सुदूरपश्‍चिम प्रदेश सरकारले सुनायो आगामी वर्षको नीति, कार्यक्रम र बजेटको सिद्धान्त

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेको छ।

बिहीबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता सहितको दस्तावेज प्रस्तुत गरेका हुन्।

दस्तावेज प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी आर्थिक बर्षको विनियोजन विधेयक नेपालको ंसंविधानमा उल्लेखित मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा निर्देशित रहने बताए। बजेटका सिद्धान्तमा प्रदेशमा सवल र सक्षम अर्थतन्त्रको आधारशिला तयार गर्न संविधानले व्यवस्था गरेका राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुको परिपालना गरिने उल्लेख छ।

मन्त्री बोहराले खुला, स्वस्थ र प्रतिस्पर्धी बजार अर्थतन्त्रको सुदृढीकरणबाट उत्पादन, उत्पादकत्व, उद्यमशीलता र प्रविधिलाई प्रोत्साहन गर्दै स्वतन्त्र समृद्ध, र सरल अर्थतन्त्र निमार्ण गरिने बताए।

प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको निमार्ण गर्ने, कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, दिगो आर्थिक वृद्धि गर्ने र पिछडिएको वर्गलाई सामाजिक न्याय सहितको सुरक्षा प्रदान गर्ने लक्ष्य निर्धारण गरेको छ। प्रदेशका नागरिकलाई स्वआर्जनतर्फ उन्मुख गराई बेरोजगारी अन्त्य गर्ने उद्देश्य समेत बजेटले लिएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए।

गरिबीबाट आक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने गरी गरिबी न्यूनिकरण लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ। स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारी तथा स्वरोजगारी मार्फत आयआर्जन वृद्धि गर्ने, यातायात, सञ्चार, खानेपानी, विद्युतीकरण, लगायतका आधारभूत विकासको पहुँच प्रदेश भरी पुर्‍याउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको मन्त्री बोहराले सभामा जानकारी दिए।

शिक्षा, स्वास्थ्य तथा मानव विकास सूचकांकमा समेत पछि परेका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिने समेत मन्त्री बोहराले बताए।

पूर्व बजेट छलफलका लागि मन्त्री बोहराले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिहरुले आगामी आर्थिक बर्षको बजेटको प्रारम्भिक रुप सार्वजनिक गरेको छ। मन्त्री बोहराले प्रस्तुत गरेको दस्तावेजमा प्राथमिकताहरुको आधारमा नै प्रमुख नीतिहरु रहने उल्लेख गरिएको छ।

प्रदेश सभामा पूर्व बजेट छलफल जेठ ६ गतेदेखि शुरु हुने सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभालाई जानकारी दिए।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्