रातो मछिन्द्रनाथ जात्राको विशेष दिन

महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या

लुभू सानागाउँकी मंगलमाया तुलधर शुक्रबार बिहानै चार बजे घरबाट निस्केकी हुन् । उनी गाउँका दिदी बहिनीको साथ लागेर बिहानको पाँच बज्नै लाग्दा लगनखेल आइपुगिन् ।

ठटी चोकबाट झण्डै दुई सय मिटर दक्षिणतर्फ रहेको रातो मछिन्द्रनाथको रथलाई दर्शन गरिन् । त्यसपछि रथको लट्ठो समातेर बसिन् । मंगलमाया जस्तै अरु महिला पनि थिए, जो रथलाई दिशा दिनका लागि तान्न बाँधिएको लट्ठो समातेर लामबद्ध थिए ।

बिहानै सानागाउँबाटै कम्मर कसेर आएको बताउने ५० वर्षे मन्दिरा तुलाधर जोश युक्त थिइन् । पहिलो पटक मन्द्रिनाथको रथ तान्न लाइनमा बसेकी उनलाई निर्देशनको मात्रै खाँचो छ जस्तो देखिन्थ्यो । देउताको बहान तान्ने बल जुटाएकी रहिछन् उनले केही दिनदेखि । ‘यसपटक त जसरी पनि रथ तान्छु भन्ने थियो, तयारी अवस्थामा छु’ रथ तान्न परिवेश मिलाउँदै गरेका पूजारीबाट आँखा नहटाइ उनले भनिन् ।

लगनखेलकी सुनकेसरी धजूलाई महिलाले मात्रै एक दिन मछिन्द्रनाथको रथ किन तान्छन् या तान्न दिइन्छ ? थाहा छैन । तर उनी लट्ठो समातेर लाइन् बसेकी थिइन् । उनलाई अरुले तानेको हेर्दा भन्दा आफैले तान्दाको अनुभव लिनु थियो ।

साढे पाँच बज्दै लाग्दा पूजारीले खड्ग र चमर रथमा ल्याए । त्यसपछि एक युवा रथको सबैभन्दा अघिल्लो भागमा पुगे । मालामा सजिएका र अबिरले रंगिएका उनी ‘हपा बिहु’ हुन् । हपा बिहु अर्थात निर्देशन दिने मान्छे । हपा बिहुले रथ छान्न तयार रहेकाहरुलाई निर्देशन दिने र त्यसको तालमेल मिलाउँछन् ।

लट्ठो समातेर लाइनमा रहेका महिलाहरुले हपा बिहुलाई हेरिरहेका थिए । केहीबरेमा उनले ‘होस्टे’ भने, लामबद्ध महिलाले ‘हैँसे’ फर्काए । होस्टे–हैँसेको आजाव गुन्जियो केही बेर अनि रथ अघि बढ्यो । महिलाहरुले तानेको रथ जात्रा हेर्न पुग्ने महिला मात्रै थिएनन् तर आत्मसन्तुष्टिको भाव भने दर्शक महिलाहरुको अनुहारमा पनि स्पष्ट थियो ।

होस्टे–हैँसे र त्यसपछिको सामूहिक बलमा तानिएको डोरीको सारमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ लगनखेलको ठटी चोक आइपुग्यो ।
रथ तान्न सुरु गर्दा पूर्वबाट उज्यालो हुँदै थियो । झण्डै दुईसय मिटरको दूरी पार गर्दा घामले पूर्ण आकार लिएर निधारका पसिना ढिक्कामा ठोक्कियो । अघिसम्म रथ तानिरहेका महिलाहरुले रथलाई फेरि एकपटक दर्शन गरे । अनि मुस्कुराउँदै प्रसाद ग्रहण गरेर बिस्तारै लाखापाखा लाग्दै गए ।

यस्तो छ मान्यता


कााठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रको सहभागिता रहने जात्रा हो रातो मछिन्द्रनाथ जात्रा । महिना दिनसम्म चल्ने जात्रामा काठमाडौँ, झक्तपुर तथा पाटनसहितका मुख्य क्षेत्रका लागि विशेष दिन छुट्याइएको हुन्छ ।

