दाङमा करीब १८ सय फरार अपराधीको विवरण स्थानीय तहमा बुझाइयो

दाङ– दाङमा अदालतबाट दोषी ठहर भएका झण्डै १८ सय फरार अपराधीको सूची सार्वजनिक गरिएको छ।

जिल्ला अदालत दाङले २००८ देखि २०७५ सालसम्मका फरार अपराधीहरुको नामावलीसहितको सूची सार्वजनिक गरेको हो।

विभिन्न अपराधमा संलग्न भई कैद तथा जरिवानाकाे फैसला भएका तर फरार रहेका १ हजार ७ सय ९० जना अपराधी फरार सूचिमा रहेको तथ्यांक अदालतले सार्वजनिक गरेको हो।

कैद तथा जरिवाना फैसला भएका १ हजार ७ सय ७२ जना नेपाली र १८ जना विदेशी गरी १ हजार ७ सय ९० जना अपराधी फरार सूचिमा देखिएका छन्।

कैद सजाय तोकिएका २ सय ७९ नेपाली र ९ विदेशी रहेका छन् भने जरिवाना तोकिएका १ हजार ८५ नेपाली र ५ जना विदेशी छन्। यस्तै कैद तथा जरिवाना दुवै फैसला भएका ४ सय ८ नेपाली र ४ विदेशी रहेका छन्।

अदालतले २००८ सालदेखि हालसम्म फैसला भएका तर फरार रहेका अपराधीहरुको नामावली सहितको विवरण दाङका १० वटै स्थानिय तहहरुमा ठेगाना सहित पठाएको फैसला कार्यान्वय अधिकारी वसन्तराज जोशीले जानकारी दिए।

यसैबिच चालू आर्थिक वर्षमा फैसला कार्यान्वयनका लागि प्रहरी र अदालतले ५७ जना अपराधीलाई पक्राउ गरेको छ। उनिहरुबाट ६७ वर्ष १ महिना २६ दिन कैद र १५ करोड ९१ लाख ९५ हजार १ सय २४ रुपैयाँ जरिवाना संकलन भएको फैसला कार्यान्वयन अधिकारी जोशीले जानकारी दिए।

यसैबीच स्थानीय तहहरुलाई पठाईएको विवरण अनुसार उनिहरुलाई कुनै पनि सेवा सुविधा पाउनुपूर्व सजाय भुक्तानका लागि सहयोग गर्न अदालतले आग्रह गरेको छ। दोषीलाई सजय नदिई कुनै सेवा सुविधा दिईएको पाइएमा सेवा दिने जनप्रतिनिधी र कर्मचारीलाई कारबाहीको व्यवस्था रहेको समेत कानुनमा उल्लेख छ।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्