अनुसन्धानमा प्रहरीको ‘लापरवाही’

नेपालगञ्ज – नेपालगञ्जका १५ वर्षका रामबहादुर (नाम परिवर्तन) लाई प्रहरीले २०७४ माघ १२ गते लागु औषधसहित पक्राउ गर्‍यो । प्रहरीले २०७५ भदौ १५ गते लागु औषध हिरोइनमा मुद्दा लगाएर जिल्ला अदालतमा पेश गर्‍यो । भदौ १७ गते अदालतले रामबहादुरलाई नाबालक भन्दै अभिभावकको जिम्मा लगाइदियो ।

रामबहादुर दुई हप्तापछि फेरि चोरीमा पक्राउ परे । प्रहरीले २०७५ भदौ ३१ गते उनलाई मोबाइल चोरीको आरोपमा पक्राउ गर्‍यो । असोज २१ गते रामबहादुरलाई चोरी मुद्दामा प्रहरीले उपस्थित गरायो । यो पटक प्रहरीले रामबहादुरको उमेर १८ वर्ष देखाएर मुद्दा दायर गर्‍यो । २२ गते अदालतले रामबहादुरसँग २० हजार धरौटी माग गर्‍यो । रामबहादुरले तिर्न नसकेपछि कारागार चलान भए ।

रामबहादुर दीर्घरोगी छन् । लागु औषध मुद्दामा पक्राउ पर्दा १५ वर्षको नाबालक भनेर छुटेका रामबहादुरलाई १४ दिनेपछि चोरीमा पक्राउ गर्दा प्रहरीले १८ वर्ष उमेर पुर्‍याएर मुद्दा दायर गर्‍यो । यसमा प्रहरी अधिकारीको अनुसन्धानमा त्रुटी देखियो । दीर्घरोगी रामबहादुरले भेरी अस्पतालबाट औषधि लिँदा १८ वर्षको परिचय पत्र बनेको देखिएकाले त्यही आधारमा प्रहरीले मुद्दा दायर गरेको जिकिर गरिएको छ ।

यो घटनामा प्रहरीका अनुसन्धान अधिकृतको त्रुटीमात्रै होइन, लापरवाही नै देखिन्छ । प्रहरी अधिकृतको लापरबाहीले नाबालक रामबहादुर झण्डै आठ महिना कारागारमा बस्न बाध्य भए । मोबाइल चोरीमा धरौटी बुझाउन नसक्दा रामबहादुर कारागार चलान भएका थिए ।

बाल इजलासमा लामो समयसम्म न्यायाधीश भएनन् । त्यसपछि अधिवक्ताद्वय सुदीप भट्टराई र विश्वजित तिवारीले रामबहादुरको केसमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरे । २०७६ बैशाख ३१ गते रिट हालिएको थियो । जेठ १ गते बहस भयो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन विपक्षीको नाम आदेश गरे । जेठ २ गते न्यायाधीशद्वय हेमराज पन्त र विमल सुवेदीको संयुक्त इजलासले रामबहादुरलाई नाबालक नै ठहर गर्‍यो । अधिवक्ता भट्टराईका अनुसार, न्यायाधीशद्वयले रामबहादुरलाई कारागारमा थुन्ने आदेश कानून विपरित भएकाले बाल सुधार गृहमा पठाउन आदेश गरे ।

प्रहरी अनुसन्धान अधिकृतको लापरबाहीले गर्दा नाबालक रामबहादुर करिब आठ महिना कारागारमा बस्न बाध्य भए । अधिवक्ता भट्टाराईले नाबालकलाई बयस्क देखाएर कारागार चलान गर्नु राम्रो नभएको बताए । उनले भने, ‘रामबहादुर दीर्घरोगी छ । बाल सुधार गृहमा बस्दा उसले स्याहार पाउँछ ।’

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू