पाँचथरका पत्रकारको आन्दोलनमा प्रहरीको अवरोध

फिदिम– पाँचथरका पत्रकारहरुको आन्दोलनमा स्थानीय प्रशासनले अवरोध गरेको छ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा बिहीबार धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको हो।

प्रशासनको गेट भित्र प्रवेश गरेर कार्यालयको मुल ढोकामा धर्ना दिन हिँडेका पत्रकारलाई जनपथ र सशस्त्र प्रहरीले धकेल्दै र ठेल्दै अवरोध गरेका थिए।

प्रहरी नायव निरीक्षक धिरज राई नेतृत्वको प्रहरी टोलीले माथिको आदेश भन्दै पत्रकारलाई रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले कोणसभा गरेका छन्।

जिल्ला प्रशासन परिषरमै आयोजित कोणसभामा महासंघका प्रदेश सदस्यहरु विपेन्द्र गौतम, गणेश साम्पाङ र जिल्ला अध्यक्ष लवदेव ढुंगानाले सम्वोधन गरे।

सम्वोधन गर्दै वक्ताहरुले दुई तिहाइको दम्भमा सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नगर्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए।

प्रहरी लगाएर पत्रकारलाई दमन गर्न खोज्नुले सरकार र प्रशासनको अलोकतान्त्रिक चरित्र झल्किएको पनि वक्ताहरुको भनाइ थियो।

लोकतन्त्र चोक नजिक नेपाल प्रेस युनियनको कार्यालयवाट शुरु भएको पत्रकारको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना र कोणसभा गर्दै सकिएको थियो।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्