रथ लगनखेलमा पुगेपछि साइत हेरर नरिवल खसाल्ने जात्रा गरिन्छ । यसको अर्थ रथ जात्रा अब सकिने बेला हुन लाग्यो । मान्यता अनुसार नरिवल खसाल्ने जात्रा भइसक्दा पनि लगनखेलकी एक महिलाले जात्रा हेर्न नपाएको या सहभागी हुन नपाएपछि उनका लागि विशेष व्यवस्था गरिको जात्रा हो, महिलाले मात्रै रथ तान्ने जात्रा।
अरु बेला बेलुकामा तानिने रथ नरिवल खसालेको भोलिपल्ट बिहानै तानिन्छ । किम्बदन्ति अनुसार जात्रा मनाउन नपाएकी एकल महिलाका लागि बिहानै महिलाले मात्रै रथ तान्ने व्यवस्था गरि जात्रामा सहभागी गराइएको रातो मछिन्द्रनाथ मन्दिरका पूजारीहरुको समूह (३२ पानेजु) का सचिव विनोद बज्राचार्यले बताए ।

यो दिनको जात्रालाई याकमिसा भूज्या अर्थात एक्लो महिलाले रथ तान्ने जात्रा भन्ने गरिन्छ । रातो मछिन्द्रनाथ जात्रा बारेका जानकार खोकनाका मोहनकृष्ण महर्जनका अनुसार पहिले एकल महिलाले मात्रै रथ तान्ने परम्परा थियो । तर अहिले भने सबै महिलाले रथ तान्छन् ।

उनले भने, ‘यो महिलाका लागि मात्रै विशेष रुपमा छुट्याइएको जात्रा हो । पहिले एकल महिलाले मात्रै तान्नु पर्ने मान्यता थियो । तर अहिले सबै महिलाले तान्छन् ।’

यसरी जात्रा अन्तिम चरण पुगेको वा भगवानलाई समेत थकाई लाग्दासम्म पनि जात्रामा सहभागी हुन नपाएकी महिलालाई पनि सामेल गराउने जात्राका रुपमा लिइन्छ ज्याक मिसा भुज्यालाई ।

तर २०७२ सालदेखि रथ निर्माण कार्यमा संलग्न हुँदै आएका र रहेक वर्ष जात्रामा सक्रिय सहभागिता जनाउने पाटनढोकाका लुसन डंगोल भने याक मिसा भुज्यालाई किम्बदन्तिसँग मात्रै नभएर महिलाप्रतिको सम्मानका रुपमा लिनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘यो बिहानको जात्राले महिलाको शक्तिलाई सम्मान गरेको जस्तो लाग्छ ।’

त्यसपछि…


महिलाले तानेर ठटी चोकसम्म ल्याएपछि रथमा रहेका भगवानलाई केही दिन आरा मगर्न दिने चलन छ । लामो यात्राका कारण रातो मछिन्द्रनाथ थाकेकाले याक मिसा भुज्यापछि रथलाई ठटी चोकमै रोकेर आरामका लागि समय दिने चलन रहेको मोहनकृष्ण महर्जनले बताए ।

उनका अनुसार ठटीचोकमा रहेका आराम गरेका भगवान मान्छेको रुप लिएर कीर्तिपूर घुम्न गएको र त्यहाँ एक महिलासँग रंगरस गरिरहेका बेला स्थानीयले देखेपछि थुनेर राखेको किम्बदन्ति छ । साइत हेरेर फेरि रथ तान्न खोज्दा भगवान नदेखिएपछि तान्त्रिकले हेर्दा मान्छेको रुपमा कीर्तिपुरमा थुनिएको अवस्थामा देखिएको र त्यसपछि कीर्तिपुरसँग वार्ता गरि क्षमा पूजा गरेर भगवानलाई रथमा ल्याउने गरेको मान्यता छ ।

महर्जनले भने, ‘ठटीचोकदेखि ज्याउलाखेलसम्म कीर्तिपुरकाले मात्रै रथ तान्छन् । उनीहरुले कीर्तिपुर नै लैजाने प्रयास गर्छन् । पाटनकाले रथलाई खाल्डोमा पारिदिएपछि ज्याउलाखेलमै रथ रोकिन्छ । त्यसपछि साइत हेरेर भोटो देखाउने जात्रा हुन्छ ।’

सबै तस्बिरहरुः सुलभ श्रेष्ठ/देश सञ्चार