सशस्त्र प्रहरीका निरीक्षक लक्ष्मण बस्नेत । उनी विशेषतः विपदमा परेकाहरुको उद्धार तथा सहयोगमा सक्रिय रहन्छ । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
विपदका साथी, भाग-३

अरुको आकाश थाम्दै लक्ष्मण

हुर्किँदै गरेकी छोरीको नाम प्रकृति, हजुरआमाले राखिदिएकी। कारण, प्रकृतिको रुप अपार र कर्म तथा काया आँकलन भन्दा अनन्त, असीमित।

प्रकृति भर्खरै गर्भमा आएकी थिइन्। २०७२ साल वैशाखमा शायद एक महिना जति भएको थियो उनले गर्भमा बास पाएको। भूकम्पले नराम्रोसँग हल्लाएपछि प्रकृतिका बुवा लक्ष्मणबहादुर बस्नेत उनले बास लिएको गर्भकी धनीलाई बाटोमै छोडेर प्रभावितहरुको उद्धारका लागि कुदे।

त्यसको ८ महिनापछि मंसिरमा उनले गर्भ बाहिरको संसार देखिन् । लक्ष्मणलाई जन्माएकी सीता बस्नेतले कान्छो छोराकी पहिलो सन्तानको नाम राखिन्, प्रकृति ।

भूकम्पपछिको उद्धारमा सक्रिय भएर खटिएका पुत्रकी पुत्री अर्थात आफ्नो नातिनीको नाम प्रकृतिका विविध रुपहरुको समायोजनका रुपमा राखेकी हुन् सीताले ।

प्रकृति अहिले हिँडडुल गर्ने, बोलचाल र हरेक नयाँ कुरा सिक्ने या अनुभव गर्ने चरणमा छिन् । उनी एक भाइकी दिदी पनि भएकी छन् । तर उनका पिताको सक्रियता भने उस्तै छ ।

प्रकृतिका पिता लक्ष्मण यति सक्रिय र डरसँग नडराएर अरुको उद्धार वा सहयोगमा खटिएको देख्दा सीतालाई छोराहरु त आँटिला पो जन्माएकी रहेछु जस्तो लाग्छ । लक्ष्मणका जुम्ल्याहा दाइ छन् राम । जन्मेका थिए सीताको कोखबाट उनी ३६ वर्ष पहिले । जुम्ल्याहा भएकाले राम्रोसँग दूध पुगेको थिएन । घरको कामले त्यति स्याहार गर्न पनि भ्याएको होइन । अनि सामान्य अवस्थामा पनि डराउँथे सानामा उनका छोराहरु ।

तर अहिले छोरा बलिया छन्, शरीर र मन पनि । त्यसको प्रमाण उनले प्रत्यक्ष रुपमा देखिन् चार वर्षअघिको भूकम्पपछिको उद्धारको क्रममा । उनका छोरा लक्ष्मणसहितको टोलीले धेरैलाई सहयोग गर्यो ।

लक्ष्मणको उद्धार यात्रा


लक्ष्मण २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका हुन् । त्यसको ६ वर्षपछि उनी विपदमा सहयोगी बन्ने उद्देश्यले स्थापित भएको सशस्त्र प्रहरीको कुरिनटार स्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा जोडिए । २०६८ सालमा स्थापित शिक्षालयमा उनले विपदका बेला र त्यसपछि गर्नु पर्ने र गर्न सकिने सहयोगको कुरा सिके । त्यसले उनलाई सीप युक्त बनायो अप्ठ्यारोमा साथी बन्ने गरेर ।

लक्ष्मणसहितको टोलीले २०७१ को मंसिरमा भेरी नदीमा खसेको बसबाट ५२ जनाको शव निकाल्यो । त्यस अघि र पछि पनि घटना, दुर्घटनाहरुमा उनीहरु अप्ठ्यारोमा परेकाहरुको साथी बने ।

तर उनीहरुले सिकेको र तयारी गरेको उद्धार सीप प्रशंसनीय उपयोगमा आयो चार वर्षअघिको भूकम्पपछिको उद्धारमा । यसले लक्ष्मण र उनीजस्तै अरुलाई अप्ठ्यारोका साथीका रुपमा चिनायो । लक्ष्मण भने यसको सबै श्रेय आफू आबद्ध संस्था एपिएफ र त्यसले दिएको तालिम एवम् गरेको भरोसालाई दिन्छन् ।

