सुन्दर बन्दै लुम्बिनी

गुरु योजनाको काम ८२ प्रतिशत सकियो, बाँकी काम तीन वर्षमा सक्ने तयारी

लुम्बिनी – गौतमबुद्धको जन्मस्थल लुम्बिनी सुन्दर बन्दै गएको छ । निर्माणका अधिकांश ठूला काम अन्तिम चरणमा पुगेर लुम्बिनी क्षेत्रमा सौन्दरीकरणको काम चलिरहेको छ ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । कोषले आगामी तीन वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्य राखेको कोषका सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।

विज्ञापन

विश्वका सम्पूर्ण धर्मावलम्बीका लागी आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा क्षेत्रफल ओगटेको छ ।

लुम्बिनीको तीन वर्गमाईल जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, नयाँं लुम्बिनीग्राम गरि तीन भागमा विभाजन गरिएको छ ।

तीन वर्गमाईल भूभागलाई एक–एक वर्ग माईलमा विभाजन गरि उत्तरतपर्mको एक वर्गमाईल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड एक वर्ग माईलको भूखण्ड जसलाई शैक्षिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ ।

बाँकी एक वर्ग माईलको दक्षिण तर्फ क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । बुद्धले पहिलो पाईला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

कोषले गुरुयोजना अनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दाबी गरेको छ ।

यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटी सक्नेगरी करिब ६ अर्बको ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको हो ।

कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार ग्लोवल टेण्डर आह्वान गर्नुपूर्व त्यस्ता संरचनाहरुको योजना, डिजाइन र स्टिमेट गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्ने प्रक्रिया सुरु गरेको छ ।

केही दिनभित्रै परामर्शदाता छनोट गरेर ग्लोबल टेण्डरमार्फत बढिमा ३ वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । सबै संरचनाहरुको सुपरिवेक्षण समेत परामर्शदाताले गर्नेछ । त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । ग्लोबल टेण्डरमार्फत काम सुरु भएपछि निर्धारित समयमै काम सम्पन्न हुने र विकास कोषले सौन्दरीकरणको कामलाई जोड दिने सोंच बनाएको छ ।

तीन वर्षभित्र गुरुयोजना पूरा हुँदा सुन्दरीकरणका काम समेत सकेर लुम्बिनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए ।

अहिलेसम्म कहाँ कति खर्च भयो लुम्बिनीमा ?


विकास कोषको खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजना भित्र विहार क्षेत्रमा सबैभन्दा बढि एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा विहारहरु नेपालले निर्माण गरेको छ ।

सबैभन्दा बढि आकर्षक मानिने चीनियाँ र जर्मनी विहार निर्माणका लागि ती मुलुकहरुले ५२ करोड ८० लाख लगानी गरेका छन् । थाइल्याण्डले १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान कोषको छ ।

गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा १ अर्ब २७ लाख ६० हजार लगानी भएको छ । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले ३० करोड ७० लाख लगानी गरेका छन् ।

यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयूकाइले ३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै करिब ३ अर्बको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढि सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । त्यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ ।

यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो । गुरुयोजना अनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान रहेको कोषका निमित्त सदस्य सचिव भट्टराईले बताए ।

प्राथमिकतामा पवित्र उद्यान क्षेत्र


लुम्बिनी गुरुयोजनाले बुद्धले पहिलो पाईला टेकेको स्थान पत्रि उद्यानलाई प्राथमिकता दिएको छ ।

यो पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ । यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ । वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना गरिएको छ । गोलाकार पोखरी भित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पूरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र छन् । यहाँ कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाइएको छ ।

उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागि गोलाकार नहरहरु बनाईएको छ । पवित्र क्षेत्रलाई विश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९ सय ९७ को सभाले विश्व सम्पदा सूचिमा समावेश गरेको थियो ।

यहाँ रहेका ४१ वटा उद्यानका प्लटहरु मध्ये तीनवटा प्लटहरुमात्र तयार भएका छन् । बाँकी सवै प्लटहरुलाई यसैवर्षदेखि सुन्दरीकरण गर्ने योजना रहेको छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संरचनाहरु करीब सम्पन्न भएका छन् ।

उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । पोखरीलाई अहिलेको तुलनामा दोब्बर बढाएर घाँस तथा झारहरु उम्रिन नमिल्ने गरि सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ । पोखरीका विभिन्न पाँचस्थानमा पानीका रंगिन फोहोराहरु बनाउने योजना समेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

