बेगुसरायको जातीय राजनीति, जित्लान् त कन्हैया कुमारले?

कन्हैया कुमार

एजेन्सी– भारतको बिहार गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्यासँग जुधिरहेको राज्य हो। अहिले भारतमा भइरहेको लोकसभा चुनावमा बिहारको बेगुसराय जिल्ला राष्ट्रिय राजनीतिको चर्चामा छ। यसअघिका निर्वाचनमा खासै चर्चामा नरहेको बेगुसराय निर्वाचन क्षेत्र यसपटक भारतमा राष्ट्रिय वहसको विषय बनिरहेको छ।

बेगुसराय यसरी तात्नुको प्रमुख कारण हो- भारतीय कम्युनिष्ट पार्टी (सिपीआई) को तर्फबाट लोकसभा उम्मेदवार बनेका कन्हैया कुमार। यसपटकको लोकसभा निर्वाचनमा बेगुसरायबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे कट्टर विरोधीकाे छवि बनाएका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमार चुनावी मैदानमा उत्रिएका छन्।

उक्त निर्वाचन क्षेत्रमा गत महिना अप्रिल २९ मा भएको चौथो चरणको निर्वाचनमा मतदान सम्पन्न भइसकेको छ। देशद्रोहको मुद्दा खेपिरहेका कन्हैया कुमार लोकसभा चुनावमा विजयी बन्छन् कि बन्दैनन् भन्ने आगामी मे २३ मा सार्वजनिक हुने मत परिणामबाट थाहा हुनेछ। तर कन्हैया कुमारकै कारण बेगुसरायको चर्चा भारतभर चुलिएको  भने नजरअन्दाज गर्न सकिँदैन।

उनको चुनावी अभियानमा यस्ता व्यक्तिसमेत जोडिएका छन् जसले यसभन्दा पहिले कहिल्यै बिहारमा पाइला टेकेका थिएनन्। यति मात्रै होइन, विदेशी अनुसन्धाता समेत उनको चुनावी अभियानलाई नजिकबाट नियाल्न बेगुसराय पुगेको बताइएको छ।

बेगुसरायमा कन्हैया कुमारसँगै भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार गिरीराज सिंह र राष्ट्रिय जनता दल (आरजेडी) का उम्मेदवार तनवीर हसन पनि चुनावी मैदानमा छन्। तीनै जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताइए पनि कन्हैया कुमार र आरजेडीका तनवीर हसनबिच प्रतिस्पर्धा हुने र त्यसको फाइदा भाजपाका गिरीराज सिंहलाई पुग्ने विश्लेषण हुने गरेको छ। तर कन्हैयाले आफ्नो प्रतिस्पर्धा तनवीरसँग नभई भाजपासँग हुने दावी गर्दै आएका छन्।

बेगुसरायमा सन् १९८० देखि २०१४ सम्म दश पटक लोकसभा निर्वाचन भएका छन्। पछिल्ला दश लोकसभा निर्वाचनको इतिहास हेर्दा यहाँको राजनीतिमा कुनै न कुनै रुपमा जातिय राजनीति र भूमिहारको मुद्दा हावी भएको देखिन्छ। राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने यहाँको भूमिहार जातिको निर्णायक भूमिका रहँदै आएको छ। कन्हैया कुमार र भाजपाका उम्मेदवार गिरीराज सिंह दुवै जना एउटै समुदायका हुन्। दुवै जना भूमिहार जातिबाट भएको हुँदा भोट बाँडिनसक्ने कतिपयले बताउँदै आएका छन्।

भाजपाका गिरीराज सिंह मोदिका कट्टर समर्थक हुन् भने कन्हैया कुमार मोदीका घोर विरोधी।

२०१४ को लोकसभा चुनावमा उक्त निर्वाचन क्षेत्रबाट भाजपाका भोला सिंह विजयी भएका थिए। कुल १७ लाख ७८ हजार ७ सत ५९ मतदाता रहेको उक्त क्षेत्रमा  भोला सिंहले ४ लाख २८ हजार भोट प्राप्त गरेका थिए भने आरजेडीका तनवीर हसनले ३ लाख ७० हजार भोट पाएका थिए। यी दुई उम्मेदवारकाबिच ५८ हजार मतको अन्तर रहेको थियो। उक्त चुनावमा सिपीआईका राजेन्द्र प्रसाद सिंहले करिब १ लाख ९२ हजार मत पाएका थिए।

सुरुमा राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले कन्हैया कुमारलाई साझा उम्मेदवार बनाउने बताइएको थियो। तर महागठबन्धनले उम्मेदवार नबनाएपछि उनी भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) बाट लोकसभा उम्मेदवार बनेका हुन्।

को हुन कन्हैया कुमार?

कन्हैया कुमारको जन्म सन् १९८७ को जनवरीमा बिहारको बेगुसराय जिल्लामा भएको हो। उनको विद्यालय शिक्षा बरौनीकाे आरकेसी हाईस्कुलमा भएको थियो। स्कुले जीवनमा उनको रुचि अभिनयमा थियो। त्यतिबेला उनी इन्डियन पिपुल्स थियटर एशोसिएशनका सक्रिय सदस्य समेत थिए।

सन् २००२ मा उनी पटना कलेज अफ कमर्समा भर्ना भए। जहाँबाट उनको विद्यार्थी राजनीतिको सुरुवात भयो। पटनामा अध्ययनको क्रममा उनी भारतीय कम्युनिष्ट पार्टी (सिपीआई) को विद्यार्थी संगठन अल इन्डिया स्टूडेन्ट फेडरेशनका सदस्य बने।

पटनाबाट स्नातकोत्तरको पढाई सकेपछि उनी सन् २०१५ मा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा अफ्रिकन स्टडिजमा पिएचडिको लागि भर्ना भए। सन् २०१५ मा कन्हैया कुमार जेएनयूको विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका थिए। उनी एक उत्कृष्ट वक्ताको रुपमा चिनिन्छन्। उनको भाषण कलाले नै उनले जेएनयूमा चुनाव जितेको विश्लेषण गर्ने गरिन्छ।

भारतीय संसदमा हमलाको आरोपमा दोषी ठहर मोहम्मद अफजल गुरुलाई फाँसीको सजाय दिइएको विरोधमा सन् २०१६ को फेब्रुवरीमा जेएनयूमा एक र्‍यालीको आयोजना गरिएको थियो। उक्त र्‍यालीमा राष्ट्रविरोधी नारा लगाएको आरोपमा कन्हैया कुमारमाथि देश द्रोहको मुद्दा दायर गरिएको थियो। त्यतिबेला उनलाई दिल्ली पुलिसले गिरफ्तार गरेको थियो।

उनी २ मार्च २०१६ मा धरौटिमा रिहा भएका थिए। पुलिसले राष्ट्रविरोधी नारा लगाएको प्रमाण पेश गर्न नसकेपछि उनी धरौटीमा रिहा भएका हुन्। यद्यपी उनीमाथिको देश द्रोहको मुद्दा अहिले पनि जारी छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्