हलसम्म दर्शक तान्ने ‘जात्रैजात्रा’

कतिपय मानिसको जीवनबाट प्रेरित भएर चलचित्र बन्छन्, कतिपय मानिसको जीवन चलचित्र जस्तै हुन्छ। हिजो के भएको हो थाहा पाउने हामी भोलिको अनुमान लगाउन सक्दैनौँ। अस्वाभाविक घटनाहरुले जीवनलाई मोड्ने कथा हो ‘जात्रा’। चिल्ला गाडी अनि अग्ला घरका फेसेनेबल धनाढ्यको कथा नभई भुईँ तहका मानिसको जीवनलाई पर्दामा उतार्दा निर्देशक प्रदीप भट्टराईले चलचित्रको नाम राखे ‘जात्रा’। जीवनको यात्रामा हिड्दै जाँदा अघिल्लो मोडमा के भइदिन्छ पत्तो हुन्न भन्ने कुरालाई चलचित्रले पिँधैबाट उत्थान गरेको छ।

तीन वर्षअगाडि असनको सानो गल्लीमा जीवनको डोरो अगाडि बढाउन नाक रगडिरहेका फडिन्द्र तिमल्सिना ‘विपीन कार्की’, जोयस ‘रविन्द्रसिंह बानियाँ’ र मुन्ना ठाकुर ‘रविन्द्र झा’ को कथा जात्रा हो। ‘छक्का पञ्जा’ को सक्सेस लहरमा ‘जात्रा’ ले पनि ठाउँ बनायो।

विज्ञापन

हात मुख जोड्न धौधौ परेका फिडिन्द्रलाई श्रीमती र छोरालाई राम्रो घरमा राख्ने, राम्रो स्कूल पढाउने सपना छ।

रविन्द्र झा ऋणमा चुर्लुम्म डुबेका छन्, परिवारको साना भन्दा साना आवश्यकतालाई पूरा गर्न असफल उनी बेलामा पैसा तिर्न नसकेको निहुँमा पुलिस थाना गइरहन्छन्।

सपनाको आकार हुन्न, जोसय पात्रलाई चलचित्र बनाउने शोख छ, तर पैसा कहाँबाट ल्याउनु। बिरामी गर्लफ्रेन्डको उपचारमा कमाएको सबै दाम लगाउने जोयसलाई पनि भागी भागी हिड्नु परेको छ।

यहीबीचमा ३ करोड रुपैयाँ उनीहरुको हात लाग्छ। पुलिस अनि गुण्डाले धुमधुम्ती खोजेको पैसा पचाउने चक्करमा यी तीनले सक्दो जुक्ति लगाउछन्, तर अन्त्यमा उनीहरुको योजना सफल हुन्न।

प्रहरीको हातमा पैसा पर्छ। प्रहरीलाई सहयोग गरेको भन्दै टोलमा सम्मान कार्यक्रम आयोजना हुन्छ। अरुबेला हेयको दृष्टिले हेर्ने समाजले उनीहरुलाई सम्मान गर्दै गर्दा थाहा हुन्छ, ‘त्यो पैसामा २ करोड ८० लाख नक्कलि नोट हो।’ सम्मान स्थलबाट नै प्रक्राउ परेर तीनै जना जेल पुग्छन् र उकुस मुकुश भएर चलचित्र सक्किन्छ।

जात्रै जात्रा

जात्राले बिट मारेको ठाउँबाटै सुरु हुन्छ ‘जात्रै जात्रा’ को कथा। जेलबाट निस्केर बाहिर निस्किएका तिनै युवा आफूलाई समाजमा स्थापित गर्नलाई कति संघर्ष गर्छन्, समाजमा उनीहरुलाई कस्तो व्यवहार गरिन्छ त्यो हेर्न भने चलचित्र हल सम्मनै पुग्नुपर्छ।

कथाका प्रमुख पात्रहरु पुरानै छन्, वर्णन गर्ने शैलि पनि पुरानै छ। लेखक निर्देशक प्रदिप भट्टराईले जात्राका दर्शकलाई कथा मिस हुने ठाउँ नदिई कथा अगाडि बढाएका छन्।

पहिलो कथामा पैसाको कथा छ भने दोस्रो कथामा सुन। यही सुन पचाउनलाई गरिने भागदौड, उतार चढाव अनि सकसको कथा ‘जात्रै जात्रा’ हो। यो सँगै पारिवारिक पक्षहरु कथामा जोडिएका छन्। जसले स्वाभाविक रुपमा चलचित्रमा उतार चढाव ल्याएका छन्।

राम्रो पक्ष

जात्रै जात्राको सुरुको दृश्य नै पेचिलो छ, ‘जेलबाट छुट्दै गरेका तीन युवाहरु र एक नेतालाई समाजमा स्वागत गरिने तरिका।’ नेता जेलबाट निस्कदा फूलमाला, गाडि लिएर स्वागत गर्न बसेका मानिसको जमात छ। राजनीतिक करियरमा जेल जानु अनुभव बटुल्नुसँग दाजेर हेरिन्छ। तर एक सर्वसाधारण जेल पर्‍यो भने ऊ र उसको परिवारको जीवन ‘जिना हराम’ हुन्छ।

‘जेल परेका सबै अपराधि हुँदैनन्’ केही समय अगाडि प्रिन्ट तथा अनलाइनमा धेरै आएको हेडलाइन थियो यो। हिडन लाइफ फाउनडेशनका कार्यकारी अध्यक्ष विवेक उपाध्यायले आफ्नो जेल अनुभव साटेका थिए।

खबरको एउटा स्वाभाव यो चलचित्रमा लागू भएको छ, ‘नराम्रो खबर चाँडै फैलन्छ राम्रो फैलदैन।’ फडिन्द्र, मुन्ना र जोएस नक्कलि नोट कारोबार मुद्दामा जेल परेको सबैले थाहा पाउछन् भने निर्दोष भएर सरकारले क्लिन सिट दिएको कसैले थाहा पाउदैनन्।

जेलबाट फिरेपछि आफन्तले गर्ने व्यवहार, समाजमा स्थापित हुन गर्नु परेको संघर्ष सान्दर्भिक लाग्छ। यस्तै अपराधिको ट्याग पाएका मानिससँग जोडिन आउने जीवनहरु कसरी प्रभावित हुन्छन्, चलचित्रले उल्लेख गरेको छ।

चलचित्रले उठान गरेको महत्वपूर्ण विषय महिलामाथि हुने दुव्र्यवहार हो। सालिप्रति दया देखाएर दुव्र्यवहार गर्न खोज्ने भिनाजू अनि सेल पसलमा आउने ग्राहक यसका प्रतिनिधि पात्र हुन्।

गलत बाटो हिड्नु भनेको अभाव हो, आफूबाट गलत काम होला भनेर छोराको नाम ‘इमान’ राखेका फडिन्द्रलाई अभावले गर्दा नै भेट्टाएको सुन प्रहरीलाई बुझाउन दिँदैन। उनले श्रीमतीको दुख सम्झन्छन्, छोरालाई आफ्नै घरमा राखेर महंगो स्कूलमा पढाएको र डाक्टर बनाएको सपना देख्छन्। अनि पैसा नहुँदा आफ्नै जेठीसासूले गरेको व्यवहार सम्झन्छन्।

चलचित्रभित्र हुने एक पछि अर्को घटनाले दर्शकलाई अब यसपछि के होला भन्ने कौतुहल ल्याउछ।

कमेडि जनरामा बनेको चलचित्र भएपनि दर्शकलाई हसाउन भद्दा र दुइअर्थी शब्द प्रयोग भएको छैन। सामान्य मान्छेले खाएको ५२ घुस्सा ५३ ठक्करलाई हस्याइलो पारामा प्रस्तुत गरिएको छ।

कालिप्रसाद बास्कोटाको स्वरमा भएको गीत ‘जीवन जात्रै जात्रा’ हो पनि सान्दर्भिक ठाउँमा प्रयोग भएको छ। पाश्र्व संगीतले चलचित्रलाई सुन्दर बनाएको छ।

अभिनयमा कसैको पनि खोट लगाउने ठाउँ नै छैन। कथाको ‘ह्याप्पी इन्डिङ्ग’ छ।

दुर्वल पक्ष

पुरानै पात्र अनि पुरानै कथालाई निरन्तरता दिइएको भएर केही घटनाहरु नयाँ लाग्दैनन्। फडिन्द्रको पत्नि बनेकी वर्षा राउतलाई संघर्षको लागि केही नयाँ काम गरेको देख्न पाइन्छ तर त्यति बलियो देखिदैन । सुन पचाउन उनी पैसा पचाउन जस्तै जुत्ति निकाल्छिन्, जुन नौलो छैन।

लेखक तथा निर्देशक प्रदिप भट्टराई ‘३३ किलो सुन काण्ड’ बाट प्रभावित देखिन्छन्, चलचित्रमा सुन हराएपछि मुख्य नायिकेले संलग्न अरुलाई दिने यातना ‘३३ केजी सुन काण्ड’ मा ज्यान गुमाउने ‘शनम शाक्य’ ले पाएको यातनासँग मिल्दोजुल्दो छ।

दावा पात्र बनेका दयाहाङ बलियो देखिन खोजेपनि सक्दैनन्, उनलाई प्रयोगमात्र गरिएको छ। उनी अपहरित भएको दृश्य छ, तर कसले ग¥यो, किन ग¥यो देखाइएको छैन।
चलचित्रमा पीर व्यथा पोख्नलाई रक्सिको सहायता धेरै लिइएको छ। फडिन्द्र हरेक पल्ट चित्त दुखाउँदा रक्सिको गीलास भुईमा ठोक्छन्।

पहिलो हाफमा सलल कथा बगेपनि दोस्रो हाफ अलि लामो लाग्छ।

कथा टुङ्गिने बेलामा पत्तै नपाई कथाका मुख्य तीन पात्रले दावा र ट्याक्सी साउजीलाई आफ्नो पक्षमा ल्याइसक्छन्। ‘जात्रा’ ले वास्तविक कथाको चित्रण गरेको ट्याग लागेकोले जात्रै जात्रा हेर्ने दर्शकलाई यो अलि नाटकीय लाग्छ।

तर,

पछिल्लो समय नेपाली चलचित्रले दर्शकलाई हलमा तान्न सकेका छैनन्। २०७५ सालको अन्तमा प्रदर्शनमा आएको ‘ए मेरो हजूर – ३’ ले दर्शकले नेपाली चलचित्रप्रति मारिसकेको आशा पुन जागृत गरायो । सँगै प्रदर्शन भएको ‘यात्रा’ ले राम्रो प्रतिक्रिया पायो। धेरै अपेक्षा बोकेको हाँस्य कलाकारहरुको चलचित्र ‘दाल भात तरकारी’ ले व्यापार राम्रो गरेपनि समालोचना राम्रो पाएन। छक्का पञ्जा ३ पछि दर्शक नपाएकाे हल भर्ने काममा ‘जात्रैजात्रा’ चलचित्र सफल हुन सक्ने अन्दाज गर्न सकिन्छ।

नायक विपिन कार्कीले चलचित्र प्रमोशनमा हिड्दा नै चलचित्र केही कमर्शियल भएको बताएका छन्। तर दर्शक हलमा पुगेर निराश हुँदैनन्।

जेष्ठ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्