लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु, राष्ट्रपतिले दिइन् विश्वसमुदायलाई लुम्बिनी घुम्ने निम्तो

लुम्बिनी–लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरिन् ।

उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा पनि दिइन् ।

लुम्बिनीको विकासले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् ।

स्थानीयको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न ध्यानाकर्षण गराईन् ।
उनले बुद्धस्थलहरुलाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मूलुकहरुसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने बताउँदै सरकारलाई ध्यान दिन आग्रह गरिन् ।

बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गर्ने सरकारलाई धन्यवाद दिइन् । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवद्र्धन गर्नुपर्ने बताउँदै उनले लुम्बिनी क्षेत्रमा शान्ति, स्थीरता कायम गर्दै जानुपर्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणवद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए ।
प्रधानमन्त्रीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रको रुपमा विकास गर्दै विश्वसमुदायसँग अन्तरराष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए । उनले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अन्तरराष्ट्रिय समुदायको साथको आवश्यकता रहेको बताए ।

उनले बुद्धस्थलहरु कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगलाई विकास गर्दै लैजाने प्रतिवद्धता जनाए ।  उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेको बताउँदै त्यसको विकास र प्रवद्र्धनका लागि नयाँ ढंगले योजना बनाउने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवद्र्धन गर्ने बताए ।

उनले बुद्ध जन्मस्थल लुम्बिनीको काम तीब्र गतिमा हुनुपर्ने बताउँदै अन्य बुद्धस्थलहरुको समेत उत्खनन् र तथ्यहरु बाहिर ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरीले प्रदेश ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश ५ समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको ३ वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए । कार्यक्रममा लुम्बिनीको प्रवद्र्धनमा सहयोग पुर्‍याएको भन्दै ८ जनालाई सम्मान गरिएको थियो ।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्