२५६३औँ बुद्ध पूर्णिमा

आफ्नै जन्मभूमिमा हराएको बुद्ध

हुन त  ‘समृद्ध नेपाल-सुखी नेपाली’ सबै नेपालीको चाहना हो र यसलाई नेपाल सरकारले आफ्नो मूल नारा दिएर नेपालीको भविष्‍य सुरक्षत गर्ने सपना बाडिरहेको छ।  तर सरकारको यो नारा नारामै बढी र व्‍यवहार र काममा निक्कै कम भएको महसुश आम नागरिकले मात्रै होइन  सत्ताभित्रकै शीर्ष नेतृत्वबाट बारम्बार सभासमारोहहरुमार्फ प्रकट हुँदै आएको छ।  देशभित्र कलह, अशान्ति, हिंसा, हत्या र बलात्कार र असहिष्णुताको भाव शतप्रतिशतभन्दा पनि माथि उठिरहेको बेला आज हामी शान्ति. सद्‌भाव र करुणाका अग्रदूत महामानव  बुद्धको २५६३औ जन्मजयन्तती मनाइरहेका छौ।   यस्तो अवस्थामा विश्‍व समुदायलाई ध्‍यान, ज्ञान र कर्मको सुमार्गमा हिड्ने माध्यको रुपमा बुद्धले दिशानिर्देश गरेको बाटोमा हिंडनुको बिकल्प हामीसँग छैन।

बुद्धको दर्शनले नै विश्वमा शान्ति, सद्‌भाव र स्थायित्व कायम गरेको कुरामा कुनै दुई मत छैन। संयुक्त राष्ट्र संघको सिद्धान्तहरु बुद्धको वाणीबाट निर्देशित रहेको छ जसले सम्पूर्ण विश्‍वलाई एक सुत्रमा बाध्नुको साथै शान्ति र सहअस्तित्व कायम राख्नमा मद्दत पुगिरहेको छ।

बुद्ध नै एउटा यस्तो महामानव हो जसले जन्म, ज्ञान प्राप्ति र देह त्याग एकै दिन गरेको थिए। शान्तिका अग्रदूत यो मानवको जन्म ई.पू. ५६३ मा नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमा वैशाख पूर्णिमाको दिन भएको थियो। यी महामानवको सम्मानमा नै विश्‍वभर बुद्धजयन्ती मनाउने गरिन्छ। परापूर्वकाल देखि नै नेपालमा बुद्धजयन्ती मनाउने गरे पनि सरकारले संस्थागत रुपमा वि.सं. २००८ साल जेठ ४ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक रुपमा विदा दिएको देखिन्छ र यो हाल सम्म निरन्तर कायम रहेको छ।

नेपालमा मात्र होइन सम्पूर्ण विश्मा बुद्ध जयन्ती हर्षोल्लासका साथ मनाउँदै आएको छ। संयुक्त राष्ट्र संघले सन् १९९९ डिसेम्बर १५ मा प्रस्ताव नं. ५४र१५५ बाट बुद्ध जयन्तीको दिनलाई (The International Recognition Day Of Vesak At UN And Others UN Offices)मनाउने स्वीकृति सर्वसम्मतिबाट पारित गर्‍यो।साथै युएनले सन् २००२ देखि सार्वजनिक विदा मनाउन लागेको देखिन्छ।संसारमा नेपालको नामभन्दा बुद्धको नामले बढी चिन्‍ने मानिसहरु छन्। बुद्धको मूर्ति नै सबभन्दा बढी निर्माण भएको छ। बुद्ध ग्रन्थ नै सबभन्दा बढी अनुवाद गरेको पाइन्छ।

नेपाल सरकारले विभिन्‍न औपचारिक कार्यक्रमको घोषणा गरे पनि ठाउँ अनुसार आ-आफ्नै हिसाबले बुद्धजयन्ती मनाउने गरेको देखिन्छ।देश विदेशबाट पाहुनाहरु आफैंले बुद्धको महिमा तथा बुद्धले देखाएको बाटोलाई अध्‍ययन गरेर प्रचार-प्रसार गरेको देखिन्छ। तर सरकार प्रत्येक वर्ष बुद्धजयन्तीलाई कर्मकाण्डी रुपमा औपचारिकतामा सीमित गरेको देखिन्छ।

यस बर्ष पनि नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा त गरेको छ।तर लुम्बिनी र बुद्धको पञ्चशील पथलाई आफ्नो व्‍यवहारमा उतार्ने काम गरको छैन।सरकार सत्ता टिकाउनै व्‍यस्त छ भने प्रदेश सरकार लुम्बिनी आउने पयर्टकका लागि कार्यक्रम तय गरिरहेको छ।

आज हामी २५६३ औ बुद्ध जयन्तिको मनाई रहेकोमा गर्व गर्छौ।तर, के हामी बुद्धले देखाएको बाटोमा हिंडिरहेका छौ त ? के हामी नेपालीहरु इमान्दरी साथ बुद्धको धर्मचक्र, पञ्चशीलको पालना गरिरहेका छौ ? यो प्रश्‍न हामी आफैंले आफैलाई सोध्नु पर्ने बेला आएको छ। आम नागरिकको त कुरै छोडौ, सरकारले यसको बारेमा के गरिरहेको छ ? सरकारमा बस्ने राजनीतिक दल र तिनका मन्त्री, प्रतिपक्षी दल र तीनका नेता, सरकारी कर्मचारीहरु, उच्च पदस्थ पदाधिकारीहरुमा के बुद्धको वचन लागू भएको छ त ? छ भने कति प्रतिशतले पालना गररहेका छन् ?

