मन्त्रीकाे भनसुनमा प्रक्रिया मिचेरै करारमा कर्मचारी नियुक्त

सुर्खेत-घरेलु तथा साना उद्योग विकास समिति शाखा सुर्खेतमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेको पाइएको छ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको भनसुनमा घरेलु उद्योग विकास समिति शाखा कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद पौडेलले प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेका हुन्।

आवेदन आह्वान गर्दा धेरैले उम्मेदवारी दिने र आफ्ना आफन्त तथा चिनेजानेका व्यक्तिले जागिर नपाउने भएपछि मन्त्री बुढा र प्रमुख पौडेलको मिलेमतोमा जुम्लाकी तारा बुढालाई सहजकर्तामा नियुक्त गरिएको हो। मन्त्री बुढाले पदको दुरुपयोग गर्दै भनसुनका आधारमा जागिर खुवाएका हुन्।

मन्त्रीको भनसुनका आधारमा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पौडेलले तारा बुढालाई नियुक्त गरेका हुन्। कर्मचारी आवश्यकताका लागि आवेदन आह्वान नै नगरी मन्त्रीको दवावमा ताराले घरेलु तथा साना उद्योग विकास समितिबाट सहजकर्ता पद्मा नियुक्ती पाएकी हुन्। आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चिने चटारो परेको कार्यालयले समेत विना प्रक्रिया मन्त्रीका आफन्तलाई जागिर दिएको हो।

मेडिकल क्षेत्र (एचए) अध्ययन गरेकी ताराले चालु आर्थिक वर्षका लागि घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालन हुने सीप विकास सम्वन्धी तालिममा सहजकर्ताको जिम्मेवारी पाएकी छन्।

घरेलु तथा साना उद्योग विकास समितिको सुर्खेत शाखाका अनुसार कार्यक्रम अवधिभरका लागि उनलाई करारमा नियुक्त गरिएको हो। तालिम सहजकर्ताको मासिक १८ हजार रुपैयाँ तलव हुन्छ। मन्त्रीकै भुनसुनका आधारमा उनलाई नियुक्त गरिएको स्रोत जानकारी दिएको छ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद पौडेलले सामान्य पद भएकाले आवेदन आह्वान नगरी कर्मचारी नियुक्त गरिएको बताए। ‘कार्यक्रम अवधीभरका लागि मात्रै कर्मचारी राखिएको छ’, उनले भने,‘कर्मचारी चाहियो भनेर खोजी गर्दा काम गर्ने इच्छा व्यक्त गरेर सम्पर्कमा आएकाले नियुक्त गरिएको छ।

उनीहरूका लागि आवेदन आह्वान नै गर्नुपर्ने अवस्था हुँदैन।’ उनले सीपमूलक तालिम सहजकर्ताका लागि आवेदन आह्वान गर्ने प्रावधान नभएको जिकिर समेत गरे।

घरेलुले दुई विधामा सहजकर्ता नियुक्त गर्ने गदर्छ। साना तथा घरेलु उद्योग वृद्धि गर्न समितिको कार्यालयका लागि र सरकारद्वारा सञ्चालित मेड्पा कार्यक्रमका लागि सहजकर्ता नियुक्त गर्छ। लघुउद्यम विकास (मेड्पा) का लागि समितिले परामर्श सेवा प्रदायक संस्था चयन गर्छ। संस्थामार्फत कार्यक्रममा आवश्यक पर्ने सहजकर्ता नियुक्त गरिन्छ।

घरेलु तथा साना उद्योग विकास समितिले भने सहजकर्ता नियुक्त गर्दा अनिवार्य प्रक्रियामा जानुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले बताए। ‘परामर्श सेवादायी संस्थाले आफै कर्मचारी नियुक्त गर्नुपर्छ’, उनले भने,‘कार्यालय सहजकर्ताका रुपमा घरेलुमा करारमा कर्मचारी राख्ने प्रावधान छ। विगतमा काम गरेको व्यक्ति भए करार थप गरेर पनि नियुक्त गर्न सकिन्छ। तर, नयाँ नियुक्ती गर्दा अनिवार्य प्रक्रियामा गएको हुनुपर्छ।’

उनले आवेदन आह्वान नै नगरी कर्मचारी नियुक्त गर्न नपाइने बताए। उनका अनुसार मेडिकल अध्ययन गरेको व्यक्ति भने उद्यम विकासका लागि नियुक्त गर्नु पनि गलत हो।

यता, मन्त्री बुढाले ताराका लागि घरेलुका प्रमुख पौडेललाई सहजकर्तामा जागिर दिन आग्रह गरेको स्वीकार गरेका छन्। ‘मेरो कुनै चिनजान छैन, अरु मार्फत कुरा आएकाले मैले जागिर दिन घरेलुमा भनिदिएको हुँ’, मन्त्री बुढाले भने,‘गतवर्ष क्षेत्रीय अस्पतालमा भन्दा भएन। राष्ट्रिय स्वयंसेवकमा पनि भएन। कतै जागिर नभएर बेरोजगार भएपछि यता मिलाइएको हो।’

मन्त्री बुढाले बेरोजगारलाई जागिरमा लगाइएको तर्क गर्दै आफूले गलत काम नगरेको दावी गरे। ‘जागिर गर्छु भनेर स्वीकार गरेपछि दिनैपर्‍यो। पढेकी उनले एचए हुन्, एसएलसी पासको प्रमाण पत्र पेश गरेकी छन्’ मन्त्री बुढाले प्रश्न गर्दै भने, ‘के उनले जागिरी गर्न नपाउने हुन् र?’

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्