कलैया मालपोतका सुब्बासहित पाँच जनाविरुद्ध मुद्दा

फाइल तस्बिर

वीरगञ्ज- मालपोत कार्यालय, कलैयाका तात्कालीन फाँटवाला नायव सुब्बा मदनप्रसाद गुप्तासहित पाँच जनामाथि अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

नासु गुप्तासहित उनका निजी ड्राइभर सुनिल कुमार पटेल, लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुब्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्तासहित ५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दर्ता गराएको हो।

गुप्ताले मालपोत कार्यालय,कलैयमा आर्थिक बर्ष २०७४/०७५मा पारित गरेका सक्‍कल लिखतहरु र सो सँग सम्वन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, राजश्व रसिदको कार्यालयप्रति समेतका महत्वपूर्ण कागजातहरु सम्वन्धित कार्यालयमा नबुझाएको देखिएको छ।

गुप्ताले मालपोत कार्यालयमा रहने कागजातहरु आफ्ना ड्रईभर पटेलको डेरामा लुकाई राखेको अवस्थामा अख्तियारकै टोलीले उनको डेराबाट विभिन्न कागजातहरु बरामद गरेको थियो।

नासु गुप्ताले आफू अन्य कार्यालयमा समेत सरुवा हुँदा बुझिलिएका राजश्व रसिद, निजले पारित गरेका सक्कलै लिखतहरु र सो सँग सम्वन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, समेत महत्वपूर्ण कागजातहरु कानून बमोजिम बरबुझारथ नगरी आफैसित लगेर राख्‍ने गरेका थिए।

उक्त कार्यमा उनका ड्राईभर पटेलले सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ वमोजिमको कसूर अपराधमा नायव सुब्बा गुप्ता,लेखापाल ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुब्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्ताबिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए।

यस्तै गुप्ताका निजी ड्राईभर पटेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम हुने सजायमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ वमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्