जिउँदै जलाइएका यी महिलाहरु

सांकेतिक तस्बिर

काठमाडौं– गत बैशाखको दोस्रो साता सिरहामा २१ वर्षीया महिला कन्चन मन्डललाई उनकै श्रीमानले आगो लगाए। कन्चनको ८० प्रतिशत शरिर जलेको अवस्थामा उपचार सुरु भयो।

घटनाको केही दिनपछि ती महिलाको काठमाडौंमा उपचारका क्रममा निधन भयो। आगो लगाएर फरार भएका बेचन मन्डल पक्राउ परे। अनुसन्धानपछि प्रहरीको निष्कर्ष थियोे–भाउजूसँगको अनैतिक सम्बन्धलाई लुकाउन बेचनले श्रीमतीलाई जिउँदै आगो लगाएका थिए।

विज्ञापन

वैशाखको पहिलो साता धनुषामा एक महिलालाई उनकै श्रीमानले जलाएर हत्या गर्ने प्रयास गरेका थिए।

धनुषाको शहिद नगरपालिकाकी २० वर्षीया निर्मला यादबलाई उनका श्रीमान मुकेश यादबले मट्टितेल छर्केर आगो लगाएका थिए। काठमाडौंमा उपचारका लागि ल्याइएकी निर्मला मृत्युको मुखबाट जोगिइन् तर शरिर र रुप पहिलाको जस्तो रहेन।

गत फागुनमा सप्तरीमा एक वृद्ध दम्पती सुतिरहेको कोठामा जलेको अवस्थामा भेटिएका थिए।

बिहान छिमेकीले कोठा खोलेर हेर्दा दम्पती खरानी भइसकेका थिए। प्रहरीले कर्तव्य ज्यान मुद्धामा घटनाको अनुसन्धान गरिरहेको छ। घटनाका आरोपी खुल्न सकेका छैनन्। खड्ग नगरपालिका–५ खरचुहियाका ७० वर्षीया सबुरी शाह र उनकी पत्नी ६५ वर्षीया बेचनी देवीलाई कपडामा छोपेर आगो लगाईएको प्रहरीको निष्कर्ष थियो।

आगो लगाएर मार्ने वा मार्ने प्रयासका घटना अधिकांश घरेलु हिंसाका रुपमा देखिने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन्। ‘ यो  कसैसँगको वितृष्णा वा असन्तुष्टिको डरलाग्दो रुप हो। त्यो अवस्थामा अपराधीले आफ्नो अनुकूल परिस्थितिलाई हेर्छ’, धेरै जिल्लाको प्रहरी प्रमुख भएर समेत काम गरिसकेका पोखरेल भन्छन्।

चालु आर्थिक वर्षमा देशभर ६ जनाको जलाएर हत्या गरिएको छ। यसरी मारिएकामा पाँच जना महिला छन्। यी घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच पुरुष र एक महिलालाई पक्राउ गरेको छ।

गत आर्थिक वर्षमा देशभर ८ जनाको जलाएर हत्या भएको थियो। मारिनेमा चार महिला र चार पुरुष थिए। यी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ पुरुष र चार महिलालाई पक्राउ गरेको थियो। यीमध्ये काठमाडौं उपत्यकामा एक महिला र एक पुरुषको पनि जलाएर हत्या गरिएको थियो। आर्थिक वर्ष ०७३/७४ मा देशभर जलाएर पाँच पुरुष र तीन महिलाको हत्या भएको थियो। यीमध्ये प्रदेश–२ मा मात्र चार पुरुष र एक महिला थिए।

मुस्लिमको बाहुल्य रहेको बाँके आगो लगाएर मार्ने प्रयासका घटना धेरै हुने जिल्लामा पर्छ। २०७१ जेठ ६ गते बाँकेको जयसपुरका सद्याम सल्मानीले दाइसँगको रिसमा भाउजु चन्दा सल्मानी, भतिजा र भतिजीलाई जलाए। तीनै जनाको उपचारका क्रममा काठमाडौंमा निधन भयो। सद्याम डोल्पामा दाजुसँगै फर्निचरमा काम गर्थे। सोही वर्षको असोजमा बाँकेको इन्द्रपुरका पवन नाउले श्रीमती पुजादेवी र खासकारदोका गयाप्रसाद धोवीले श्रीमती हेमकुमारीलाई आगो लगाएका थिए।

२०७३ सालमै बर्दियामा आमा र दाइ मिलेर शिवा हासमीलाई आगो लगाए। प्रेम गरेको थाहा पाएपछि जलाइएकी हासमीको उपचारका क्रममा मृत्यु भएको थियो। २०७१ चैतमा बाँकेको लक्ष्मणपुरमा रिहाना ढपालीलाई दाईजोमा मोटरसाइकल र भैँसी नल्याएको भन्दै श्रीमान फरिदले आमासँग मिलेर आगो लगाए।

उपचारका लागि काठमाडौं ल्याइएकी रिहान मृत्युको मुखैबाट जोगिइन्। रिहानलाई जलाउने उनका श्रीमान र सासु अझै फरार छन्। सोही वर्ष बाँकेमै हासरुन इद्रिसीलाई उनको श्रीमानले जिउँदै जलाए। उपचारपछि उनको ज्यान बच्यो। ज्यान मार्ने उधोगमा पक्राउ परेका इद्रिसीका श्रीमान चार वर्ष जेल बसेर छुटे। जेलबाट निस्किएका श्रीमानसँग इद्रिसीको पछि पुर्नमिलन भयो।

