नेपालको पर्यटन र बालयौन दुर्व्यवहार

देश विकासको लागि पर्याप्त सम्भावना बोकेको र राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण क्षेत्र पर्यटन हो। पर्यटन उद्योग पुर्ण रुपमा सेवामा आधारित व्यवसाय हो। पर्यटन हाम्रो आम्दानीको श्रोत मध्ये एक हो। त्यसकारण हामी पर्यटकलाई देवता सरह मान्छौं।

नेपालमा सन् २०१६मा ७ लाख ५३ हजार २ जना, सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना र २०१८ मा ११ लाख ७३ हजार ७२ जना बिदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक रहेको छ। त्यसकारण सन २०२० लाई भिजन पर्यटन वर्षको रुपमा लिइएको छ। नेपालका विश्व सम्पदाहरु, अग्ला अग्ला हिमश्रृंखलाहरु, ताल तलैया, जैविक सास्कृतिक विविधता, दुर्लभ बन्य जन्तु, विभिन्न जाती धर्म,सस्कृतिले गर्दा नेपालले पर्यटकलाई लोभ्याउन सकेको छ।

यस कारणले गर्दा स्थल मार्ग र जल मार्गहुंदैं नेपाल आउने पर्यटकको सख्यांमा वार्षिक रुपमा पर्यटन प्रर्वधन हुदै गएको छ। हाम्रो देशमा पर्यटन व्यबसायमा थुप्रै मानिसहरु आस्रित रहेका छन्। यि मध्ये केहि पर्यटकहरु नेपालको सामाजिक क्षेत्रमा र नेपाल सरकारका बिभिन्न मन्त्रालयहरुसंग समन्वय गर्दै अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी निकायसंग मिलेर गरिबी न्युनिकरणलगायत जोखिममा परेका महिला बालबालिका लगायत समग्र मानव अधिकारको लागि पनि कार्यरत रहेका छन्। यसले गर्दा पर्यटनलाई नेपालको आम्दानीका रुपमा लिइने गरिएकोले नेपालको आय श्रोत तथा बिकासमा पर्यटनले टेवा पुगेको छ।

बिदेशी पर्यटकहरुको आगमनले आयआर्जन र रोजगारीमा वृधि हुदै गएको छ।तिनै मध्ये केही पर्यटकहरु गलत नियत बोकेर नेपाल आएका हुंदा रहेछन्। सामाजिक विकासमा टेवा पुर्‍याउने, पिछडिएका समुदायका महिला तथा बालबालिकालाई तत्कालका लागि केहि आवश्यकिय सहयोग गरेर ललाइर्, फकाई, धम्क्याई र झुक्याइ यौन शोषण र दूव्र्यवहार गरीरहेका छन्।

गलत नियत बोकेर आएका पर्यटकहरुले बालबालिकाकाविरुद्ध पुर्‍याउन सक्ने हानीबारे स्वयम् बालबालिका र परिवारलाई प्रभावमा पारिरहेका प्रशस्त घटनाहरु नेपाल सरकारका बिभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायमा उजुरी दर्ता भएका छन्। यसरी दर्ता भएका उजुरीका मुद्धाहरुको केहि फैसला भएका छन भने केहि बिचाराधिन अवस्थामा रहेका छन्।

किन विदेशीहरुबाट नेपाली बालबालिकाहरु पीडित हुन्छन त ?

सहरको सपना देखेर नेपालका बिभिन्‍न जिल्लाहरुबाट पारिवारिक बिचलनका कारणले गर्दा, साथीभाईको लहै लहैमा लागेर मिठो खाना र राम्रो लाउनका लागि बालबालिकाहरु विशेष गरेर काठमाण्डौं र पोखरा आउने गर्दछन्।

यसरी भौतारि रहेका बालबालिकाहरुलाई गलत नियत बाकेरआएका पर्यटकहरुले भोको छ भने खाना, नाङ्गो छ भने नाना लगायतका सामाग्रीहरु दिएर विस्तार विस्तार आफ्नो प्रभावमा पार्ने गर्दछन्। उनीहरुमा चेतनाको अभावले गर्दा नेपाल आउने गलत नियतका पर्यटकहरुले यौन दुराचार गर्ने गर्दछन्।

विदेशी देख्ने बित्तिकै समुदाय र साधारण जन मानसले तुरुन्तै विश्वास गर्ने, उनिहरुले भनेको स्विकार गर्ने। दैनिक खाना खान दिने, खर्च वापत पैसा दिने। गर्मीको समय छ भने पौडी खेल्न लैजाने, मोवाइल, ल्यापटप चलाउन दिने खेल्ने सामाग्रि दिएर खुशि पार्ने गर्दछन्।

