स्कूल र सुकुम्बासीको विवाद मिल्यो

नेपालगञ्‍ज-नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरको आदर्श मावि र विद्यालयको जग्गामा बसोबास गरिरहेका सुकुम्वासीबीचको डेढ दशक लामो विवाद मिलेको छ।

वडा नम्बर २० ले बस्ती व्यवस्थित रुपमा स्थानान्तरण गर्ने प्रतिवद्धता जनाएपछि दुवै पक्षबीच औपचारिक सहमति भएको हो। राँझा चौकस्थित विद्यालयको गायत्रीनगरमा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमिहीनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका छन्। ती मध्ये कतीपय त्यहाँ नबस्ने तर घर टहरा हालेर जग्गा भने ओगटेको पाइएको छ।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास सफल हुन सकिरहेको थिएन। यो विवाद मिलाउन सम्वाद समूहले पनि प्रयास गरेको थियो।सुकुम्वासी÷भूमिहीन र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालयको उत्तरतर्फ ऐलानी जमीनमा स्थानान्तरण गर्ने गरि सहमति गरिएको हो।

२२ घर परिवारलाई तत्काल सार्ने र बाँकी छुट्न गएकालाई वडा कार्यालयले आगामी साउनदेखि क्रमिक रुपमा व्यवस्थान गर्ने पनि सहमति गरिएको छ।
नेपालगञ्ज उपहानगरपालिकाद्वारा यस अघि गठित अध्ययन समितिले ४४ घरपरिवारलाई मात्र वास्तविक भुमिहीन ठहर्‍याएको थियो।

अधिकांश स्थानीयले बसोबास स्थल छोड्ने तर आफुहरुलाई बसोबासको प्रमाण पत्र दिएर उचित व्यवस्थापन गरिदिन वडा कार्यालयसँग माग गरेका थिए। गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई सञ्चालन भइरहेपनि बस्तीकै कारण होहल्ला हुने, पढाईमा बाधा पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो।

राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भएको छ। दुवै स्थानमा गरेर चौध सय विद्यार्थी अध्यनरत रहेका छन्।

वडा नम्बर २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले विद्यालयको उत्तरतर्फको नाला (खाल्डो) लाई सोझ्याएर ऐलानी जग्गामा बस्ती सार्ने काम शुरु गरिसकिएको जानकारी दिए। वडा अध्यक्ष कार्कीका अनुसार, १५ लाख बराबरमा माटो पटान, देवाल निर्माण र घरटहरा व्यवस्थापन लगायतका काम गरिएको छ।

विद्यालय नजिकै विद्युत, पानी, सडकको व्यवस्थापन पनि गरिने वडा अध्यक्ष कार्कीले प्रतिवद्धता व्यक्त गरे। बस्ती व्यवस्थापन र शैक्षिक विकास लागि उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन्।

एकदेखि ९ कक्षासम्म सञ्चालित विद्यालय भवन अब गायत्रीनगरबाटै सञ्चालन गर्नु पर्ने स्थिति आएको विद्यालयका प्राचार्य प्रकाश आचार्यले बताए। वि.स. २००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा सरकारी मान्यतामा छ।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्