तर, सक्नुभएको छैन, त्यसको मुल्य हामी सबैले तिर्नुपरेको पर्छ’, उनले भने।

उनले प्रधानमन्त्री ओलीले अधिनायकवादतर्फ उन्मुख भएको संकेत गरे। ‘निर्वाचन आयोग सकियो, अड्डा सकियो अदालत सकियो, सेना प्रधानमन्त्रीले नै चलाउन खोजे। ह्वाइट वडी जहाज निलियो, विधुतका पोल, टेलिकमका पोलदेखि बालुवाटारसम्म विक्रि भयो’, उनले भने,‘हुँदा–हुँदा प्रधानमन्त्रीले सदनमा समेत हैकम जमाउनुभएको छ।’

‘निती तथा कार्यक्रममाथिको छलफलमा संसदमा प्रधानमन्त्रलीले हेप्नु भयो, हप्काउने कोसिस गर्नुभयोे। हामीले त्यहिँ प्रतिवाद गर्‍यौँ। संसद प्रधानमन्त्रीको होइन सभामुखको हो। तर, प्रधानमन्त्रीदेखि सभामुख डराइरहनु भयो। सभामुखले प्रधानमन्त्रीको आदेश छ, भनेर भन्नुभएको छ। उहाँले हैकम जमाउनुभएको छ।’

उनले एमाले र माओवादीबीच भएको पार्टी एकता नभई गठबन्धन भएको बताए। अहिले नेकपा भित्र पार्टीको सिद्धान्तबारे विवाद भइरहेको भन्दै उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको पार्टी एकता हुन नसकेको बताए।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्