बालबाललिकालाई वाल मैत्री वातावरणको श्रजना पनि उनीहरुले गरिहेका हुनछन्। यसरी बालबालिकालाई प्रभावमा पारिसके पश्चात उनिहरुको अविभावक भएको ठाउमा जाने उनीहरुको सुख दुःखको साथी बनि सिनेमा हेर्न लैजाने त्यस पछि आर्थिक सहयोग गर्दै नजिकको सम्वन्ध विस्तार गर्ने। यस अवस्थामा चेतनाको अभाव भएको विकृतिग्रस्त परिवारले हुन्‍न भन्‍ने प्रश्‍नै आउदैन।

यसरी १० देखि १५ वर्षका बालबालिकालाई छिटो प्रभावमा पार्नका लागि फुटबल, चकलेट,खेलकुद पोशाक,पैसा, स्थानिय ठांउमा उपलब्ध स्विमिङ्ग पुलमा लगि पौडी खेल्न सिकाउने, खाना र खाजा उपलब्ध गराई प्रभावमा पारी पालैपालो यौनदुराचार अप्राक्रितिक मैथुन गर्ने गरेको तथ्य सिविन नेपाल साथी सस्थासंग रहेको छ।

विदेशीहरुबाट किन हुन्छ त बाल यौन दुराचार ?

नेपालमा बाालयौन दुराचारीमा संलग्न विदेशी नागरिकको संख्या दिननुदिन बढ्दै गएको छ। नेपाली बालबालिकाहरु हिनता बोध र लाजका कारण अरुलाई नसुनाउने हुंदा कतिपय यस्ता घटनाहरु घरबाट बाहिर आउन सकेको अवस्था रहेको छैन।

पछिल्लो समयबढ्दो चेतना र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) सकृयताका कारणले बालयौन दुराचारको घटनाहरु बिस्तारै बाहिर आउन थालेका छन्। समाज सेवीको आवरणमा यौन दुराचार हुने गरेकोकमजोर आर्थीक अवस्था बालबालिकाहरु यसको निसानामा पर्ने गरेको पाइएको छ।

अन्य देशको तुलनामा बाल यौन दुराचारको सजाय नेपालमा कम छ। यिनै कारणले यौन दुराचारीले नेपाल रोजेका हुन्। पश्चिमा देशहरुमा विद्यालयको पाठ्यक्रममा यौन शिक्षा समावेश गरिएको हुन्छ, तर नेपालमा प्रजनन शिक्षाको बारेमा शिक्षकहरुले कक्षामा नपढाउने आफै पढेर आउ भन्ने कारणले पनि यसमा वृधि भएको हुन सक्छ।

अन्य पश्चिमा देशहरुमा त्याहाका विद्यार्थीहरुलाई कहाँ कहाँ छुन हुन्छ, कहाँ कहाँ छुन हुँदैन भन्ने कुरा सानैदेखि सिकाइएको हुन्छ।नचिनेको मानिससँग बोल्नु हुन्छ कि हुँदैन भन्ने पनि उनीहरुलाई बच्चैदेखि जानकारी हुन्छ।तर नेपाली समाजमा अतिथिलाई देवता मान्ने सस्कार अझै विद्यमान नै छ।

सबैभन्दा महत्वपूर्ण कारण भने नेपाल आएर बस्न विदेशीलाई अन्य मुलुकको तुलनामा आर्थीक हिसावले सस्तो र सहज पर्ने भएकाले पनि विदेशीको नजर नेपालमा पर्न गएको हो।

नेपाल आउने विदेशीहरु सबै एकै किसिमका हुँदैनन्। राष्ट्रियताको पृष्ठभूमिमा आधारित भएर पर्न आएको मुद्धालाई हेर्न हो भने सबै भन्दा बढि फ्रेन्च नागरिक नेपालमा बालयौन दुराचारमा सम्लग्न छन्। जर्मन, डच, क्यानेडियन र ब्रिटिस दोश्रो पंक्तिमा रहेको पाइएको छ।

साउदी अरेवियन, भारतीय नागरिक, अमेरिकन, अष्ट्रियन पनि नेपाली बालबालिका माथी यौन दुराचारमा संम्लग्न रहेको पाइएको छ। नेपाली बालबालिको उमेर समुहलाई हेर्दा ११ देखि १५ वर्षको ७१ प्रतिशत १६ देखि १८ वर्ष २१ प्रतिशत र ६ देखि १० वर्षको ८ प्रतिशत रहेको पाइएको छ।

बालयौन दुरचारको मुद्धामा अनुसन्धानमा आइपर्ने चुनौती

निम्न बर्गका परिवारका बालबालिकाहरु यसमा संम्लग्न हुने हुनाले उनिहरुमा चतनाको आभाव खट्किएको देखिन्छ। हामिले २÷४ पैसा कमाएको ठुला बढाहरुले रिस गरेको भन्ठानेका हुन्छन्।