पुर्व नायब महानिरिक्षक-डीआईजी हेमन्त मल्ल प्राय परिवारभित्रै हुने घटना भएकाले ‘बेनिफिट अफ डाउट’ बढी हुने भएकाले अपराधीले आगो लगाउन खोज्ने बताउँछन्। ‘यस्ता अपराधमा प्रमाण मेटिन सक्छ भन्ने अपराधीको तत्कालको मनोविज्ञान पनि हुन सक्ने देखिन्छ’, उनी भन्छन्।

यस्ता अपराधमा पिडितको मृत्यु क्रुर हुने गर्दछ। बाँच्नेहरु पनि जिवनभर शारिरिकरुपमा कुरुप बन्न  पुग्छन्। ‘एकैपटक मरिहाल्ने हुन्न। मृत्यु हुनेहरुले निकै पिडा पाउँछन्। अपराधीको उद्देश्य मार्ने नै हुन्छ’, पुर्व डीआईजी मल्ल भन्छन्।

एसिडको जलन

बुधबार साँझ राजधानीमा विष्णु भुजेलले एक वर्षयता आफुसँग छुट्टिएर बसेकी कान्छी श्रीमती जेनी खड्कालाई एसिड प्रहार गरे।

जेनीको अनुहारको एक भाग, छाती पुर्णरुपमा जलेको बताइएको छ। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकले जेनी खतरामुक्त नरहेको बताएका छन्। घटनाको केही घन्टामै प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको थियो। विष्णुले आफुसँग नबसेको रिसमा एसिड प्रहार गरेको प्रारम्भिक बयान दिएका छन्। ६ वर्ष अघि उनले जेनीलाई भगाएर विवाह गरेका थिए। जेनी पछिल्लो समय काठमाडौंको कालोपुलस्थित माइतीमै बस्दै आएकी थिइन्।

गत भदौमा रौतहटको चन्द्रपुर नगरपालिकाका दुई जना दास दिदी बहिनीलाई रातको समयमा सुतिरहेको बेला एसिड प्रहार भयो। एसिडले दिदी १८ वर्षीया सम्झनाकुमारीको अनुहारलगायत अधिकांश भाग जलेको थियो। कीर्तिपुर अस्पतालमा भएको उनको उपचार सफल हुन सकेन। घटनाको करिब दुई सातामा उनको मृत्यु भयो। १५ वर्षीय बहिनी सुस्मिता कुमारीको ज्यान जोगिएपनि उनको पनि केही भाग जलेको थियो।

घटनाको ६ दिनपछि प्रहरीले एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको थियो। चार वर्षअघि राजधानीको बसन्तपुरमा एक युवकले दुई छात्रालाई एसिड प्रहार गरेका थिए। एसिड लागेर संगिता मगर र सिमा बस्नेत गम्भिर घाइते भएका थिए।

एसएलसीको तयारीका लागि ट्युसन पढिरहेको समयमा ती दुई छात्रालाई एकाबिहानै एसिड प्रहार भएको थियो।

घटनाको करिब दुई सातापछि प्रहरीले संगिता बसेकै घरमा डेरा गरी बस्ने जिवन बिकलाई सार्वजनिक गर्‍यो। संगितासँगको सम्बन्ध बिग्रिएपछि जिवनले एसिड प्रहार गर्ने निर्णय लिएको प्रहरी निष्कर्ष थियो। प्रहरी अधिकारीहरु एसिड आक्रामणमा ज्यान मार्नेभन्दा पनि पिडा दिने र कुरुप बनाउने नियत बढी हुने बताउँछन्। पछिल्ला पाँच वर्षमा देशभर १५ जनालाई एसिड प्रहार भएको छ। जसमा १२ जना महिला थिए। ती घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ जना पुरुष र एक जना महिला संलग्न भएको पहिचान गरेको थियो।

यी घटनामा पिडित दुई जनाको ज्यान गएको थियो। १२ वटा घटनामा ज्यान मार्ने उद्योग  र एउटा घटनामा केही सार्वजनिक अपराधको मुद्धा चलाइयो। चालु आर्थिक वर्षमा मात्र एसिड प्रहारका चार वटा घटना भएका छन् यी सबै घटनामा महिला नै पिडित भए। एक जनाको भने ज्यान गएको थियो। पूर्व डीआईजी मल्ल एसिड आक्रमणलाई ‘हेट क्राइम’का रुपमा ब्याख्या गर्छन्। ‘ मार्छे मार्नेभन्दा पनि कुरुप बनाउने मनोविज्ञानबाट यो अपराध भएको देखिन्छ’, उनि भन्छन्। मल्लकै भनाईमा सहमत छन् प्रवक्ता पोखरेल पनि।

भन्छन्,  ‘कसैप्रतिको क्रेजको आक्रोश हो यो। कसैप्रति बढी आसक्ति भएमा र त्यो आफ्नो नभएको अवस्थामा यस किसिमका अपराधहरु हुने गरेको देखिन्छ।’

सजाय कडा तर अपराध घटेन

आगो लगाएर होस् वा एसिड प्रहार गरेर, पीडितको ज्यान गए पीडकले आजिवन जेल बस्नुपर्ने कानुनी ब्यवस्था छ।

कानुनले यसरी हुने हत्यालाई क्रुर हत्याका रुपमा परिभाषित गर्दै अपराधीले जीवनभर जेल बस्नुपर्ने व्यवस्था गरेको छ।

आगो लगाएर मार्ने प्रयास भएपनि ज्यान बचे पीडकलाई ज्यान मार्ने उद्योगको मुद्दा लगाइने गरिएको छ। यता एसिड आक्रमणका घटनामा अपराधीलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्