नेपाली सेनामा सेनानी रहेका प्रधुम्न शाह । उनीसहितको टोली आपतविपद परेका बेला उद्धारका लागि खटिन्छ । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
विपदका साथी, भाग-४

मर्दा–पर्दाका साथी, यी सैनिक

उनलाई आफूले खुत्रुकेमा पैसा जोहो गरेको शायदै याद छ । खुत्रुकेसँग उनको परिचय नमेटिने गरि भएको छ ।

चार वर्षअघि वैशाखमा मानवीय तथा भौतिक क्षति ठूलो गराएको भूकम्प जाँदा उनी भक्तपुरको सूर्यविनायकमा थिए । उनी अर्थात प्रधुम्न शाह, नेपाली सेनामा सेनानी (मेजर)।

भूकम्पपछिको उद्धारमा लगत्तै खटिएका प्रधुम्नसँग त्यहि बेला भुल्न नसक्ने खुत्रुकेसँग परिचय भएको हो ।

प्रभावितहरुको उद्धारका लागि टोलीसहित खटिएका प्रधुम्न भत्नावशेष बनेका घरबाट फसेका मानिस तथा अत्यावश्यक सामग्रीहरु निकाल्दै थिए । २१–२२ वर्षकी युवतीले उनीहरुलाई आफ्नो खुत्रुके निकालिदिन आग्रह गरिनन् ।

प्रधुम्नले भत्केको घरमा अवरोध पन्छ्याउँदै अघि बढे, अनि खुत्रुके ल्याई ती युवतीको हातमा थमाई दिए । त्यसपछि ती युवतिको प्रतिक्रिया अहिले पनि प्रधुम्न स्पष्ट सम्झन्छन्, दुरुस्तै देख्छन् ।

जोगाएर ल्याएको खुत्रुकेमा शायद केही हजार खुजुरा मात्रै थियो । तर ती युवतीको भावना जोडिएको हुनु पर्छ । त्यसैले त आँखाभरि आँसु पारेर जतनले समातेकी थिइन् ।

अरुलाई सामान्य लाग्ने कुरा पनि कसैका लागि कति अर्थपूर्ण हुने रहेछ भन्ने यो घटनाले बुझायो प्रधुम्नलाई । त्यसपछि उनीसहितको टोली अरु प्रभावितको सहयोगका लागि खिटियो ।

उनीसँग भूकम्पको अर्को अनुभव छ, दर्दनाक । भक्तपुरकै गुण्डु क्षेत्रमा भत्केको घरमा शारीरिक रुपले अशक्त व्यक्ति फसेपछि गुहार माग्दै मानिसहरु आए सेनाको टोलीसम्म । प्रधुम्नसहितको टोली उनीहरुले दिएको सूचना अनुसार भग्नावशेष बनेको घर पस्यो ।

भग्नावशेष हटाएर खोज्दै जाँदा केही गिलो जस्तो महसुस भयो । सोचे, शायद कुकुर पुरिएको हुनु पर्छ । सचेत भए, अरु केही माटो र इट्टा तथा काठ पन्छाएपछि थाहा भयो त्यो गिलो महसुस भएको त पुरिएका व्यक्तिको पेट रहेछ । उनीहरुले निकालेर परिवारको जिम्मा लगाए ।

यो टोलीले त्यो बेला खुत्रुके, पुरिएका व्यक्ति मात्रै होइन, दाम्लोमा रहेका चौपायलाई पनि उद्धार गरेको थियो । पशुमा पनि त प्राण हुन्छ, उनीहरुलाई पनि पीडा हुन्छ बोल्न नसके पनि । प्रधुम्न यी सबै सफतामा अहिलेसम्म पनि हर्षित रहन्छन् ।