अविभावकहरुनै आक्रमक हिसवले प्रस्तुत हुने गर्दछन्। विदेशीले विश्वासदिलाएको भए पनि नेपालीहरुले नै हामीलाई विश्वास नगरेको ठानीरहेका हुन्छन्। अदालतमा मुद्दा परिहाले पनि त्यसलाई गुपचुपमा राख्न राजनैतिक दलको दवाव परेको हुन्छ।

पीडितको पक्षबाट गैरसरकारी निकायले उठाएको आवाजलाई पीडितले नै घटना दर्तालाई प्राथमिकता दिएको हुंदैन। लेनदेन र मिलोमतोमा मुद्धा अगाडी नबढिरहेको अवस्था अदालतमा विद्यमान छ।

पीडकको पक्षबाट पीडित पक्षलाई आर्थीक प्रलोभन देखाएर पछि हटाउन कोशिस भईरहेको हुन्छ। पीडितले अदालतमा दिएको बयानलाई सार्वजनिकरण गर्न पिडक पक्ष उद्दत देखिनु प्रमुख कारण हुन आउछ।

अदालतले बोलाएको बखत पीडित उसका साक्षीहरु उपस्थित नहुनुले मुद्धाको तहकिकातमा असर पारिरहेको हुन्छ। पीडकसँग भएको विद्युतीय सामाग्रीले प्राविधिक दक्षता र महँगो सफ्टवोएरले प्रभाव पारेको हुन्छ। अन्तमा बालयौन दुराचारीको अन्तराष्ट्रिय जालो सकृय हुनुले पनि अनुसन्धानमा चुनौती थपिएकोछ।

बालयौन शोषण सम्वन्धी मुलुकी अपराध (संहिता) ऐन २०७४ मा भएको प्रावधान

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बालयौन दुरुपयोग गर्न र गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्वन्धी निजको संवेदनशिल अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धि आफ्नो अङ्ग निजलाई छुन वा समातेमा, यौन सम्वन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौन जन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ। त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरेको छ।

बालबालिकालाई अप्राकिृतिक मैथुन गर्न नहुने र गरेमा पीडित १० वर्ष भन्दा मुनिको भए १६ देखि २० वर्ष सम्म जेल, १० देखि १४ वर्ष भित्रको भए १४ देखि १६ वर्षसम्म ,१४ देखि १६ वर्षको भए १२ देखि १४ वर्ष सम्म १६ देखि १८ वर्षको भए १० देखि १२ वर्ष जेलसजाय हुने व्यवस्था रहेको छ। साथै कसुरबाट पीडित व्यक्तिलाई कसुरदार व्यक्तिबाट मनासिव क्षतिपुर्ति भराई दिनु पर्ने व्यवस्था समेत गरेको छ।

नेपालबाट बालयौन दुराचारलाईअन्त्यगर्नका लागि अवको बाटो

नेपालमा बालबालिका माथी हिंसा बिभिन्न चरणमा हुने गर्दछ। ति मध्ये अनलाइनमा बाल यौन शोषण, बालबालिकाको बेचबिखन, ब्यापारिक यौन कार्यमा सम्लग्न बालबालिका, यौन कार्यमा सम्लग्न बालबालिका, पकेट खर्चका लागि यौनकार्यमा संम्लग्न बालबालिका, मनोरञ्जन क्षेत्रमा सम्लग्न बालबालिका पर्यटन क्षेत्रमा हुने यौन कार्यमा सम्लग्न बालबालिकाका समस्या प्रमुख रुपमा रहेका छन्।

विदेशीहरुले लामो समय लगाएर परिवार बालबालिका र समुदाय सम्मलाई प्रभावमा पारेर नेपाली बालबालिकामाथी भैरहेको हिंसा दुव्र्यवहार बलत्कार, यौन दुराचार, यौन शोषण पहिलाको तुलनामा कमि आए पनि फरक किसिमले फेरी विदेशीहरु नेपालमा लोभिरहेका छन्। यसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो, पर्यटक प्रहरी, यस क्षेत्रमा आफ्ना गतिविधिहरु सञ्चालन गर्ने सामाजिक संघ सस्थाहरु लाई सरकारले समन्वय गर्दै लग्नु पर्दछ। कसुरदार माथी अदालतमा परेको मुद्धालाई राजनैतिक प्रभावमा पार्नु हुंदैन। विदेशीहरु नेपाल आउदा र रहदा बस्दा उसका गतिविधिहरुलाई स्थानिय सरकारले निहालिरहनु पर्दछ।

अन्त्यमा, सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको बलियो ऐक्यभावको आवश्यकता प्रमुख रहन्छ।बनेका कानुन, नीति तथा कार्यक्रमहरुको प्रभावकारी व्यवहारिक कार्यन्वयनमा मा जोड दिनुपर्दछ।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्