प्रहरी हिरासतमै खतरामा जीवन, ४ वर्षमा २१ जनाले ज्यान गुमाए

काठमाडौं– वैशाखको पहिलो साता झापाको काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोलीले प्रहरी हिरासतमै आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय अनारमुनीका प्रमुख डीएसपी सुबास खड्कासहितका प्रहरी अधिकारी विवादमा तानिए।

आफन्तले किरणको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरे। मोबाइल चोरीको आरोपमा चैत २९ गते विर्तामोडबाट पक्राउ परेका किरणले बैशाख २ गते अनारमुनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको शौचालयमा आत्महत्या गरेका थिए। बाथरुमको धाराको टुटीमा किशोरले लगाइरहेको कपडाको पासो बनाएर आत्महत्या गरेको प्रहरीको दावी थियो।

यता मृतक परिवारका आफन्तले अस्पताल पुर्‍याएर परीक्षण गरेपछि मात्र आफूलाई जानकारी गराइएको, १५ वर्षको किशोरलाई १९ वर्षको भनिएको र अदालतबाट म्याद नलिई हिरासतमा राखिएको आरोप लगाएका थिए। प्रहरीले आत्महत्या गरेका युवक भारतीय हुन सक्ने भन्दै मुचुल्का उठाएर अस्पताल लगेको तर त्यहाँ पुगेपछि उनी नेपाली नै रहेको खुलेको दावी गरेको थियो।

स्थानीय मानव अधिकारकर्मीले १८ वर्ष मुनिका किशोर/किशोरीलाई वयस्कलाई राख्ने हिरासतमा राख्न नपाइने र आत्महत्या गर्ने अवस्थामा पुग्नुमा प्रहरीको लापरबाही हुन सक्ने भन्दै छानबिनको माग गरेका थिए। स्थिति असहज बन्दै गएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)महेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो।

झापाको घटना सेलाउन नपाउँदै चितवनको रत्ननगरमा पनि एक युवकले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरे। २४ वर्षीय समिर घिसिङको उपचारका क्रममा  मृत्यु भयो। चोरीको आरोपमा बैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिकाका ती युवक रत्ननगर इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा रहेको शौचालयमा झुन्डिएका थिए।

उनले आफूले लगाएको सट फुकालेर पासो लागेका थिए। तत्कालै उनलाई अस्पताल पुर्‍याइए पनि मृत्यु टर्न सकेन। प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै आफन्त र स्थानीय बासीले इलाका प्रहरी कार्यालय र पदमपुर प्रहरी चौकीमा तोडफोडको प्रयास गरेका थिए। पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो।

२४ सै घन्टा उच्च सुरक्षामा रहने प्रहरी हिरासत कुनै मुद्दा वा उजुरीको अनुसन्धानका लागि आरोपितलाई राखिने कक्षा हो। केही मुद्दाबाहेक प्रहरीले यस्तो  कक्षमा बढीमा २५ दिनसम्म राख्न पाउँछ र त्यसपछि अदालतलाई बुझाउनुपर्ने हुन्छ। तर उच्च सुरक्षाबीच नै प्रहरी हिरासतमा आत्महत्या भएका यी सुरुवाती घटना भने होइनन्।

पछिल्लो चार वर्षमा देशभर प्रहरी हिरासतमा २१ जनाको  मृत्यु भएको छ। यो अवधिमा काठमाडौंमा मात्र तीन जनाले ज्यान गुमाएका छन्। झापामा चार जनाले, चितवनमा दुई, कास्कीमा दुई, प्युठान, सुनसरी, पर्सा, दोलखा, सिरहा, बर्दिया, पाल्पा, सुर्खेत, कैलाली र नवलपरासीमा एकएक जनाले ज्यान गुमाएका छन्। यीमध्ये अधिकांशले आत्महत्या गरेका हुन्। प्रायले हिरासत कक्षमा जोडेर बनाइएको शौचालयमा आत्महत्या गरेको पाइएको छ।