लक्ष्मणको नेतृत्वको टोलीले भूकम्पले भत्काएको संरचनामा च्यापिएका अर्घाखाँचीका ऋषि खनाललाई ८२ घण्टापछि उद्धार गरेको थियो । रोजगारीका लागि विदेश जान घरबाट बिदा भएर आएका खनाल बालाजु क्षेत्रको होटलमा बसेका थिए । वैशाख १२ कै दिन उनको फ्लाइट थियो । तर भूकम्पले भत्काएको संरचनामा उनी पुरिए । लक्ष्मणले जोखिम चिर्दै ८२ घण्टापछि जीवितै उद्धार गरे ।

ऋषिले जीवन पाए, एउटा खुट्टा भने गुमाए । तर उनले फेरि पाएको जीवनका माध्यम लक्ष्मण र उनको टोलीलाई भुलेका छैनन् । भूकम्पले जोडेको उनीहरुबिचको सम्बन्ध बलियो बनेको छ ।

एपिएफको उद्धार टोली अप्ठ्यारोमा परेकाहरुको खोजीमा सक्रिय थियो । ऋषिपछि पनि उनीहरुले अरु धेरैलाई सहयोग गरे । उनीहरुले १२० घण्टासम्म भत्किएको भवनको भूईँतलामा च्यापिएर रहेका पेम्बा तामाङलाई जीवितै उद्धार गरे चार वषअघिकै भूकम्पमा गोंगबु क्षेत्रबाट ।

यी स्मृतिहरुले लक्ष्मणलाई आफ्नो कर्ममा गर्व गर्ने कारणहरु दिन्छन् । तर त्यसमै अड्किएर बस्न हुँदैन भन्ने बुझेका छन् । र त उनी डरहरुलाई चिरेर असजिलोमा परेकाहरुको साथी बन्न हरदम तयार रहन्छु भन्छन् ।

कदको दम्भ मिथ्या


उनलाई डर नलाग्ने हैन । तर त्यसबाट सकेसम्म भाग्दैनन् । थाहा छ कि भयलाई भयसहित नै चिर्न सकिन्छ, त्यसकासामना गर्ने आँट भएमा । भूकम्पपछिको उद्धारले आफूहरुको काम बिस्तारित रुपमा देखिएको ठान्ने उनलाई धेरैले सम्झन्छन् । अनि उनका बारेमा आ आफ्नै कल्पना चित्र पनि बनाएका छन् ।

तर उनलाई देखेपछि कल्पना चित्रसँग मेल नखाएका परिवेशहरु धेरै छन् । अधिकांशले अग्लो कद र भव्य शरीर भएको ठान्छन् । उनी भने औषत नेपालीको उचाई जस्तो पाँच फिट तीन इन्चका छन् र शरीर पनि ठीकैको छ ।

तर उनले जानेको सीप र आँटले अप्ठ्यारोमा सहयोग गर्न सक्ने बनाएको छ । उनी भन्छन्, उचाई त सबै मिथ्या हो, त्यसबारे घमण्ड शायदै गर्न मिल्ला । उचाई त कर्मले बनाउने हो ।

हुन पनि उचाई भन्दा अग्लो त व्यक्तिको कर्म हुन्छ । आवश्यक पर्दा अरुलाई साथ दिँदा त्यो उचाई बढ्छ । उनलाई एपिएफको विपद व्यवस्थापन परिवारमा बसेर बिताएको पछिल्लो ६ वर्ष आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण लाग्छ ।

धेरैले जीवनको अन्तिम सास लिएको र धेरैले आफ्नै अघि मृत्युलाई जितेको देखेका लक्ष्मणलाई लाग्छ आफ्नो कर्मले जीवन र मृत्युको सत्य बुझ्ने बनाएको छ । आफूलाई सक्दो अरुको सहयोग गर्ने बानीयुक्त पनि यसैले बनाएको लक्ष्मण भन्छन् ।

उनमा सहयोगको सत्कर्ममा सक्रिय भइरहने सपना छ ।

‘घरमा समय दिन नसक्दा आफैले पूरै आकाशको भार थामेजस्तो गर्छस् भन्छन् । तर मर्दै गरेको मानिसलाई आफ्नो प्रयासले जीवन दिन सकियो भने ती व्यक्ति र ती व्यक्तिसँग जोडिएकाहरुको आकाश त पक्कै थामिन्छ होला ।’

लक्ष्मण भन्छन्, ‘उनीहरुको आकाश थाम्ने सानो माध्यम बन्‍न पाइरहुँ, व्यक्तिगत गुनासोहरु त आउँदै गर्छन्, तिनलाई मिलाउँदै पनि जाउँला ।’

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । शृङ्खला अन्तर्गतकाे यो तेस्रो स्टोरी हाे । हामी हरेक दिन क्रमैसँग बाँकी स्टाेरी प्रस्तुत गर्दै जाने छौँ ।)

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

जेठ ३, २०७६ मा प्रकाशित