अप्ठ्यारोमा सहयोगी बन्ने यात्रा


३१ वर्षका प्रद्युम्न १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । १८ वर्षको हुँदा सेवा प्रवेश गरेका उनी अहिले युद्ध भैरव गणमा छन् । पूर्वी रुकुमका प्रधुम्नका बुवा पनि सेनामै भएकाले त्यसतर्फ आकर्षित भएको हुनु पर्छ सुरुमा । तर अहिले भने आफ्नो प्रारब्ध र रुचीका कारण उनलाई सही ठाउँमा छु जस्तो लाग्छ छ ।

उनले कारण स्पष्ट पारे, ‘सेवा गर्न पाइन्छ । त्यसमा पनि आपदमा परेकालाई सहयोग गर्न सीमितले मात्रै पाउँछन् । हाम्रो टोलीले त्यो सौभाग्य पाएका छौँ ।’

अप्ठ्यारोमा परेकालाई गरिने सेवा नै सबैभन्दा ठूलो मानव धर्म हो भन्ने आफूले बुझेको उनले बताए । सेवा प्रदान गर्ने पेशालाई धर्मका रुपमा स्वीकार गरेका छन् उनले । ‘यहि नै जीवनको उत्तम अर्थ हो जस्तो लाग्छ’ कामको कुरा गर्दा उत्साहित थिए प्रधुम्न ।

भूकम्प पछिल्लो समयको ठूलो र अधिकांशको स्मरणमा रहेकाले त्यससँग जोडिएका सम्झनाहरु बेसी ताजा हुने नै भए । तर उनीसँग अरु असजिलोमा परेकालाई सहयोग गरेको अनुभव पनि छ । चाहे त्यो सडक दुर्घटना होस, या बाढी वा पहिरो । सबै अप्ठ्यारोमा उनीहरु आवश्यक परेका बेला सहयोग गर्न जहिले तयारी अवस्थामा रहन्छन् ।

सीपले चिर्दो रहेछ डर


विपदको बेला सजिलो हुँदैन । कोलाहाल हुन्छ, अत्तालिएका हुन्छन् सबै । त्यस्तो बेला उद्धार तथा सहयोगमा जुट्न सजिलो हुँदैन ।

विपदको प्रकृति अनुसार जोखिम हुन्छ आफ्ना लागि पनि । जोखिमलाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई सुरक्षात्मक उपाय अपनाएर उद्धारमा खटिने सीप पाएकाले नै भय कम हुने गरेको उनको अनुभव छ ।

डर हुन्छ, त्यो डरलाई पीडितको गुहारले सानो बनाइदिन्छ ।

‘सुरक्षित बाचुँ भन्ने रहर सबैलाई हुन्छ, अनि आफ्नो जस्तै अर्काको रहरको साथी बन्न पाउनु डर भन्दा विपरित र बलियो अवसर हो’, प्रधुम्नले भने, ‘हामी सेनामा छौँ, र यो नागरिकको सेवाका लागि हो । यो संस्थाले हामीलाई अरुलाई सहयोग गर्न सक्ने क्षमता युक्त बनाएको छ ।’

त्यो भन्दा पनि ठूलो कुरा आफूमा रहुने मानवताको भावले अप्ठ्यारोमा अरुको साथी बन्न प्रेरित गर्ने गरेको र यो क्रम जीवनभर जारी राख्ने सत्कामना छ ‘प्रधुम्नहरु’ को ।

‘सत्य यहि हो मनको’ भन्दै प्रधुम्न बोले, ‘हाम्रो सानो प्रयासले अरु कसैलाई केही छिन भए पनि ढुक्कको निद्रा लाग्छ या चोट र पीडाबाट बाहिर निकस्न उनीहरुको भर्‍याङ्ग बन्छौँ भने त्यो भन्दा ठूलो खुशी अरु छैन र चाहिँदैन पनि ।’

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । शृङ्खला अन्तर्गतकाे यो चाैथो स्टोरी हाे । हामी हरेक दिन क्रमैसँग बाँकी स्टाेरी प्रस्तुत गर्दै जाने छौँ ।)

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

जेष्ठ ४, २०७६ मा प्रकाशित