घुम्नलायक आकर्षक विहार क्षेत्र


पवित्र उद्यान क्षेत्रबाट उत्तर तपर्m रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरि दुई भागमा विभाजन गरिएको छ । यहाँ विभिन्न मुलुकहरुले निर्माण गरेका बौद्ध गुम्बा र विहारहरु रहेका छन् ।

यो दुई क्षेत्रलाई शान्ति दीपबाट सुरु भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्टाएको छ ।

यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तुप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लटहरु छुट्टाइएको छ । त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ ।

जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरावादी बौद्ध सम्प्रदायका १३ वटा मुलुकहरुमध्ये नेपाल लगायत ७ वटा मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् ।

पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकहरुले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधिन छन् । बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् ।

पूर्वतर्फ श्रीलंका, बर्मा, थाइल्याण्ड, कम्वोडिया, क्यानडा, लगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडा लगायतका मुलुकले विहार बनाएका छन् । अमेरिका लगायतका केही मुलुकहरुले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ ।

बौद्ध दर्शन, उपदेश र विश्रामको केन्द्र लुम्बिनीग्राम


लुम्बिनी गुरुयोजनामा बांडिएका प्रमुख तीन वटा क्षेत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरि भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन् ।

योजनाबद्ध रुपमा बिकास भइरहेको तीन वर्ग माईलमध्येको उत्तर तर्फको एक वर्ग माईल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ ।

गृहस्थ जीवनमा आवश्यक पर्नै सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई आवश्यक भौतिक सुविधा पुर्‍याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर संचालनमा आइसकेका छन् यद्यपि थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् ।

गुरु योजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो ।

एक सय बेडको सबै सुविधायुक्त बिलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्प्रिङ् निर्माण गर्ने योजना बनाएको थियो । जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् भने क्याम्पिङग् निर्माणको काम बाँकी छ ।

गुरुयोजना विपरितका संरचना


शुक्रबार लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेलेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव स्वर्गीय ऊ थान्तको शालिक अनावरण गरियो । उनी लुम्बिनीका लागि कदरयोग्य व्यक्ति हुन्, तर उनैको अगुवाईमा निर्माण भएको गुरुयोजना विपरित उनको शालिक लुम्बिनी सूचना केन्द्र परिसरमा निर्माण गरिएको छ ।

यस्तै प्रदेश ५ सरकारले आफ्नो उपस्थिति लुम्बिनी क्षेत्रमा जनाउने भन्दै नेपालको राष्ट्रिय झण्डा राख्ने तयारी गरेको छ । तर यो पनि गुरुयोजना विपरित छ ।

कोषका पूर्व उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पाले मायादेवी मन्दिरको अगाडि थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा आबद्ध गैरसरकारी संस्था थाई पुङ थाई फाउण्डेसनलाई बेबी बुद्धको मूर्ति बनाउन अनुमति दिए । यो पनि गुरुयोजनामा छैन ।

कोरियन महाबोधी सोसाइटीले विशाल विहारको मापदण्ड गुरुयोजना विपरित छ । पूर्व संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा भएको कोषको बैठकले अमेरिकी संस्था ‘याङ रिग येसे इन्कर्पोरेटेड’ लाई दुईवटा प्लट दिने निर्णय गरेको थियो ।

सोही संस्थालाई काम सुरु नहुँदै कोषले थप दुईवटा प्लट उपलब्ध गरायो । कोषको विहार नियमावली २०५८ मा एउटा देशको एक मात्र संस्थालाई एउटा प्लट दिने व्यवस्था छ । नियमावली विपरीत कोरियालाई चार, थाइल्याण्डलाई तीन, कम्बोडिया र बर्मालाई दुई–दुईवटा प्लट दिइएको छ ।

बुद्धधर्म मानिने ४२ मुलुकका थेरवादीका लागि केन्द्रीय नहरको पूर्वतर्फ १३ र महायानीहरूलाई पश्चिमतर्फ २९ वटा प्लट दिने योजनाविपरीत १८ वटा मुलुकलाई मात्र बाँड्दा ३६ वटा प्लट सकिएका छन् । अब थेरावादीका लागि प्लट छैन । यसरी लुम्बिनी क्षेत्रमा आफ्नो प्रभावकै आधारमा लुम्बिनी गुरुयोजनाविपरीतका संरचनाहरु बनिरहेका छन् ।

अर्को सपना, लुम्बिनी शान्ति शहर

 


लुम्बिनी गुरुयोजना क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई शान्ति शहरको परिकल्पना गर्दै अर्को गुरुयोजना तयार भएको छ । तर गुरुयोजना कार्यान्वयनका लागि भने अहिलेसम्म नेपालको सरकारी निकायले औपचारिक रुपमा छलफल चलाएको छैन ।

लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कमलको फूलको आकारमा छ ।

अत्याधुनिक शहरको परिकल्पना गरिएको यो गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिक मात्रै होइन, अत्याधुनिक शहरकै रुपमा विकास गर्ने सपना देखेको छ ।

सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना कोरेका हुन् । उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ (साविकका ११ गाविस) समेटिनेछन् ।

क्वाकको गुरुयोजनाले लुम्बिनीमा एकैपटक दुई लाख पर्यटक अटाउन सक्ने गरि प्रत्येक घरमा होम स्टेको अवधारणा अघि सारेको छ । उनको गुरुयोजनाले यसको कार्यान्वयनमा लाग्ने खर्चको अनुमान समेत तयार गरेको छ । उनले ३ अर्ब अमेरिकी डलरमा यो शान्ति शहर सम्पन्न गर्न सकिने अनुमान गरेका छन् ।

केन्जो टाङगेको गुरुयोजनालाई कुनै असर नपर्ने गरी बनेको गुरुयोजनाले स्थानीय बस्ती, जंगल, स्कुल, मठ, मन्दिर, मस्जिद तथा सडकहरुलाई जस्ताको तस्तै राखेर शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

क्वाकले गुरुयोजना कार्यान्वयनमा समस्या पर्ने भन्दै लुम्बिनी क्षेत्रमा अग्ला घर निर्माण नगर्न,उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्न, ठूला तारे होटलहरु बनाउने अनुमति नदिन सरकारसँग आग्रह गर्दै आएका छन् ।

कमलको फूलको आकारमा तयार भएको क्वाकको गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बाँडेको छ ।

हालको पवित्र जोनलाई बुद्ध जोन, हालको गुरुयोजना क्षेत्रलाई धर्म जोन, त्यसबाहिर पाँच वर्गमाइल क्षेत्रलाई संघ जोन र बाँकी १९ वर्गमाइल क्षेत्रलाई उपासका जोनको रुपमा परिभाषित गरिएको छ । संघ जोनलाई कमलको फूलको पत्र जस्ता ८ वटा पत्रमा बाँडिएको छ ।

ती आठवटै पत्रमा बनेका शहरहरुमा माछा, मासु, मदिरा तथा पेट्रोलियम सवारीहरु निषेध गर्ने योजना क्वाकको छ । शहर बाहिर उपासका जोनमा कृषि उत्पादनका लागि व्यवसायिक फर्महरु सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा समेत अघि सारिएको छ ।

शान्ति शहरमा एउटै आकारका घर, फराकिला सडक, १० मिनेटभित्र पुग्न सकिने स्कूल तथा स्वास्थ्य चौकीहरु, सौर्य ऊर्जा, पानी, विद्युत लगायतका सबै सुविधा सहित शहरलाई प्रदूषण रहित बनाउने उपायहरु उल्लेख गरिएको छ ।

गरिबीसँगै शान्ति नआउने भन्दै क्वाकले आफ्नो गुरुयोजना कार्यान्वयन भए लुम्बिनीका प्रत्येक व्यक्तिले दैनिक ३० डलर आम्दानी गर्न सक्ने दाबी समेत गरेका छन् ।

सन् १९९९ देखि २००० को डिसेम्बर सम्म निरन्तर लुम्बिनीको अध्ययन गरेका क्वाकले तत्कालीन समयमै लुम्बिनीमा शान्ति शहरको अवधारणासहित सुझाव दिएका थिए ।

उनले लुम्बिनीमा शान्ति शहर बनाउन आफ्ना निकै नजिकका मित्र संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन समक्ष प्रस्ताव राखेका थिए ।

मुनले पनि लुम्बिनीको विकासमा चासो देखाएपछि क्वाकले कोरियन प्रोजेक्ट कोइका मार्फत शान्ति शहरको गुरुयोजना कोर्न थालेका थिए ।
पछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिको अध्यक्ष बन्न मुनलाई आग्रह गर्दा महासचिव मुनले ग्रेटर लुम्बिनी र शान्ति शहर निर्माण गर्ने सर्तमा अध्यक्षता स्वीकार गरेका थिए । तर त्यो पूरा हुन सकेन ।

क्वाकले संसारका थुप्रै मुलुकहरुको गुरुयोजना बनाइसकेका छन् । उनले लुम्बिनी शान्ति शहरको प्रोजेक्ट आफ्नो अन्तिम प्रोजेक्ट हुने बताउँदै आएका छन् । सरकारले २०६८ साल माघ ६ गते शान्ति शहरकोे गुरुयोजना निर्माणका लागि कोइकासँग १८ करोड रुपियांको सम्झौतामा हस्ताक्षर गरेको थियो ।

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू