२५६३ औँ बुद्ध पूर्णिमा आज, बुद्ध जन्मस्थल लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

लुम्बिनी – २५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् ।

इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा उनले विश्वप्रसिद्धि पाए ।

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका सिद्धार्थले बुद्धत्व प्राप्तिपछि आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

बुद्धले दिएका उपदेशमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो ।

यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यसैगरि, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।

मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।

विशेष कार्यक्रम गरि मनाईँदै

बुद्धपूर्णिमाको त्रिसंयोगको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

नेपालमा बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको क्रिडास्थल शुद्धोधनको दरबार क्षेत्र रहेको तिलौराकोट र कपिलवस्तु क्षेत्र, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदहलगायतका क्षेत्र तथा बौद्ध गुम्बा, विहारहरुमा भव्य रुपमा बुद्धपूर्णिमा मनाईँदैछ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा यसैअवसरमा विशेष कार्यक्रम आयोजना हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुँदैछन् ।

यसपटकको बुद्धपूर्णिमा मूल समारोह प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रुपमा व्यवस्थापन गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री ओलीले भिक्षुहरुलाई संघ दान दिने कार्यक्रम रहेको छ ।

यस्तै शनिबार नै लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन् ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । त्यसपछि बिहान ११ बजे मुल समारोह शुरु हुनेछ ।

बुद्धपूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले मायादेवी छात्रवृत्ति वितरण गरिने छ ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्