यसको उत्तरमा नारा त हामी बुद्धको दर्शनभन्दा पनि कडा र चर्को लगाउँछौ। सरकार र मन्त्रालयपिच्छै नीति, नियम र निर्देशनलाई व्‍यवहारिकमा ल्‍याउने बनाउँछौ।तर त्‍यसको जब कार्यान्वयन गर्ने पालो आउँछ अनि आफू अनुकुल मनपरी गर्छौ। एउटा सरकारले जारी गरेको नीति-नियम अर्को सरकारलाई मान्य हुँदैन। सरकारै पिच्छै नारा र निर्दैशिका फेर्छौ हामी। आम नागरिकलाई जहिले पनि दिग्भ्रमितमा पार्छौ हामी मात्र आश्‍वासनमा पारेर शासन गरेर।

बुद्ध दर्शन र शान्ति एक अर्काको पर्यायवाची हो तर आज बुद्ध दर्शन र विकास रद्दीको टोकरीमा फ्यालिएको छ। हत्या हिंसा,लुटपाट, बलात्कार, जालझेल, छलछामले स्थान पाएको छ। पार्टीकै नेताहरु एकले अर्कोलाई विशवास गर्ने वातावरण छैन। भाइ-भैयारी फुटेका छन्। सक्‍नेले वालुवाटारदेखि भेडेटारसम्‍म लुटेका छन्। आफ्नो सरकार, आफै जयजयकार गर्दै हिड्नु परेको छ।

सरकारमा व्‍यापक भ्रष्टाचार रहेको कुरा सरकार स्वयमलाई पनि थाहा छ।किनकी ट्रान्सपरेन्सी इन्टेनेशनलले सन् २०१९ मा गरेको भ्रष्टाचार सर्वेक्षणमा १८० देशलाई सूचिमा समावेश गरेको रिपोर्टमा नेपाल १२४औ स्थानमा रहेको छ। त्यतिमात्रै होइन निजामति कर्मचारी युनियनको पूर्वअध्यक्षले ठोकुवा गर्दै भन्छन्, ‘ नेपालमा विशिष्ट श्रेणीको कर्मचारी कोही पनि छैन जसले अहिलेसम्म भ्रष्टाचार गरेको छैन।यतिसम्म गरेका छन् की बुद्ध जयन्ती मनाउनको लागि छुट्ट्याएको बजेटमा समेत भ्रष्टाचार भएको छ।’

हामी जब समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसाथ गर्न चाहन्छौ भने बुद्धको वचन र कर्म यतिबेला अपरिहार्य खड्किएको छ। यस्तो अवस्थामा बुद्धको दर्शनभन्दा अर्को विकल्प हामीसँग हुने छैन। उदाहरणका लागि सिंगापुर, म्यानमार, भियतनाम, श्रीलंका, चीनले यही धर्मलाई आत्मसाथ गर्दै विकासको फड्को मारिसकेका छन्। तर हामी सबैले बुद्धलाई बुझेर पनि व्‍यक्तिगत लोभ, मोह, मायाजालमा फसेर झनझन उधोगतितर्फ गइरहेका छौ। अर्थात बुद्धको जन्मभूमिलाई बिर्सिदै गइरहेका छौ।

अहिंसाको प्रतिक बुद्धको जन्म दिन नै हजारौं संख्यामा निर्दोष पशुपंक्षीको बली चढाउँछौ।हामी ठग्न पायौ भने छल्न पायौ भने गर्व गर्छौ। यो हाम्रो संस्कृति हुन पुगेको छ। नेताहरुको त उपनाम नै फटाहा हुन पुगेको छ। जे बोल्छ त्यो गर्दैन, जे बोल्दैन त्यो चाँहि पक्कै गर्छ। यस्तो अवस्थामा जन्मभूमिमा कहाँ छ त बुद्ध ?

हामी बुद्ध नेपालमा जन्मेको बडो गर्वको साथ भन्छौ तर असली बुद्धको खोजी कहिल्यै पनि गर्दैनौ। जसले तराइ, पहाड र हिमाललाई जोगाएर,संस्कृति र संस्कार बचाएर राखेको  छ, उनीहरुको अस्तित्व आज कहाँ छ ? बुद्ध हामीभित्र छ तर आज यसलाई बाहिर ल्याउनु पर्ने खाँचो छ।

नेपाली जनताहरु नै हो जसले औपचारिक रुपमा जुनसुकै धर्म धारण गरेको भए पनि केही दहसम्म बुद्ध दर्शनको पालना हृयमा राखेरै हिडेका छन्।कम्तिमा उनीहरु बाहिर जाँदा बुद्धको देशबाट आएको भनेर आफूलाई चिनाउने गर्छन्।

तर आज किन आफ्नै जन्मभूमिमा बुद्ध हराइरहेको छ ? यसको खोजी नीति गरौ र पुनःस्थापित गरौ। यही नै असली बुद्ध जयन्ती हुनेछ, यसैमा नेपाल र नेपालीको भविष्य सुरक्षित हुन्छ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्