गाउँ सहर जोड्न ‘कनेक्टिङ रोड’

पोखरा जोड्ने २७ सडकको एकसाथ ठेक्का सम्झौता

फाइल तस्बिर

पोखरा – ग्रामीण इलाकासहित मुलुककै ठूलो महानगर बनेको पोखराका सबै वडालाई केन्द्रसँग जोड्ने कनेक्टिङ रोडको अवधारणालाई बहुवर्षीय आयोजनामा सम्पन्न गरिने भएको छ ।

महानगरबाट विनियोजिन चालु आव २०७५/०७६ मा ४० करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारद्वारा विनियोजित २ करोड रुपैयाँ बजेट छ ।

उक्त बजेटसहित महानगरले बहुवर्षीय योजना अन्तर्गत १ अर्ब १६ करोड ६६ हजार ५८ हजार लागत इस्टिमेट सहितको टेन्डर आह्वान गरेको थियो ।

टेन्डरमार्फत निर्माण गर्ने कम्पनी (ठेकेदार)को समेत महानगरले टुंगो लगाइसकेको छ । सबैजसो सडकको लागत इस्मिेटभन्दा झन्डै ३५ देखि ४० प्रतिशतसम्म घटेर ठेक्का सम्झौता भएका छन्।

चालु आवको मात्रै बजेटले नथेग्ने हुँदा बहुवर्षीय आयोजना अन्तर्गत महानगर र प्रदेश सरकारले सम्पन्न गर्ने गरी समझदारी समेत भइसकेको जनाइएको छ ।

२७ सडकमध्ये पोखरा केन्द्रसँग जोडिने ४ वटा सडकको योजनामा प्रदेश सरकारको ५० लाखका दरले २ करोड रुपैयाँ बजेट परेको थियो ।

‘कनेक्टिङ रोडमा महानगर र प्रदेशको बजेट विनियोजन भएका १५ वटा सडकको आगामी आव २०७६/०७७ को भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता समेत भइसकेको छ,’ सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले भने, ‘बाँकी १२ सडकको ठेकेदार चयन भएको छ । आशय पत्र बुझाउने समयसीमा सक्किना साथ टेन्डर सम्झौता हुनेछ।’

सम्झौता बाँकी भएका उक्त सडक सम्पन्न गर्न आगामी आवकै असारसम्म समय तोकिएको छ।

प्रदेश र महानगरको एउटै सडकका लागि परेको बजेट कार्यान्वयनका लागि समझदारी बनाइएको छ।

बजेट जुधेका सवालमा कार्यान्वयनको पाटो सशक्त बनाउन महानगरकै अग्रसरतामा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

भौतिक प्रगतीको आधारमा प्रदेश मन्त्रालयलाई रकम हस्तान्तरण गर्नेछ।

पोखरा १३ स्थित काहुँखोला पाटनबेंसी सडक, पोखरा १९ स्थित चितेपानी कृषि क्याम्पस हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक, पोखरा ११ स्थित मणिपालदेखि मौजा जोड्ने सडक र पोखरा २१ स्थित तिलाहर बासपानी हुँदै चिलाउने खर्क जोड्ने सडकमा प्रदेशको बजेट परेको थियो।

यस वर्ष प्रदेशले बजेट छुट्याएका ४ सडकसहित १३ सडकको आगामी आवमा ग्राभेल सक्न महानगरले ७६ करोड ६६ लाख बजेट बहुवर्षीय योजना अनुसार सम्पन्न गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो।

स्थानीय तह गठन भएसँगै निर्वाचित भएका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गाउँ सहर जोड्ने योजना स्वरुप कनेक्टिङ रोडको अवधारणा सार्वजनिक गरेका थिए।

गत वर्ष यिनै सडकका लागि ४२ करोड रुपैयाँमा ट्रयाक खोल्ने काम भएको थियो । ट्रयाक खुलिसकेका सडकको स्तरोन्नती एवं नाला कटानको सामान्य काम भएको थियो । चालु आवमा ठेक्का सम्झौता भएका केही सडक पिच गर्ने योजनामा छन्।

बागलुङ बसपार्कदेखि जामुनबोट हुँदै सराङकोट छिचालेर कास्कीकोट निस्कने सडक पिच हुनेछ । अन्य सडकको ग्राभेल सम्पन्न गर्ने सम्झौता भएको सहरी पूर्वाधार महाशाखाले जनाएको छ।

यस वर्षदेखि ३३ वटै वडासँग महानगरका केन्द्र जोड्ने २९ सडकलाई सहरी पूर्वाधार महाशाखाले २७ योजनामा मर्ज गरेको हो। दुवै तर्फबाट एकैठाउँमा जोडिएका वडा ३३ को वडा कार्यालयदेखि ठूलाढुंगा हुँदै चैनपुर, सुरौदी सडकलाई मर्ज गरेको महाशाखाले जानकारी दिएको छ।

कनेक्टिङ रोडमा परेका सबै सडकको आगामी २ वर्ष भित्र पिच सक्ने तयारी गरेको छ। जसका लागि प्रदेशले आगामी आवमा छुट्याउने बजेट अनुसार महानगरले आगामी वर्षका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताइन्छ।

ग्रामीण इलाकाका नागरिकलाई विकटबाट निकट ल्याउन पनि कनेक्टिङको रोडको योजना महत्वका साथ लिइएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए।

महानगरकै योजना भएकाले प्रदेश सरकारबाट प्राप्त सहयोगलाई समेत साथै कार्यान्वयन गर्ने र आगामी वर्षभित्र ग्राभेल सम्पन्न गरी छाड्ने उनले दाबी गरे।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्