शान्त भयो नरैनापुर

चरेशसहित पक्राउ परेका व्यक्तिलाई नेपालगञ्ज ल्याइयो

प्रहरीको सुरक्षामा प्रदेश सांसद ।

नेपालगञ्ज – चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीदिन विश्वकर्मालाई प्रहरीले नेपालगञ्ज ल्याएको छ ।
नरैनापुरमा शुक्रबार लागेको हाटबजारमा आएका भारतीय नागरिक विश्वकर्माको साथबाट ५ किलो चरेश बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखेपछि हाटमा आएका भारतीय र स्थानीयले मिलेर उनलाई छुटाउन प्रहरी चौकी नै घेराउ गर्दै ढुंगामुढा गरेपछि रातीअबेरसम्म नरैनापुर तनावग्रस्त भएको थियो ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले ६३ राउण्ड हवाई फायर गरेको थियो । ६२ राउण्ड राइफल र एक राउण्ड पेस्तोलबाट हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

नेपालगञ्जदेखि ४० किलोमिटर टाढा रहेको नरैनापुरमा राती नै जिल्ला प्रहरी कार्यालय, गण र इलाका प्रहरी कार्यालय कोहलपुरको टोली घटनास्थलमा पुगेपछि भीड तितरबितर भएको थियो ।

विकट ठाउँ र सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई ‘हेपेर’ स्थानीयले चौकी नै आक्रमण गर्दै चरेशसहित पक्राउ परेका भारतीय व्यक्तिलाई छुटाएर लैजाने प्रयास गरेका थिए ।

डिएसपी सापकोटाका अनुसार, चार सय बढी मानिस रहेको भीडले प्रहरीको गाडी, एकजना सईको निजी मोटरसाइकल, वाकीट्वाकीमा क्षति पुर्‍याइदिएको छ । त्यसक्रममा एकजना हवल्दार घाइते भएका छन् । उनको छातीमा ढुंगा लागेको छ ।

नेपालगञ्ज र कोहलपुरबाट राती नै घटनास्थलमा पुगेको ठूलो संख्याका प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

राती नै चरेशसहित पक्राउ परेका व्यक्ति विश्वकर्मालाई नेपालगञ्ज ल्याएपछि नरैनापुर शान्त भएको छ । नरैनापुरमा अनुगमनका क्रममा पुगेकी प्रदेश सांसद कृष्णा केसीको टोली पनि हुलदंगामा फसेको थियो ।

स्थानीयको भीडले निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै सांसदको टोलीलाई घेराउ गरेर गाडी तोडफोडको प्रयास गरेका थिए ।
राती नै नरैनापुरमा पुगेको प्रहरी अहिले नै उतै छन् । डिएसपी सापकोटाले भने, ‘नरैनापुर अहिले शान्त छ । नेपालगञ्ज र कोहलपुरबाट गएको ठूलो संख्याका प्रहरी उतै तैनाथ छन् ।’

यसैबीच, केहीबेरमा सांसद केसीले नरैनापुर घटनासम्बन्धमा पत्रकार सम्मेलन गर्ने तयारी भएको छ ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्