प्रभावमा परेर बिहे गर्दा…

फाइल तस्बिर

दोलखा-दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्‍ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा  पुगेकी छिन् । पाँच वर्ष अघि बिहे गर्दा उनलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन।

पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उनी श्रीमान् छाडेर माइतीसँग बस्दै आएकी थिइन्। बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्‌ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उनले सुख पाएन।

बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो। साँझ अन्दाजी ७:३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते भइकी छिन्।

उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिडले उनको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ। भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ।

उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ। मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताइन्।

आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो। तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थालेको बताइन्।

बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्