हिरासत कक्षमा बेल्ट, तुना भएका कपडा,जुत्तालगायत लगाउन पाइँदैन। सम्भावित आत्महत्याका घटनालाई रोक्न यस किसिमको प्रावधान राखिएको प्रहरी अधिकारी बताउँछन्। यति हुँदाहुँदै पनि प्रहरीको उच्च सुरक्षामा मानिसले कसरी देह त्याग गर्छन् भन्ने विषय पटकपटक बहसमा आउने गरेको छ। झापाको घटनाको छानबिन गर्न प्रहरीद्वारा गठित समितिको निष्कर्ष छ- हिरासत कक्षको भौतिक संरचनाका कारण आत्महत्या सम्भव भएको हो। यसमा सुरक्षामा खटिएका प्रहरीको पनि कमजोरी छ। उनिहरुले हिरासत भित्र रहेका थुनुवाको गतिविधीमा हरपल निगरानी गर्नुपर्थ्यो।

डीएसपी महेन्द्र श्रेष्ठ भन्छन् , ‘मानव अधिकारको दृष्टिकोणले हिरासत कक्षमा जोडिने गरि शौचालयको व्यवस्था गरिएको हो। थुनुवालाई सजिलो होस् भन्ने यसको आशय हो। तर शौचालयको भित्री भौतिक संरचनाका कारण आत्महत्या सहज भएको देखिन्छ। बाहिर सुरक्षामा खटिने प्रहरीले भित्रको गतिविधीलाई खासै वास्ता नगरेको पाइयो।’

श्रेष्ठ संयोजकत्वको छानबिन समितीलाई ड्युटिमा त्यतिबेला खटिएका प्रहरी कर्मचारीलाई कारबाहीको सिफारिस गर्दै शौचालयको संरचना सुधार गर्नुपर्ने, ड्युटिमा खटिने प्रहरीले भित्रको गतिविधीलाई ध्यान दिनुपर्ने, शौचालयभित्रको गतिविधीलाई नियालेर हेर्दा देख्न सकिने हुनुपर्ने, थुनुवाहरुको गतिविधीलाई हेर्न थुनुवालाई नै हरेक दिन जिम्मेवारी दिनुपर्ने लगायत सुझाव समेटिएको छ।

हिरासतमा किन गर्छन् आत्महत्या? 

एक वर्षअघि  ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका बर्दियाको राजापुर निवासी प्रेम चौधरीले महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमै आत्महत्या गरे। त्रिभुवन विमानस्थलमा लोडरको काम गर्ने चौधरी हिरासत कक्षसँग जोडिएको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए बिहान उठ्दा।

यस्ता घटनामा प्रहरीले चरम यातना दिएका कारण सहन नसकेर मृत्युको बाटो रोजेको हुन सक्ने लगायतका टिप्पणी हुने गरेका छन्। प्रहरीले समात्ने वित्तिकै वा हिरासतमा राख्ने वित्तिकै सबै सिद्धि हाल्यो भन्ने मनोविज्ञानले यस्ता घटना भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन्।

‘हामीले कसैलाई हिरासतमा राख्ने भनेको अनुसन्धानका लागि हो। आरोपितका लागि पनि कानुनी बाटाहरु हुन्छन्। आरोप झुटा हुन सक्ने सम्भावनाहरु पनि हुन्छन्। यस्ता विषयमा आरोपितले बुझ्नु र उसलाई बुझाउनु पर्छ। यो काम हिरासतमा राख्नुअघि उनिहरुलाई बुझाउन सकेमा घटनाहरु कम हुन सक्छन्’, काठमाडौं प्रहरी परिसरमा करिब एक वर्ष मुद्धा शाखामा काम गरेर भर्खरै सरुवा भएका नायब उपरिक्षक-डीएसपी मोहन थापा भन्छन्।

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू