पर्साका पत्रकारहरुद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

‘मिडिया काउन्सिल विधेयकले सम्पूर्ण सञ्‍चार माध्यम र पत्रकार जगतको अपहेलना गरेकाे छ’

वीरगञ्‍ज-सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमाथि असन्तुष्टि जनाउँदै पर्साका पत्रकारहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन्।

केन्द्र सरकार र प्रदेश-२ को सरकारले पत्रकार र सञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी ल्याएको विधेयकको विरोध गर्दै पर्साका सञ्चारकर्मीहरुले शुक्रबार आ-आफना सञ्चार सामाग्री सडकमै राखेर जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका हुन्।

सरकारले विधेयक ल्याएर सञ्चार माध्यम तथा पत्रकारहरुलाई आफनो नियन्त्रणमा राख्न खोजेको धर्नामा सहभागी पत्रकारहरुले आरोप लगाएका थिए।

पत्रकारहरुले प्रस्तावित विधेयक खारेज गर्नुपर्ने, प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्नुपर्ने लगायतका माग गरेका थिए।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महसंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले केन्द्र र प्रदेश–२ को सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले सम्पूर्ण सञ्चार जगतको अपहेलना गरेको आरोप लगाए। ‘देशका राजनितिक दलहरुले सञ्चार जगतमाथि निर्लज्तापूर्वक प्रहार गरिरहेका छन्’, चौहानले भने, ‘यो सम्पूर्ण प्रेस जगतको लागि अपहेलनाको बिषय छ।’

केन्द्र सरकारले ल्याएको मिडिया विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको अवस्थामा प्रदेश नम्बर २ को सरकारले पनि ल्याएको थप जरिवाना सहितको प्रावधान निन्दनिय भएको चौहानले बताए। ‘केन्द्र सरकारको मिडिया विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको अवस्था प्रदेश सरकारले पनि थप जरिवाना सहित मिडिया विधेयक ल्याउन खोजेको छ’ , चौहानले भने,‘यो अत्यन्त निन्दनीय छ।’

धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ प्रदेश २ का प्रदेश सदस्य जगत राईले केन्द्र र प्रदेश सरकारले आफनो अनुकूल समाचारमात्र पत्रकारहरुले सम्प्रेषण गरुन् भन्ने उदेश्यले मिडिया समबन्धी विधेयक ल्याएको आरोप लगाए।

धर्नामा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखाका सभापति श्याम बञ्जारा तथा पर्साका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्