बाँकेको नरैनापुरमा प्रहरीको गाडी तोडफोड, प्रहरीद्वारा ६२ राउण्ड हवाइ फायर

सांकेतिक तस्बिर

नेपालगञ्‍ज-बाँकेको नरैनापुरमा तनाव भएको छ। चरेशसहित समातिएका व्यक्तिलाई छुटाउन गाउँलेले प्रहरी चौकी नै घेराउ, ढुंगामुढा र गाडी तोडफोड गरेपछि नरैनापुर तनावग्रस्त भएको हो। प्रहरीले हवाई फायर, अश्रुग्याँस हानेर भीडलाई तितरबितर गरेको छ।

प्रहरीले चरेशसहित देवीविन विश्वकर्मा भन्ने भारतीय नागरिकलाई समातेपछि त्यसलाई छुटाउन गाउँनै उल्टिएर आएको हो। प्रहरी चौकी नै घेराउ गरेका स्थानीयले भगवानपुर प्रहरी चौकीको गाडी तोडफोड गरिदिएका छन्।

विज्ञापन

नरैनापुर प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर घेराउ गरेका थिए। प्रहरीले भीडलाई तितर बितर गर्न ६२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसी प्रकाश सापकोटाले बताए।

नयाँबस्तीको अनुगमन गरेर फर्किएकी प्रदेश सांसद कृष्णा केसीको गाडी पनि तोडफोडको प्रयास गरेका छन्। चरेशसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिन भन्दै ठूलो संख्याका मानिसले सांसद केसीलाई घेराउ गर्दै उनको गाडी जलाउने प्रयास गरेका हुन्। सांसद केसीले ‘के हो म बुझ्छु’ भन्दा पनि नमानेर स्थानीयले उनको गाडी जलाउने प्रयास गरेको सांसद केसीसँगै अनुगमनमा गएका पत्रकार कृष्ण वलीले जानकारी दिए।

चरेशसहित समातिएका विश्वकर्मा निर्दोष छन् भन्दै ठूलो संख्याले प्रहरी चौकी घेराउ गर्नुका तोडफोडमा उत्रिएपछि प्रहरीले हवाई फायर, अश्रग्याँस हानेको प्रवक्ता सापकोटाले जानकारी दिए।

चार सय बढी मानिसले चौकी घेराउ गरेका थिए। भीडले सांसद केसी, गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाहको टोलीलाई घेराबन्दी पारेका थिए। सांसद केसी, गाउँपालिका प्रमुख शाहको टोली गाउँपालिकाको कार्यालयभित्र बसेका थिए। सशस्त्र प्रहरीले कडा सुरक्षा दिएर सांसद र गाउँपालिकाका प्रमुखलाई राखेको थियो। राती १० बजे वडाध्यक्षको गाडीमा सांसद केसीको टोलीलाई भगवानपुर प्रहरीले स्कटिङ गरेर आफ्नो कार्यालयमा पु¥याएको थियो।

नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका छन्। नेपालगञ्जमा केही टोली स्टेन्डवाई राखिएको छ।

जिल्लाको दुर्गम क्षेत्र मानिने नरैनापुर पूर्वी–दक्षिणी सीमानामा पर्छ। नरैनापुरमा शुक्रबारे हाट बजार लागेको बेलामा भारतीय नागरिक विश्वकर्माको साथबाट चरेश बरामद भएको थियो। हाट बजारमा ठूलो संख्यामा भारतीय नागरिक आएका थिए।

विश्वकर्मालाई पक्राउ गरेपछि उनीहरु आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए। त्यसमा स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्थामा आएको थियो। जिप्रका बाँकेका प्रवक्ता डिएसपी सापकोटाले साढे दश बजेपछि अवस्था सामान्य भएको जानकारी दिए।

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू