किराँतहरुले उभौली पर्व मनाए

फाइल तस्बिर

काठमाडौँ– किराँतहरुले शनिबार उभौली पर्व मनाइरहेका छन्।

आफूहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले प्रत्येक वर्ष चण्डी पूर्णिमादेखि  परम्परागत रुपमा भूमिपूजा गरी उभौली चाड चण्डी नाच गर्दै एक महिनासम्म मनाउने गर्छन्।

किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गर्छन्। किराँतहरूको याे पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।

यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो। वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ। नाचमार्फत प्रकृतिको आराधना गर्ने गरिन्छ। चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन रुपमा पनि मानिन्छ। उभौली पर्व मौसमसँग सम्बन्धित छ। अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भनेर यो पर्व मनाउने गरिन्छ।

किराँत जातिले वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म यो पर्व मनाउने गर्दछन्।

जेठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्