खाजा खर्च कटाएर विद्यार्थीलाई शिक्षकले किनिदिए पोशाक

दाङ– दाङको एक सामुदायिक विद्यालयका शिक्षकहरुले व्यक्तिगत खाजा खर्च कटाएर जम्मा भएको रकमले विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई पोशाक किनिदिएका छन्।

लमही नगरपालिका वडा नं. ४ मा रहेको जनज्योती आधारभूत विद्यालयमा कार्यरत ११ जना शिक्षकले गत बर्ष व्यक्तिगत खाजा वाफतको रकम कतौटी गरेर ५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक खरिद गरेर विद्यार्थीलाई प्रदान गरेका हुन्।

विद्यालयको बिहीबार सम्पन्न २८ औँ अभिभावक दिवसको अवसरमा १७ जना अति गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई पोशाक प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक गोपिलाल चौधरीले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवं लमही नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य काशिनाथ चौधरी, प्रसादी चौधरी, देवनारायण चौधरी, वडा कार्यालयका सचिव कल्पना खनाल लगायतको उपस्थिती रहेको थियो।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्