कांग्रेसका नेता उदय शमशेर राणाको आरोप

‘संघीय सरकारले प्रदेशलाई स्वायत्ता दिन चाहेन’

मोरङ– नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले सकारात्मक भन्दा बढि नकरात्मक विषयमा नेताहरुले चर्चा गर्दा पार्टी पछाडि पर्दै गएको बताएका छन्।

शुक्रबार विराटनगरमा देशसञ्चारसँग कुरा गर्दै नेता राणाले कांग्रेस भित्र गुट–उपगुट यथावत रहेको बताए। उनले भने, ‘पार्टी भित्र गुट–उपगट पक्कै छ। तर हामी सैद्धान्तिक रुपमा एक छौँ।’

उनले पार्टीले अघि सारेको राष्ट्रिय जागरणका विषयमा सुरुमा केहि अन्योलता देखिएको स्वीकार गरे। राणाले भने,‘सुरुमा केही अन्योलता थियो। तर अब सबै यस विषयमा गम्भीर छौँ। नेताहरु आ–आफ्नो तोकिएको जिल्ला, गाँउमा पुग्दै जनताको राय बुझिरहेका छन्। कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन्।’

खोटाङ जिल्लाको जिम्मेवारी पाएका राणाले राष्ट्रिय जागरण अभियान आउँदो निर्वाचनका लागि राम्रो र बलियो रणनीति हुने बताए। त्यसैगरि, संघीय सरकार नै प्रदेश सरकारलाई पूर्ण स्वायत्ता दिन नचाहिरहेको उनले आरोप लगाए। पूर्वअर्थ राज्यमन्त्री समेत रहेका नेता राणाले अझै पनि केन्द्रीय सरकारले ७७ प्रतिशत बजेट आफूमातहतमा राखेको बताए। उनले भने, ‘अझै पनि केन्द्रीय सरकारमा ७७ प्रतिशत बजेट रहेको छ। करिब १३ प्रतिशत स्थानीय, ९ प्रतिशत प्रदेश र १२ प्रतिशत बजेट प्रधानमन्त्री कार्यालयमा होल्ड गरिएको छ। यसले संघीयताको झलक भन्दा पनि विरोधी कार्य देखिन्छ। सात प्रदेशलाई कुल ९ प्रतिशत बजेट विनियोजन गर्नु आफैमा पनि सरकार रवैया कस्तो छ देखिन्छ।’

केन्द्रीय सरकारले प्रदेश सरकारलाई काम गर्न नदिएको बताएका नेता राणाले वित्तिय आयोग जस्तो महत्वपूर्ण आर्थिक नियमावली अझै गठन हुन नसक्नु गम्भीर विषय भएको बताए। उनका अनुसार, प्रदेश सरकारलाई सहजिहरण गर्नुपर्नेमा केन्द्र सरकार थप पेचिदों बन्दै गएको छ। वित्तीय आयोगमा हाल अध्यक्ष पद मात्र नियुक्त गरिएको छ। बाकी सदस्यको भने टुङ्गो नलागेको उनको भनाइ छ।

वाइडबडी विमानकाण्ड, बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका सभापति समेत मुछिएको भन्ने प्रश्नमा नेता राणाले भने, ‘यसविषयमा दोषी को हुन? सरकारले छानविन गर्नसक्ने उल्लेख गरे।’

विमानकाण्डमा स्वर्गीय रवीन्द्र अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले निर्दोष बताइरहँदा सरकारले दोषीको बारेमा मौनता साधिरहेको उनको भनाइ छ।

वर्तमान सरकार आफ्नो कमीकमजोरी लुकाउन यसप्रकारको हावादारी कुरा गर्दै सर्वसाधारणलाई भुक्याउँदै हिडेको उनले बताए। उनले भने, ‘यस विषयमा कांग्रेस सभापतिदेखि अन्यको नाम आए। सरकारले छानविन गरोस् र दोषीमाथि हथकडी लगाउन सक्छ।”

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्