कांग्रेसले पाँच लाख कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौँ – नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताका लागि देशव्यापी प्रशिक्षण अभियान चलाउने भएको छ । तीन चरणमा देशव्यापी जागरण अभियान घोषणा गरेको कांग्रेसले फेरि प्रशिक्षण अभियान चलाउने भएको हो ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले विभिन्न चरणमा देशैभर क्रियाशील सदस्य एवं महाधिवेशन प्रतिनिधिका लागि प्रतिक्षण दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसमा वैचारिक क्षमता ह्रास भइरहेको गुनासो आइरहेको सन्र्दभमा देशैभर प्रशिक्षण गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।

दाहालका अनुसार महाधिवेशन प्रतिनिधिहरुका लागि सातै प्रदेशको दुई/दुई स्थानमा प्रशिक्षण दिइनेछ ।  त्यस्तै कांग्रेसका क्रियाशील सदस्यहरुका लागि एक दिने आधारभूत प्रशिक्षण, केन्द्रीय स्तरमा र ठूला शहरमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । प्रशिक्षण सुरु हुने मिति भने अहिले तय नगरिएको दाहालले जानकारी दिए ।

कांग्रेसले सबै क्रियाशिल सदस्य झण्डै पाँच लाख छन् ।

कांग्रेसको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म चल्ने भएकाले त्यसपछि मात्र जिल्लाहरुको परामर्शमा प्रशिक्षण कार्यक्रमको मिति तय गरिनेछ । प्रशिक्षण कार्यक्रम दोस्रो चरणको जागरण अभियान सुरु हुने भदौ २४ अघि नै सकिने दाहालले बताए ।

गणतन्त्र दिवस मनाउने


कांग्रेसले दसौं गणतन्त्र दिवस पनि विविध कार्यक्रम गरेर मनाउने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन निर्णय प्रष्ठिानले गरेको छ ।

जेठ १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्