महानिर्देशक आक्रामक, छवि सुधार्दै वैदेशिक रोजगार विभाग

काठमाडौँ– राजश्व, मालपोत जस्तै आर्थिक चलखेल हुने कार्यालयका रुपमा कुनै समय परिचित थियो वैदेशिक रोजगार विभाग। यहाँ जान कर्मचारीहरु सोर्स–फोर्स नै लगाउँथे।

केही समय पहिले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत एक जना नायव सुब्बाले श्रम मन्त्रालयका सहसचिवलाई फोन गरेर भने, ‘दाई मलाई वैदेशिक रोजगार विभागमा तानिदिनु पर्‍यो।’ उनले जवाफ फर्काए, ‘तिमिले सोचेजस्तो छैन अहिले विभाग।’

उनीहरुको संवादबाट प्रस्ट अड्कल काट्न सकिन्थ्यो विगत र अहिले वैदेशिक रोजगार विभागको अवस्था फरक छ भनेर। धेरै भएको छैन, विभागका महानिर्देशक सहित दर्जनौं कर्मचारी घुस रकमसहित पक्राउ परेको। घुससहित विभागका कर्मचारी पटकपटक पक्राउ परेका छन्।

महानिर्देशक नै घुसमा लागेको खुलेपछि विभागका कर्मचारीमा श्रम मन्त्रालयले निगरानी बढायो। कर्मचारी हेरफेर गरियो। त्यसपछि पनि विभागमा छिटफुट आर्थिक चलखेल चलि नै रह्यो।

एकातिर आर्थिक चलखेल, अर्कोतर्फ ठगी गर्ने म्यानपावर कम्पनीमाथिको कारबाही भने कमजोर। यही क्रम चलिरहेको थियो, त्यसपछि वैदेशिक रोजगार विभागले दुई जना महानिर्देशक फेर्‍यो। तर कामदारले न्यायको महसुस गर्ने गरी काम भएन । न त म्यानपावर व्यवसायीको हालिमुहालि नै कम भयो।

डा. भिष्मकुमार भुसाल वैदेशिक रोजगार विभागको महानिर्देशकका रुपमा आएको एक महिना पूरा भएको छ। यो एक महिनामा विभागले केही सुधारका संकेत देखाएको छ।

एक महिनामा सात म्यानपावरमा छापा

वैदेशिक रोजगार विभागको जिम्मेवारी सम्हालेपछि महानिर्देशक भुसालले सबै क्षेत्रका प्रतिनिधिसँग छलफल गरे। छलफलमा सबैलाई भने, ‘अब तपाईहरु सुध्रनुस्, यो पेसालाई सम्मानित बनाउँ।’

यो एक महिनामा विभागको अभिलेख व्यवस्थापन, सुचना प्रणालीलाई व्यवस्थित गरिएको महानिर्देशक भुसालको भनाइ छ।

यस्तै विभागले कार्यालयमै निशुल्क उजुरी लेखिदिन थालेको छ। यसले गर्दा पीडितका सूचना चुहिने समस्या नरहने महानिर्देशक भुसालले बताए। यस्तै लामो समयदेखि ठप्प रहेको म्यानपावर कम्पनीको अनुगमन थालेको छ। यो एक महिनामा विभागले सात वटा म्यानपावर कम्पनीमा अनुगमन गरेको छ। अनुगमनका क्रममा कागजात जफत गरिएको र अनुसन्धान भइरहेको विभागले जनाएको छ।

महानिर्देशक भुसालले विभाग अन्तर्गतका सबै कर्मचारीहरुलाई भेला गरेर एक दिने प्रशिक्षण कार्यक्रम नै राखेका थिए। त्यसक्रममा उनले विभागको बिग्रँदो छवि सुधार्न गर्नु पर्ने काम देखि कर्मचारीको आचरण्ण समेत सुधार्नु पर्ने खाँचो देखिएको भन्दै त्यही अनुसार सेवाग्राहीसँग व्यवहार गर्न भनेका थिए।

यस्तै विभागलाई सुधार्ने गरी काम गर्न केही नीति निर्माण र कार्यविधिमा समेत परिवर्तन गर्न आवश्यक देखिएकाले त्यसका लागि काम गरेको भुसालले बताए। तर यी कार्यविधिहरु पारित गर्न बाँकी नै रहेको छ।

महानिर्देशक भुसाल भन्छन्, ‘वैदेशिक रोजगार विभागमा आइसकेपछि सेवा ग्राहीले म सुरक्षित ठाउँमा आएको फिल गर्नुपर्यो। म्यानपावर व्यवसायीले पनि हामीलाई पनि नियमन गर्ने निकाय छ भनेर सोच्ने हुनु पर्यो। हामी म्यानपावर व्यवसायीलाई कारबाही मात्रै गर्दैनौं, आवश्यक परेको खण्डमा सहयोग पनि गर्छौं।’

तर अनुगमनका क्रममा भने म्यानपावर व्यवसायीले कामदारसँग लिएको रकम लुकाउने गरेको कामदारका पासपोर्ट कब्जा गरेको र मलेसियाको रोजगारकिा ालागि भन्दै पासपोर्ट संकलन गरिरहेको पाइएको बताए।

महानिर्देशक भुसालले भने, ‘विभागले गर्नु पर्ने धेरै देखेको छु। वैदेशिक रोजगार विभागमा काम गर्नु भन्दा नाक खुम्च्याउनु पर्ने अवस्थाको अन्त्य गर्छु। कर्मचारीले ढुक्कका साथ यहाँ काम गर्छु भन्ने र व्यवसायीले पनि वैदेशिक रोाजगार व्यवसायी हुँ भनेर मर्यादित पेशाका रुपमा लिने वातावरण बनाउन आवश्यक छ। म त्यसका लागि काम गर्दैछु।’

 

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्